सुरक्षाकर्मीको यातनाले मानसिक सन्तुलन गुमाएका शिक्षकका कारुणिक कथा



नेपाली सामाजमा शिक्षकको छवि निको छैन । स्वयम् शिक्षकले लेखेका आत्मप्रशंसा र आत्मलापयुक्त केही कविताबाहेक मूलधारका अधिकांश नेपाली साहित्यिक कृतिमा शिक्षकलाई नकारात्मक चित्रण गरिएको पाइन्छ । शिक्षकलाई प्रमुख पात्रका रूपमा पहिलोपटक लिएको भनिएको संवत् २०१६ सालमा प्रकाशित हृदयचन्द्रसिंह प्रधानको नाटक ‘खैंराती मास्टर’मा शिक्षकलाई कामचोर, लोभी र पक्षपाती पात्र बनाइएको छ । नेपालको शिक्षा प्रणाली केन्द्रबिन्दुमा राखेर पहिलोपटक लेखिएको भनेर प्रशंसा पाएको तीर्थ गुरुङको उपन्यास ‘पाठशाला’मा शिक्षकलाई गोरु चुटेसरी विद्यार्थी चुट्ने निर्दयी, खैनी, चुरोटका अम्मली, गतिछाडा र मानवीय संवेदना नभएका पात्र बनाइएको छ । नेपाली लेखकले अंग्रेजीमा लेखेको तथा विश्वका प्रमुख अखबारमा समीक्षाले ठाउँ पाएको सम्राट उपाध्यायको उपन्यास ‘द गुरु अफ लभ’मा शिक्षकलाई आर्थिक रूपले तन्नम, सामाजिक रूपमा निम्छरो र नैतिक रूपमा व्यभिचारी पात्र बनाइएको छ ।

शिक्षकप्रतिको परम्परागत वक्रदृष्टिकोणलाई सोझ्याउने प्रयास गरेको छ– कविता राईको उपन्यास ‘गुरु’ले । स्कुले जीवनबाटै साहित्य लेखन थालेकी तथा मूलतः पत्रकारिताबाट व्यक्तित्व निर्माण सुरु गरेकी कविता राई नेपाल प्रज्ञाप्रतिष्ठानको राष्ट्रिय कविता प्रतियोगिता ०७८ मा प्रथम कवि हुन् । भोजपुरको लेखर्कमा कार्यरत शिक्षकबाट लिखित उपन्यास गुरु एउटा शिक्षकको इच्छाशक्ति, संघर्ष र अनिश्चित भविष्यको कथा हो ।

मूलकथा :

सानै छँदा बाबुआमा बितेपछि सहदेव राई टुहुरा हुन्छन् । एकमात्र दिदीले अभिभावकत्व प्रदान गर्छिन् । दिदीको वैवाहिक जीवन असफल भइसकेको थियो । अझै सम्भावना बाँकी रहेको आफ्नो भविष्यलाई बन्धकी राखेर भाइलाई हुर्काउँछिन् । पढाउँछिन् । सहदेव गाउँको धनीमानीकी छोरी चम्पासँग प्रेममा पर्छन् । सानैदेखि शिक्षक बन्ने रहर, सोंच र सपना बोकेको सहदेव प्रमाणपत्र तह उत्तीर्णपछि गाउँमै प्राथमिक तहको शिक्षक बन्छन् ।

पश्चिमबाट माओवादी जनयुद्धको आँधी सहदेवको गाउँमा पनि पुग्छ । जनयुद्धले युवामा साम्यवादको रुमानी सपना बाँड्छ । सहदेवकी दिदी घर छाडेर माओवादी आन्दोलनमा समाहित हुन्छिन् । सहदेव एक्लो हुन्छन् । पे्रमिका र अभिभावकविहीन सहदेव जागिर, घर र गाउँ छाड्छन् । धागो चुँडिएको चंगाजस्तै बतासिएर धरान पुग्छन् । धरानमा मजदुरको समूहमा मिसिन्छन् । बाहिरी समाजबाट गुमनाम हराउँछन् । फट्याङ्ग्राजस्तै भोक न भकारीको जिन्दगी बिताउँदै आएका मजदुरलाई कमिलाले जस्तो भकारी भर्न सिकाउँछन् । चल्तीको भाषामा वित्तीय साक्षरता शिक्षा दिन्छन् ।

एक दिन सहदेवको भेट लमजुङका मनोज खनियासँग हुन्छ । खनियाबाट लमजुङ दुराडाँडामा गणित शिक्षक खाँचो भएको थाहा पाउँछन् । उनीभित्रको शिक्षक भावना जागृत हुन्छ र खनियासँग लमजुङ लाग्छन् । मुलुक द्वन्द्वमय भएको बेला जे पनि हुन सक्थ्यो । देशमा मानिस भ्याकुराजस्तै मरिरहेका थिए, कोही राज्य पक्षबाट आतंककारीका नाममा, कोही विद्रोही पक्षबाट सुराकी र प्रतिक्रियावादीका नाममा । त्रास र अन्योलबीच सहदेव लमजुङ पुग्छन् । शिक्षक बन्छन् ।

एक दिन सहदेवले पढाइरहेका पाणिनी माध्यमिक विद्यालय दुराडाँडाका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई विद्रोहीले विद्यालयबाटै लिएर जान्छन् । केही पर रुखमा बाँधेर गोली ठोकेर मार्छन् । यो घटनाले त्यो गाउँ, विद्यालय, शिक्षक–कर्मचारी, विद्यार्थी सबैलाई विक्षिप्त बनाउँछ । गाउँ सरकारी सुरक्षाकर्मीको तारो बन्छ । हरेकलाई केरकार गरिन्छ । एउटा डायरीका कारण सुरक्षाकर्मीले सहदेवलाई पक्रेर ब्यारेक लैजान्छन् । आतंककारी करार गर्न यातनाको वर्षा हुन्छ । ऊनजिकै काल घुमिरहन्छ । आफूमात्रै ऊ यातना भोग्दैन, ऊजस्तै अरूमाथिको यातनालाई पनि नजिकबाट अनुभूत गर्छन् । महिला बन्दीमाथि गरिएको बलात्कारको चित्कार उसको कानमा बारम्बार गुञ्जिन्छ । माथिको आदेशबाट ऊ छुट्छ । विद्यालय फर्कन्छन् तर त्यसबेलासम्ममा उनले मानसिक सन्तुलन गुमाइसकेको हुन्छ ।

सहकर्मी शिक्षकले उनलाई उपचारका लागि चितवनको भरतपुरमा रहेको मानसिक अस्पताल लैजान्छन् । उपचारपछि आफू कार्यरत विद्यालय पुग्छन् । नियमित दैनिकीमा फर्किन्छन् तर लयबाट बरालिन्छन् । पुरानो लयमा फर्कन सक्दैनन् । विद्यालय, दुराडाँडा र हरेकले बन्दुक आतंकलाई सम्झाइरहन्छ । मन र मुटुलाई झस्काइरहन्छ । सहदेव दुराडाँडाबाट बाहिरिन्छन् । भरतपुरतिर बेसुर हिँडिरहेको बेला सहदेवको चिनजान फोक्सोको क्यान्सर उपचार गर्न भोजपुर कोटबाट आएका शिक्षक श्याम राईसँग भेट हुन्छ । उनकै अनुरोध र साथमा भोजपुरको सिक्तेल कोट पुग्छन् । परिचय फेरेर कृष्ण बन्छन् ।

ज्ञानोदय माविमा स्वयम्सेवक शिक्षक बन्छन् । गणित पढाउँछन् । डेरानजिकै जोभानसिंहकी छोरी चन्द्रमासँगको हिमचिम बढ्छ । जोभानसिंहको निधनपछि चन्द्रमा एक्लै हुन्छिन् । सहदेव पनि चन्द्रमालाई पत्र लेखेर बेपत्ता हुन्छन् ।

धेरै वर्षपछि एक साँझ आफूलाई सिक्किम विश्वविद्यालयको प्रोफेसर डा. श्यामल र लादिप्मा बताउने एक जोडी वृद्धा बाटो सोध्दैसोध्दै त्यही विद्यालय आइपुग्छन् । प्राडा श्यामल प्रवचन दिन्छन् । विद्यालयलाई रकम दिन्छन् र विद्यालयकै प्रांगणमा प्राण त्याग्छन् । को हुन् प्राडा श्यामल ?

यथार्थको आख्यानीकरण :

नेकपा (माओवादी) नेतृत्वमा ०५२ फाल्गुन १ देखि विस्तृत शान्ति साम्झौता २०६३ मंसिर ५ सम्ममा विशेषगरी सदरमुकामपरका विद्यालय विद्रोही र राज्य दुवैतर्फको आश्रयस्थल र युद्धस्थल बने । शिक्षक र विद्यालयलाई दुवै पक्षले तारो बनाए । रुकुमका वीरेन्द्रकुमार शाह, लमजुङका मुक्तिनाथ अधिकारी, खोटाङका हर्कबहादुर राई, भोजपुरका शालिग्राम अधिकारीहरू विद्रोहीतर्फबाट मारिए । राज्य पक्षबाट जाजरकोटको कालीबहादुर बस्नेत, खोटाङका हरिप्रसाद भट्टराईहरू राज्य पक्षबाट मारिए । जनयुद्धका सुरुमा गोरखाका पाँच कक्षाका विद्यार्थी दिलबहादुर रम्तेल मारिए । भोजपुर दिङ्लामा सबिना खवास मारिइन् । कति मारिए तथ्यांक बाझिन्छन् । इन्सेक नेपालको प्रतिवेदन २०६४ अनुसार त्यस अवधिमा राज्य पक्षबाट ५८ र माओवादीबाट ८६ गरी १४४ शिक्षक मारिए । प्राडा केदारभक्त माथेमाले ‘क्राइसिस इन एजुकेसन एन्ड फ्युचर च्यालेन्जेज फर नेपाल’ शीर्षक अनुसन्धानमा १७७ जना शिक्षक मारिएको बताएका छन् । माओवादी शिक्षक संगठन अखिल नेपाल शिक्षक संघका अध्यक्ष गुणराज लोहनीले राज्य पक्षबाट मात्रै ३५१ जना शिक्षक मारिएको बताएको २०६४ माघको शिक्षक मासिकमा लेखिएको छ । मारिएकामध्ये केही समाचार भए, केही त समाचार पनि भएनन् । ०५८ माघ ३ मा मारिएका पाणिनी मावि दुराडाँडा लमजुङका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीको भने चर्चा बारम्बार हुन्छ ।

माओवादी जनयुद्धको आडमा जनआन्दोलन भयो । शान्ति सम्झौता भयो । संविधानसभा चुनावमात्रै दुईपटक भयो । राजतन्त्र गयो, गणतन्त्र आयो । हिन्दु राष्ट्र धर्मनिरपेक्ष भयो । एकात्मक व्यावस्था संघात्मक भयो । समावेशीकरण आयो । शिक्षकमाथि आक्रमण रोकिएन । लमजुङका गोविन्द मचकोटी, सिरहाका सूर्यनारायण यादव र अरुणकुमार श्रेष्ठहरू मारिए । द्वन्द्वमा शिक्षकको कक्षा भरिएको उपन्यास गुरु बजारमा आउँदै गरेको बेला सरस्वती आधारभूत विद्यालय मिक्लाजुङ मोरङका प्रधानाध्याक राजेन्द्रकुमार श्रेष्ठ मारिए ।

गुरुले मुलुकको तनावपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको अर्थसामाजिक परिवेशको चित्रण बिल्कुल आख्यानका रूपमा मात्रै होइन, ०४६ पछिदेखि ०७२ को भूकम्प र त्यसपछिको समयको गतिमा हेलिँदै गएको सामाजिक जनजीवनका साथै शिक्षण शिकाइमा आएका नवीनतम शैली र अवधारणा चित्रण गरेको छ ।

गुरुमा एक उपकथा मुकेश सरको । सप्तरी घर भएका मुकेश सर शिक्षक सेवा आयोगबाट छानिएर स्थायी नियुक्त भई सिक्तेल पुग्छन् । आफू पहाडमा, परिवार तराईमा । पारिवारिक कारणले सरुवा हुन खोज्छन् । परिवार वा जागिरमध्ये एक रोज्नैपर्ने अवस्था आइसक्दा पनि नेपालो झन्झटिलो शिक्षक सरुवा नीति, शिक्षा प्रशासनको सामन्तवादी मनोवृत्ति र सरुवामा दलाल हाबी हुनाले उनी घरपायक जान सक्दैनन् । मानसिक सन्तुलन गुमाउँछन् । यथार्थमा अन्नतः आत्महत्या गर्न बाध्य हुन्छन् । जतिखेर यो उपन्यास बजारतिर जाँदै थियो, महेन्द्रोदय मावि पाल्पाले जरायोटार भोजपुरका शिक्षक रञ्जनकुमार यादव सरुवा कागज मिलाउन अरुण गाउँपालिकाको कार्यालय प्याउली पुगेको बेला त्यहींका कर्मचारीबाट कुटिन्छन् । वास्तविक घटना र वास्तविक पात्र जस्तै भोजपुरबाट राजनीतिमा उदाएका ज्ञानेन्द्रवहादुर कार्की, राजेन्द्र राईहरूको उल्लेखले यथार्थवादलाई अँगालेको छ ।

प्रतिक्रिया दिनुहोस्