फरिया, चोली लगाएर नाचेकी बहिनीको झझल्को


मिस ट्यालेन्ट शोका प्रतिस्पर्धी । तस्बिर : कान्तिपुर साप्ताहिक

मैले एसएलसी राम्रै नम्बर ल्याएर पास गरें । एसएलसीपश्चात् उच्च शिक्षाका लागि धरानको हात्तीसार साइन्स क्याम्पस र महेन्द्र बहुमुखी क्याम्पसमा भर्नासम्बन्धी दर्ता फाराम भर्ने काम भयो ।

नाम दुवैमा निस्के पनि साथीहरूको लहैलहैमा लागेर महेन्द्र बहुमुखी क्याम्पसमै व्यवस्थापन विषयमा भर्ना भएँ । नयाँ परिवेश, नयाँ साथीभाइ, नयाँ पाठ्यक्रम सुरु–सुरुमा मलाई निकै सकस परेको थियो । दस कक्षाको पाठ्यपुस्तकको दाँजोमा इन्टरमेडिएटको पाठ्यपुस्तकमा आकाश–पाताल नै फरक थियो । दस कक्षामा पढेको कुनै पनि विषय काम लागेन । मात्रै क, ख, ए, बी, सी डी र १, २, ३ बाहेक कुनै विषय मेल खाएन । त्यसैले, झन्डै–झन्डै कलेज नै छाडेको थिएँ ।

कम बोल्ने । लजालु स्वभाव । त्यसैले मेरा साथी थोरै भए । ‘क्लास फ्री’ हुनेबित्तिकै पुस्तकालय गइन्थ्यो । एक दिन पुस्तकालयबाट निस्कनेक्रममा ढोकैमा ‘क्लासमेट’ केटीसँग ड्याम्मै छाती–छाती जुध्यो । म लाजले भुतुक्कै भएँ । र, उनी पनि लाजले भुतुक्कै भई । कहिल्यै नबोल्ने उनी ‘सरी’ भनेर सम्हालिँदै हाँस्तै गई । त्यो घटना मेरालागि अत्यन्तै नयाँ । उनीसँगको पहिलो स्पर्श, जानुअघिको मन्दमुस्कान । छापै छाडेर गयो । कहिलेकाहीँ त फेरि पनि त्यसरी नै ठोक्किनु नि जस्तो लाग्ने । फटाहा मोरो ।

दसैं–तिहारको छुट्टी लाग्यो । बर्खामासको बेला माथिल्लो बाटो (धिन्ताङको बाटो) जाने निधो गरें । एकजना पात्लेधाराको साथीसँगै बिहानै चतरा जाने थोत्रे जिप चढ्यौं । सर्दुखोला धमिलो बगिरहेको थियो । सर्दुखोलैखोला हाँसजस्तै ढिङ हल्लाउँदै बल्लतल्ल जिप चतरा पुग्यो । भोलिपल्ट दिउँसो १२ बजे साथीको घर पात्लेधारा पुग्यौं । जाँड खाइयो । त्यस दिन म त्यहीँ बसें । रातभरि परेवा घुरेर सुत्नु सके त के । कत्रो–कत्रो भाले थियो तर तरकारी फर्सीको मुन्टाबाहेक अरू खाइएन । आफ्नो घरमा चाहिँ बाहिरफेरोदेखि घर जाँदा भाले त ढालेकै हुने । सायद मैले साथीको घरमा त्यही अपेक्षा राखें हुँला ।

भोलिपल्ट साथी पनि मसँगै घोडेटार मावला जाने भनेर हिँड्यो । जाँदाजाँदै लु हिँड मेरो मावला । भोलि बिहानै म माथि फलामढुंगा बजारमा निकालिदिन्छु भनेर भन्यो । लहैलहैमा लागेर म पनि साथीको मावलातिर लागें । ३ बजेतिर मामाघर पुग्यौं । साथीको मावला घरदेखि घोडेटार बजार छड्के तर नजिक देखिन्थ्यो । खाजा खाएर बजार लाग्यौं । त्यो जमानामा क्यारमबोर्ड खुबै चलेको खेल । बजार, चोक जहाँ पनि क्यारमबोर्ड राखिएको हुन्थ्यो । साथीसँग पनि एक/दुई हात खेलेर घर फक्र्याैं ।

बेलुकीको खाना खायौं । साथीको मामाले भन्नुभयो, ‘तिम्रो नयाँ साथीलाई हाम्रो घोडेटारको नाचगान हेर्नु लैजाऊ है ।’ दसैं–तिहारका लागि नाचगानको रिहर्सल चलिरहेको थियो । हामी पनि दसैं–तिहारमा खुबै रमाइलो गर्ने हुनाले मेरा लागि खुसीको कुरा भइगयो । मामाको सानो छोरा । म र साथी नाचगान हेर्न मास्तिर उक्ल्यौं । हामी पुग्दा नाचगान चल्दै थियो । एकजना बहिनीले साथीलाई नमस्कार गरी । साथीले मलाई पनि परिचय गरायो । त्यही घोडेटार स्कुलमा अध्ययनरत कक्षा १० की बहिनी फरासिली, मिजासिली स्वभावकी, केश अगाडि काटेकी र बाँकी पछाडिको केश माथि लगेर चुल्ठो पारेकी बिछट्टै सुहाएकी साथीको मावलीखलककै बहिनी रहेछ ।

प्रगतिशील गीतमै नाचगान भइरहेको थियो ।

घरमा आमा रुँदै होली
संसारका सारा न्यायको प्यारा
आकाशमा उड्ने चरी तिमी धेरै उड

यस्तै गीतहरू बजिरहेको थियो । बहुदल आएको थुप्रै वर्ष बितिसकेको त्यो समय जनवादी गीत निष्फिक्री बजाइन्थ्यो । नाचगान सकिएपछि हामी फक्र्यौं । फर्कंदा त्यही बहिनीको घरको बाटो पर्यो । जाँड खाएर जाने अनुरोधपछि हामी बहिनीको घर पस्यौं । जाँड खाँदाखाँदै साथीले भने, ‘ओई ! तँ भित्तेपत्रिकामा त खुब लेख्छस् । बहिनीलाई पनि एउटा गीत लेखेर छोडिजा ।’

मैले कहाँ त्यस्तो गीत लेख्छु र ? उल्टै अन्जान बनें म ।

बहिनीले जिद्दी गरिन्, ‘मैले पहिलो दुई लाइनमात्रै सुनाएँ । तर, बहिनीले कापी लिएर लेख्नै लगाइन् । भोलि लेख्ने सर्तमा कुराकानी अन्त्य गरें ।

नाचगानको माहोलमा चार दिन बितिसकेको थियो । चार दिनपश्चात् साथी र बहिनीले फलामढुंगा बजारसम्म पुर्याउन निस्कने भए । बिहानको १० बजे बजार निस्क्यौं । खाजा खाएर साथी पात्लेधारा फर्कने र्भ । बहिनी उनको घर ।

तिहारपछि क्याम्पसमा भेट्ने वाचा गरेर साथीसँग छुट्यौं । फेरि पनि मौका मिले आउने वाचा गरेर बहिनीसँग गह्रौं मन बनाएर बिदा भएँ ।

केही पर पुगेपछि बहिनीको आवाज सुनें ।

दाइ, खोई त गीत लेख्दिनुभएको ?

म झसंग भएँ । ए हो त नि भोलि लेखिदिन्छु भनेको यत्रो दिन बितेको पत्तै भएन । लु–लु म लेखिदिन्छु वरैबाट कराएँ ।

डायरीको एउटा पन्ना लेखेर गीत लेखिदिएँ ।

चेली : माइती हजुर, फर्क गाउँघर
माइती : चेली हजुर, आँसु नझार

यो गीत द्यौसी–भैलो नाचगानका लागि अघिल्लो वर्ष नै रामकुमारी दिदी, महेन्द्र कान्छा, सानुकी दिदी र स्वर्गीय बहिनी इन्द्रकलाको सहकार्यमा बनाएका थियौं ।

आहा ! कति राम्रो गीत । तर, अब कसरी गाउने होला हगि ? भन्दै बहिनीले कौतूहलसहित प्रश्न गरिन् ।

मलाई पनि लय थाहा छैन भन्ने उत्तर दिएँ ।

दाइ, गीत छाडिदिनुस् । तर, तपाई जानुहुँदा साह्रै नरमाइलो लागिरहेको छ भन्दै निन्याउरो अनुहार पारिन् । हुन त मलाई नि केही महसुसचाहिँ भएकै थियो । तर, मैले केही भन्न सकिनँ ।

पछि फर्कदाँ आउँछु नि है ।

ढाँट्नुभएको होला ।

होइन आउँछु ।

सिन्द्राङको सय वृक्षको माथिबाट तेर्सैतेर्सै यस्तै गफ गर्दै हिँडिरह्यौं । निकै पर पुगेपछि बहिनीले राँके भन्ने ठाउँसम्म पुर्याइदिन्छु भनेर जिद्दी गरिन् । तर, भरै फर्कंदा टाढा हुन्छ भनेर बीचबाटै फर्काएँ । फर्कंदा आँसु झारिन् । सायद, भावनाको उत्कण्ठा भुसको आगो सल्केजस्तै भित्रभित्रै सल्केको हुनुपर्छ । म पनि भन्न नसकेका केही अवरोध वाक्यले गलेर भित्रभित्रै गलिसकेको थिएँ ।

चिट्ठीपत्र आदान–प्रदान गर्ने बाचासहित हामी छुट्यौं ।

त्यो दिन गह्रौं पाइला घिसार्दै पसल भन्ज्याङसम्म मात्रै पुगें । त्यसको तेस्रो दिन घर पुगें । दसैं–तिहारको रमझमले गाउँघर छ्याप्पै छोप्दै ल्याइरहेको थियो । घरहरू कमेरोले पोतेर सेताम्य देखिन्थ्यो । बाटोघाटो सफा गरेर चिटिक्क पारिएको थियो । घर घर नै हो, कति आनन्द ।

दसैं सकियो । तिहारले गाउँघरलाई छोप्दै ल्यायो । त्यो वर्ष पनि तिहारमा भव्य नाचगान र नाटक देखाउने हाम्रो सल्लाह थियो । सल्लाहबमोजिम नाचगान गर्यौं । कार्यक्रमभरि ती बहिनीले फरिया र चोली लगाएर नाचेको दृश्य मेरो आँखामा झल्झली आइरह्यो ।

साकेला गाउँपालिका खोटाङ ।

प्रतिक्रिया दिनुहोस्