बाघको सिकार भएकी बच्ची जिलेमदेवी



चोमोलुङ्माको फेदमा अवस्थित किराती बस्ती । अर्थात् सोलुखुम्बुको देउसामाथि घना जंगलभित्रको पोखरी)मा मालिङ्गोको टुसा कल्कलाउँदो हुन्थ्यो । गाउँका स–साना केटाकेटी मालिङ्को टुसा भाँच्दै संकलन गर्दै गर्दा एउटी बच्ची कहालिँदै चिच्याएको आवाज सुनियो ।
त्यस्तो आवाज सुनेपछि समूहमा टुसा खोज्न पुगेका साथीहरू एकैठाउँ जम्मा भए । त्यसपछि आवाज आएको ठाउँतिर पुगे । आवाज आएको ठाउँमा पुग्दा देखेको दृश्यले उनीहरू भयभीत भए । सँगै टुसा खोज्न पुगेका उनीहरूले आफ्ना साथीलाई बाघले घाँटीमा समातेर घिसार्दै गरेको देखेपछि डरले हस्याङफस्याङ गर्दै गाउँतिर झरे । उनीहरूले घर पुगेपछि घटना विवरण सुनाए ।

घटना विवरण सुन्नसाथ गाउँले भेला भए । धनुकाँड, गुलेली बोकेर घटनास्थलतर्फ लागे । र, खोज्दै जाँदा पोखरीनजिकैको एउटा ओडारमा ती बच्चीले लगाएको जिलेम (अल्लोबाट बनेको कपडा) र हाडखोरमात्र भेटे । गाउँलेले बच्चीका हाडखोर संकलन गरेर जंगलमै खाल्डो खनी दाहसंस्कार गरेर घर फर्के । किराती संस्कारअनुसार यस्तो मृत्युलाई ननिको/नराम्रो मृत्युवरण मानिन्छ ।

दाहसंस्कार गरेर गाउँले घर फर्केपछि मृतकको घरमा नाक्छोङ/नछुङ (धामी) बोलाएर चिन्ता राखे । (चिन्ता बस्दा नाक्छोङ/नछुङको शरीरमा मृतकको आत्मा चढेर बोल्छ । अथवा नाक्छोङ/नछुङले चिन्ता बस्दा मृतकको आत्मासँग कुरा गर्न सक्छ भन्ने विश्वास किरात समुदायमा रहेको छ ।) बाघको सिकार बनेकी बच्चीको आत्माले पनि त्यसैगरी बोल्यो, ‘मेरो असामयिक निधनप्रति कसैले चिन्ता नगर्नू । म जन्मँदा नै यही समय, यही स्थानमा यसरी नै मर्ने लेखिएको थियो । म मरे पनि तपाईंहरूसँगै हुनेछु । म त्यही पोखरीनजिकैको ओडारमा देवी भई निस्कनेछु । त्यही पोखरीआसपास रहनेछु ।’ उनको आवाजसँगै नाक्छोङ/नछुङले देवीस्थान देखाउँदै भने, ‘यही हो नानीले वास गरेको ठाउँ ?’ उता हो भन्ने उत्तर आयो ।

त्यसपछि देवीको नाम जिलेमदेवी राखियो । ती बच्चीको शरीरमा भएको अल्लोको कपडामात्र बाँकी रहेकाले ‘जिलेम’ नामकरण भएकोमा अपभ्रंश भएर हाल जालिमदेवी भएको हो । केही समय अगाडिसम्म त्यो पोखरीमा खसेको पात चराले टिपेर फाल्थ्यो । चराका रूपमा त्यही बच्ची (जिलेमदेवी)ले पोखरी सफाइ गर्ने गरेको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्