‘मलिलो माटो’ विचार उत्तेजक उपन्यास



उपन्यासमा मञ्जु द्वेष र विद्रोहको राप नदेखाई सहज बाँच्ने मातृत्वको अणु समेटेर स्पर्श लिपिमा बुनेका शब्दले जीवनको चित्र कोर्छिन्, मलिलो माटो भएर ।

प्रकृति, नारी र यौन अस्तित्वका यथार्थ हुन् । यौन देहसुख हो कि मनसुख ? यौनतृष्णाले देह ढाल्छ कि मन पगाल्छ । उपन्यासकारको मस्तिष्क यिनै प्रश्नको उत्तर खोज्ने ध्याउन्नमा विचरित छ ।

जीवनको कस्तो भोग सुख हो ? जीवन केन्द्रमा के छ र परिधिमा नि ? उनी घोत्लिन्छिन् । टोलाउँछिन् । ढुकढुकीमा वेग बढ्दा निःशब्द हुन्छिन् । प्रश्नका थाकले पिरोल्छ । निचोरेर फ्याँकेको मन बोकेर बाँच्छिन् ।

घात, आघात र प्रतिघातको राप नदेखाई सहज बाँच्ने मातृत्वको अणु समेटेर स्पर्श लिपिमा बुनेका शब्दले जीवनको चित्र कोर्छिन् उनी । सभ्यताको जरैदेखि आमा, नारीको व्यथा उस्तै–उस्तै छ । हुँदाको व्यथा, नहुँदाको व्यथा अनि सन्तान स्पर्शको नशा कुनै तत्वले भेदन नसक्ने आमा, नारी ।

‘मलिलो माटो’ अनिच्छित आमा हुनुबाट उत्पन्न घात, आघात र प्रतिघातको सजीव अभिव्यक्ति हो । आमाको अबोध स्पर्धामा पुर्याउने मलिलो माटो एउटी नारीको आँसु र आशामात्र होइन, यो त, हाम्रो सभ्यताले स्थापित गरेको मानव मनोविज्ञान चियाउने आँखीझ्याल हो ।

आमा प्रकृतिको नियमले बन्छिन्, विवाहको साङ्लोले होइन । भ्रुणको अस्तित्वले आमाको शरीर बुझ्छ । बिजको योग कसरी भयो ? इच्छाले वा अनिच्छाले ? विवाहअघि कि पछि ? यो प्रश्न हुन सक्छ । तर, प्रकृति हुन सक्दैन ।

आमा मानवीय संवेदना हुन् । उनी महिलाको मात्र प्रतिनिधित्व गर्दिनन् । उनीको सृष्टिमा लिंगको कुनै भेद हुँदैन । माटोमा अवतरित सबै आमाका रक्तकणकै योग हुन् । उपन्यासमा मञ्जु द्वेष र विद्रोहको राप नदेखाई सहज बाँच्ने मातृत्वको अणु समेटेर स्पर्श लिपिमा बुनेका शब्दले जीवनको चित्र कोर्छिन् ।

उपन्यासको केन्द्र मञ्जु आवाजविहीन छिन् । तर, उनको मस्तिष्कमा आउने तरंग विदुषककै मथिंगल खल्बल्याउने स्तरका छन् । मसिनेसँगको संयोगको योगलाई उनी गज्जबको मनोदशा सरल शब्दमा भन्छिन् । ‘….मलिलो खेतमा कोदालो चलाई सिकारीले पहिलोपटक सिकार पायो र खायो । त्यो सिकार मलाई पनि मन पर्ने आइसक्रिमको टुप्पोमा रहेको चेरीजस्तो थियो । खाउन्जेल गुलियो । तर, खाइसकेपछि भने फोक्सो नै च्यातिनेगरी खोकी लगाउने । यो अकस्मात् भयो । नसोचेको आइलाग्यो । त्यो अनौठो संयोग थियो ।’

मञ्जु पहिलोपटक आमा बनेकी भारी बोकेर घर फर्केकी छन् । यहींबाट असामान्य परिणतिको बाटोतर्फ मञ्जुका जीवनका पदचाप बढ्न थाल्छन् । मञ्जु परालको खुट्टामा अड्याइएको पुल तरेर नयाँ जीवनको लक्ष्य भेट्न खोज्छिन् । तर, पुल भत्केर उनी जंघारमा खस्छिन् । अब उनी आफ्नो वशमा छैनन् । नियतिले उनलाई लखेट्छ । भकुर्छ । भिजाउँछ । निचोर्छ । सुकाउँछ ।

अविवाहित नारीको सन्तान अवैध हुन्छ । सामाजिक नियम छ । तर, सामाजिक नियमले बच्चा जन्मने प्राकृतिक नियमलाई छेक्न सकेन । मञ्जु आमा बनिन् । दिदीलाई आमा र भिनाजुलाई बा बनाउनेगरी । आफ्नो सन्तान आफ्नो नभन्ने सर्तमा ।

मञ्जु बाँच्नका लागि सम्झौता गर्न थालिन् । अँगालोसँग । मनको भोकसँग । पेटको ज्वालासँग । बस नियतिले जता–जता पुर्याउँछ त्यतै हेलिन थालिन् । लेखकले सहज र सरल भाषामा महिला मनोविज्ञान र सामाजिक यथार्थ खोतलेकी छन् ।

त्यही सरल, सजीव जीवनचित्र हो– उपन्यास मलिलो माटो । हरेक नारीको मनमा बस्ने उपन्यास– मलिलो माटो । आवाजविहीनको आवाजलाई प्रतिनिधित्व गर्दै अगाडि बढ्ने साहस । पढेर उत्साह बढ्ने संग्रहयोग्य उपन्यास– मलिलो माटो । सबै नारीले पढ्नैपर्ने । पढेर थकथकी लाग्दैन । हार्ड कभरको ४५० र सफ्ट कभर ३०० रुपैयाँमा किनेर पढ्दा पैसार खेर जाँदैन । हामी सबैले पढ्नैपर्ने उपन्यास– मलिलो माटो ।

प्रतिक्रिया दिनुहोस्