जाजरकोट । शे फोक्सुन्डो राष्ट्रिय निकुजको उपल्लो डोल्पामा रहेका चार सुरक्षा पोस्ट कर्मचारीविहीन भएपछि ड्रोनबाट निगरानी गरिएको छ ।
आठ सुरक्षा पोस्ट रहेको निकुञ्जमा चार पोस्ट कर्मचारीविहीन भएका हुन् । शे गुम्बा, नाम्दो, सालदाङ र मुगुमा रहेको किम्री पोस्टमा कर्मचारी नहुँदा नियमित वन्यजन्तु संरक्षणमा समस्या भएको छ ।
सदरमुकाम नजिकै रहेका तोइजम, सुम्दुवा र मुख्य कार्यालय सुलिगाडमा मात्र कर्मचारी छन् । एक सय एक कर्मचारीको दरबन्दी रहेको निकुञ्जमा अधिकृत तीन, रेन्जर छ, नायव सुब्बा एक, लेखापाल एक, खरिदार दुई, सिनियर गेम स्काउट १३, गेम स्काउट ३९, कार्यालय सहयोगी एक गरी ६६ जना कार्यरत छन् ।
लालबहादुर भण्डारी अहिले निकुञ्ज प्रमुख भएका छन् । तर, अन्य दुई अधिकृत खाली छ । शे गुम्बा, नाम्दो, सालदाङ र मुगुमा रहेको किम्रीमा कर्मचारी नहुँदा काम गर्न मुस्किल भएको छ । हिमपातका कारण देखाउँदै उपल्लो डोल्पामा सुरक्षा गस्ती नै बन्द गरिएको छ । हिमपातले बाटोमा पहिरो गएको भन्दै नाउर, हिउँचितुवालगायत वन्यजन्तुको निगरानीसमेत प्रभावकारी हुन सकेको छैन ।
कर्मचारी बस्न नसक्ने र भारी हिमपात हुने ठाउँमा अघिल्लो वर्ष तत्कालीन कार्यालय प्रमुख सरोजमणि पौडेलले जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकबाट ड्रोन क्यामेराका साथै अन्य प्रविधिमार्फत निगरानी गर्ने निर्णय गराएका थिए । तर, त्यसपछि दुईपटक कार्यालय प्रमुख फेरिसके पनि निर्णय भएसँगै सम्भाव्यता अध्ययन गर्ने भनिएको काम अहिलेसम्म प्राथमिकतामा पर्न सकेको छैन ।
सोमबारदेखि नै हिउँचितुवाको आहारा हुने प्रजातिको गणना सुरु गरिएको डब्लुडब्लुएफ नेपालका ‘फिल्ड अफिसर’ चन्द्रजंग हमालले जानकारी दिए । हमालका अनुसार झारल, कस्तूूरी, मृग, फेमुसा, चिरु र तिब्बती गधासमेत गणना हुने भएको छ । डब्लुडब्लुएफको प्राविधिक सहयोगमा अध्ययन, अनुसन्धान, हिउँचितुवाको बासस्थानलगायत विषयमा समेत अध्ययन भइरहेको उनको भनाइ थियो ।
निकुञ्जमा डाँफे, मुनाल, चिरलगायत २०० प्रजातिका पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले निकुुञ्जलाई जैविक विविधतायुक्त बनाएको छ । आहार र विहारका दृष्टिले यो निकुञ्ज हिउँचितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान रहेको अनुसन्धानबाट खुलेको अधिकृत हमालले बताए ।
निकुञ्जभित्र दुई हिउँचितुवामा “स्याटेलाइट जीपीएस कलर” जडान गरेर तिनको निगरानी गरिएको छ । २०७८ जेठ ५ गते ३,९२५ मिटर उचाइमा रहेको साल्दाङ ब्लकको राप्कामा ३७ किलोको सातवर्षे र ११ गते ३,७१९ मिटर उचाइमा रहेको साल्दाङकै धोरामा ३८ किलोको छवर्षे हिउँचितुवाको घाँटीमा स्याटेलाइट कलर जोडिएको थियो । ती दुवै भाले हुन् ।
कलर जडान गरिएको स्थान चीनको सिमानाबाट करिब १२ किलोमिटरको दूरीमा पर्छ । यी हिउँ चितुवा चीनतर्फ विचरण गर्न जान्छन् कि जाँदैनन् भन्ने जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । पहिलो हिउँचितुवाको नाम “घाङ्ग्री धापी हिउल” र दोस्रोको “लाङ्गेन” राखिएको थियो ।
गत वर्ष स्याटेलाइट कलर जोडिएका दुई हिउँचितुवा (सामलिङ र जेबोरोङ)को मृत्युपछि दोस्रोपटक फेरि स्याटेलाइट कलर जडान गरिएको थियो । २०७५ को भदौ १५ मा निकुञ्जका चारवटा हिउँचितुवामा स्याटेलाइट जडान गर्ने वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार थप दुईवटा यसपटक स्याटेलाइट कलर राखिएको हो ।
राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को प्राविधिक र डब्लुुडब्लुुएफको आर्थिक सहयोगमा स्याटेलाइट जडान गरिएको हो । स्याटेलाइट कलर जडानपछि हिउँचितुवाको आनीबानी, व्यवहार, विचरणको व्यवस्थापन, अन्तरदेशीय सहकार्यलगायत हिउँचितुवाको र यसको आहार प्रजाति संरक्षण पहिचान गरी नीति बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जडान गरिएको स्याटेलाइट कलरले प्रत्येक चार घण्टामा हिउँचितुवाको अवस्थिति (जीपीएस लोकेसन) प्राप्त हुने गरेको छ । यो कलरले १८ महिनासम्म तथ्यांक दिन्छ । निकुञ्जमा हाल हिउँचितुवा १२० देखि १३० वटा सम्मको रहेको एक अध्ययनले देखाएको छ । डब्लुडब्लुएफ र निकुञ्जको सहकार्यमा रेडियो कलरिङ (जीपीएस) मार्फत हिउँचितुवाको सङ्ख्या पत्ता लागेको हो ।