टिकटक चलाउन प्रहरीलाई प्रतिबन्ध


ओखलढुंगा । जिल्लाका प्रहरीले टिकटकलगायत मनोरञ्जनात्मक एप चलाउन नपाउने भएका छन् ।

सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जाल सदुपयोग गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख काफ्लेले प्रहरी कर्मचारी ड्युुटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने बताए । अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोस्ट गर्नुपर्ने उनले सुुझाए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ जना प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । ‘प्रहरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैनन् । ड्युुटीको समयमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन् स्वीकार्य हुँदैन, उनले भने, ‘प्रहरी कर्मचारीले फेसबुक, ट्वीटर, टिकटकलगायत आफ्नोभन्दा सामाजिक हित र सकारात्मक सन्देश दिनेखालका सामग्री पोस्ट गर्नुपर्ने सचेत गराएका छौं ।’

देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोसाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिताविपरीत रहेकाले त्यसो नगर्न सचेत गराएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्