घरमै बसीबसी ३ लाख रुपैयाँ कमाउने काइदा



दुर्छिम (खोटाङ) । बिरामी परेपछि तंग्रिन अनार खाने नेपालीको मान्यता पुरानै हो । अपवादबाहेक यो मान्यता हिजोआज पनि कायम छ । जब बिरामी परिन्छ, तब अनार खोजी गरिन्छ ।

हलेसी क्षेत्र अनार खेतीका लागि उपयुक्त मानिन्छ । अनार खेती पहिलोपटक इरानबाट थालिएको हो । संसारभरि ६० प्रजातिका अनार खेती गरिए पनि हलेसी क्षेत्रमा मृदुला र गणेश प्रजातिका अनार खेतीयोग्य मानिन्छ । अनार खेती थालेकोे तीन वर्षपछि उत्पादन सुरु हुन्छ ।

अनारको वैज्ञानिक नाम प्युनिका ग्रेनेटम हो । यसलाई संस्कृत भाषामा दाडिम र खस नेपाली भाषामा अनार भनिन्छ । एकपटक लगाएपछि २५ वर्षसम्म निरन्तर आम्दानी दिने अनार खानेले क्यान्सर, फोक्सोको क्यान्सर, प्रोस्टेट क्यान्सरबाट बच्नुका साथै मुटुरोगीलाई पनि त्यत्तिकै उपयोगी मानिन्छ । अनार नियमित खानाले बूढोपन घटाउने र अनुहारको चमक बढाउने गर्छ ।

स्कटल्यान्डको एडिनवर्गमा रहेको क्वीन माग्रेट विश्वविद्यालयद्वारा गरिएको एक अनुसन्धान प्रतिवेदनअनुसार चार हप्तासम्म दैनिक एक ग्लास अनारको रस खानेको रक्तचाप कम भएको थियो ।

अनार खेतीले सम्बन्धित किसानको आर्थिक अवस्था उकास्छ । ‘एक घर, एक सय बोट अनार’ रोप्ने हो भने सम्बन्धित किसान आर्थिक रूपमा समृद्ध बन्नेछन् । एक बोट अनारमा कम्तीमा ४० किलोग्राम फलेमा एक सय बोट अनार लगाउने किसानले ४ हजार किलोग्राम अनार फलाउँछ । ४ हजार किलो अनार कम्तीमा ७५ रुपैयाँ केजीमा मात्रै बेचेमा उसले सालिन्दा घरमै बसीबसी ३ लाख रुपैयाँ हात पार्छ । त्यसो हो भने मुस्किलले मासिक १० हजार रुपैयाँ कमाउन खाडी मुलुक किन जानुपर्यो ?

प्रतिक्रिया दिनुहोस्