बन्ने भो दूधकोसी जलविद्युत् आयोजना


खोटाङ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।

खोटाङको रावाबेंसी गाउँपालिका–३ लामिडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोसीस्थित रभुँवाघाटमा ६३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम अघि बढ्दै छ । ओखलढुंगाको जग्गा प्राप्ति (अधिग्रहण)का लागि गत फागुन २३ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो ।

जलविद्युत् आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक २० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने अनुमान गरिएको आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेंले जानकारी दिए । खोटाङको रावाबेंसी गाउँपालिकाका पाँच हजार ३०४ कित्ता, ऐंसेलुखर्क गाउँपालिकाका ५२२ कित्ता र ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाका दुई हजार ४०९ कित्ता जग्गा अधिग्रहणको तयारी छ ।

सोलुखुम्बुको जग्गा अधिग्रहणका लागि केही समयपछि जग्गा प्राप्तिसम्बन्धी सूचना आह्वान गरिनेछ । सम्बन्धित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने काममा रोक लगाइएको छ । खोटाङतर्फको जग्गा गत असार २३ गतेदेखि नै रोक्का गरिएको प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले जानकारी दिए । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा निर्माण गरिने विद्युत् गृह, क्याम्प तथा लामिडाँडामा निर्माण गरिने बाँध र क्याम्पका लागि आवश्यक जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित गरिएको छ ।

धितुङ र लामिडाँडामा थप दुई हजार रोपनी जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ । खोटाङमा मुआब्जा वितरण गर्न जग्गाको मूल्यांकन गर्ने काम अन्तिम चरणमा पुगेको मुआब्जा निर्धारण उपसमितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिए ।

लामीडाँडाको रभुँवाघाटस्थित कोसीकिनारमा रहेको बजारमा २०० मिटर अग्लो बाँध निर्माण गरी बनाइने जलाशययुक्त जलविद्युत् आयोजनाबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्यसाथ आयोजना अघि बढिरहेको छ । रभुँवाघाटमा निर्माण गरिने बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोसीकिनारमा १०, खोटाङतर्फको रावाखोलामा आठ र ओखलढुंगाको ठोट्नेखोलाकिनारमा चार किलोमिटर क्षेत्रफल डुबान हुने बताइएको छ ।

दूधकोसी आयोजनाबाट तीन जिल्लाका एक हजार १५० परिवार प्रभावित हुनेछन् । खोटाङका ६५७, ओखलढुंगाका ४७९ र सोलुखुम्बुका १४ परिवार आयोजनाबाट प्रभावित हुने भएका छन् । जापान सरकारको सहयोगमा कोसी बेसिन अध्ययन गुरुयोजनाअन्तर्गत ०४२ मा पहिचान भएको दूधकोसी आयोजनाको काम अघि बढाउन सरकारलाई सिफारिस गरिएको विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना बनेपछि विद्युतीय सेवासँगै दूधकोसी जलाशयमा डुंगा सयर, माछापालन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजना सञ्चालन हुँदा रभुँवामा बन्ने जलाशयमा हलेसी आउने पर्यटकलाई डुंगा सयर गराउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्