राति फर्कन अबेर भए विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको होटलमा वास



सडकमा गाडी गुडेका छैनन् । तर, बाटो काट्ने ठाउँमा रातो बत्ती बलिरहेको छ । कतै जान हतार छ । र पनि मानिस हरियो बत्ती बल्ने प्रतीक्षामा हुन्छन् । पैदल यात्रुका लागि हरियो बत्ती धेरै बेर बल्दैन, अलिक छिटो छिटो, भनौं एकप्रकारले दौडेरमात्रै सडक पार गर्नुपर्छ । त्यसैले हरियो बत्ती बलेपछि दौडिँदै मानिस सडक पार गर्छन् । यो देख्दा मलाई जेब्रा क्रसिङ हुँदाहुँदै नजिकैबाट डोरी नाघ्दै सडक पार गर्ने केही उच्चपदस्थ नेताहरूको फोटो सामाजिक सञ्जालका भाइरल भएको याद आउँछ ।

रेल्वे स्टेसनमा भीड छ, कतै जान हतार छ । स्टेसनभित्र छिर्ने सानो बार सजिलै नाघ्न सकिन्छ । कार्ड छुवाएर वा वीच्याटबाट पैसा तिरेपछि बारको ढोका खुल्छ । ढोका खुलेका बेला एकैसाथ चार/पाँचजना छिर्न पनि सकिन्छ । अलिकति खराब नियत राख्ने हो भने एउटाको कार्डमा चार/पाँचजना छिर्न सक्छन् । बारै नाघेर पनि सजिलै जान सक्छन् । अँह यात्रु त्यस्तो गलत व्यवहार गर्दैनन् ।

सडकमा मेट्रो बस गुडिरहन्छन् । सामान्यतः एकतले बसमा एक र एकतले मेट्रो बसमा दुई युआन तिरेपछि त्यो बसको रुटभरिलाई पुग्छ । बसमा एउटा ड्राइभर हुन्छ । खलासी, कन्डक्टर कोही हुँदैनन् । बस चढ्ने ढोकाछेउमा नगद तिर्नेका लागि सानो टोकरी र कार्डबाट तिर्नेका लागि कार्ड छुवाउने ठाउँ हुन्छ । ड्राइभर आफ्नो सुरमा हुन्छन् । यात्रु भित्र पस्दै पैसा वा कार्डमार्फत बसभाडा तिर्दै सिटमा गएर बस्छन् । एक भारतीय विद्यार्थी भन्छन्, ‘हाम्रोमा भए कति जना पैसा नतिरी जान्थे होलान् । ट्रेनमा त टिकट चेकर आउँदा अर्को डिब्बामा जाने वा ट्वाइलेटमा बसेर पनि विनापैसा यात्रा गरिन्छ । सबैतिर पैसा तिरेर के साध्य ?’ युरोपतिरका एक विद्यार्थी भन्दै थिए, ‘चिनियाँ साह्रै अनुशासित, उता हाम्रो युरोपतिर भीडभाड छ भने एउटाको कार्डमा दुई/चार जना छिर्छन् । भीडभाड छ भने कार्ड नछुवाईकनै अथवा पैसा तिर्नुपर्ने ठाउँमा केही चानचुने पैसा खसालिदियो, कसैले गन्ने होइन । तर, चिनियाँले त्यस्तो गरेको कतै देखिँदैन ।’

विश्वविद्यालयका विभिन्न प्रवेशद्वारमध्ये केहीमा ढोका छैन । राति निश्चित समय द्वारको भुइँमा ठड्याइएका दुई/तीनफिटे खाँबामा एउटा प्लास्टिकको डोरी बाँधिन्छ । बस् त्यति भएपछि विद्यार्थी वा अरू मानिस भित्र बाहिर गर्दैनन् । राति कुनै कारणले ढिलो भएमा विद्यार्थी होटलमा बस्न जान्छन् । सजिलै नाघेर जान सके पनि त्यसो गर्दैनन् । राति वा दिउँसो पर्खाल नाघेर, झ्याल वा ढोका फोडेर, ताला फुटाएर स्कुल, कलेज, व्यक्तिका घर, कार्यालयभित्र छिर्ने, चोर्ने व्याप्त कुराबाट आजित समाजका मानिसलाई चिनियाँ अनुशासन गज्जब लाग्ने नै भयो । अनुशासन भनेको अनुशासन हो, नियम भनेको नियम हो भन्ने कुरा चिनियाँ समाजमा स्थापित रहेछ ।

राति १२ बजे होस्, अथवा १, २, ३ जतिसुकै बजोस्, केटा वा केटी जुनसुकै लिङ्गको होस् निर्धक्कसँग एक्लै सडकमा हिँड्न सक्छन् । रक्सी खाएर ढुल्मुलिँदै अथवा चुरोटको धूवाँ उडाउँदै, गीत आउँदै वा नाच्दै मजासँग हिँड्न सक्छन् । उही फ्ल्याटका अरू सबै कोठामा अपरिचित केटाहरू बस्छन् भने पनि एउटा कोठामा एकजना तरुनी केटीमात्रै कोठा भाडा लिएर ढुक्कसँग बस्न सक्छे । त्यो देख्दादेख्दै केटीका अभिभावकले ढुक्कसँग आफ्नी छोरीलाई कोठामा बस्ने अनुमति दिन्छन् । सार्वजनिक बसभित्र, कलेजको होस्टलभित्र, बाबाजीका मठभित्र बलात्कारका समाचार सुनेर आजित हाम्रा लागि यस्तो कुरा अलिक अनौठो लाग्ने रहेछ ।

आखिर मान्छे सबैतिरका उस्तै हुन्, मानिसका आवश्यकता पनि उस्तै हुन्छन् । चीनको भूमिमा पुरुषका यौनेच्छा नजाग्ने होइन तर पनि किन यहाँ युवती निर्धक्क एक्लै हिँड्न सक्छन् ? बस्न सक्छन् ? यसको एउटा मुख्य कारण त चिनियाँ कानुन । चिनियाँ कानुन यति कडा छ, जो कसैले बलात्कारको कल्पनासम्म पनि गर्न सक्दैनन् । फेरि बलात्कारै किन गर्नुपर्छ र, सहमतिमा यौन आवश्यकता पूरा गर्नलाई कहीं, कतै बाधा छैन भने । केटाकेटीहरू मिलोमतोमा जहाँ पनि जान सक्छन्, होटलमा गएर अथवा घरमै गएर एउटै कोठामा बसे भने अभिभावकले कुनै बाधा–व्यवधान गर्दैनन् । बरु खुसी व्यक्त गर्छन् । उमेर पुगेका केटाकेटी सँगै हिँड्दा बस्दा कहीं कतै बाधा–व्यवधान छैन । धर्म, संस्कार, इज्जत र कानुनका नाममा मान्छेका यौन आवश्यकतालाई जबरजस्ती रोक्ने प्रयत्न हुँदैन । त्यसो भएपछि बलात्कारको आवश्यकता पनि हुँदोरहेछन क्यारे । त्यसैले बालिका, युवती वा महिला एक्लैदुक्लै हिँड्न सक्छन् ।

शिक्षक पढाउँदै गर्छन्, विद्यार्थी चियाको चुस्की लिँदै अथवा केही खानेकुरा खाँदै, सुन्दै वा लेख्दै हुन्छन् । शिक्षकले केही भन्दैनन्, आफ्नो पढाउने काम पढाइरहन्छन् । कक्षाको बीचमा पाँच मिनेटजति ‘ब्रेक टाइम’ हुन्छ । शिक्षक र विद्यार्थी सँगै कक्षाबाहिर कुनै ठाउँमा अथवा शौचालय जाने बाटामा चुरोट तान्दै, गफ गर्दै हिँड्न सक्छन् । सडक, होटल, बगैंचा वा पार्कमा, बसभित्र वा रेलभित्र केटाकेटी निर्धक्क अँगालो मारेर बस्न सक्छन् । केटा वा केटीलाई काखमा राखेर चुम्बन गर्न सक्छन् । छेउमा बस्नेहरू केही थाहा नपाएजस्तो गरेर आफ्नै सुरमा हुन्छन् । आफ्नो भाइ वा बहिनी, साथी, विद्यार्थी जोसुकै हुन्, उनीहरूका केटा वा केटी साथीसँग हिँडिरहेका छन् अथवा अँगालोमा छन् भने नदेखेजस्तो गरेर हिँडिदिन्छन् ।

कम्युनिस्टविरोधीले कम्युनिस्ट शासनमा मानवीय स्वतन्त्रता हुँदैन, बोल्ने, लेख्ने स्वतन्त्रता हुँदैन, राज्य निरङ्कुश हुन्छ भन्ने कुरा त छँदै छ । आवधिक चुनाव नहुने, गुगल, फेसबुकमाथि प्रतिबन्ध, निजी सम्पत्तिमाथिको सीमाजस्ता कुराका आधारमा चीनमा स्वतन्त्रता छैन भन्ने कुरा पनि प्रचारमा छँदै थियो । त्यसैले चीनबारे एउटा धारणा बनाइएको थियो । त्यसैले चीनमा आउँदै गर्दा यहाँ नेपालको तुलनामा धेरै बन्धन होलान्, हिँड्ने, डुल्ने, खाने, बस्ने कुरामा कडा बन्देज होला भन्ने लाग्थ्यो । तर, चीन बाहिर प्रचार गरिएजस्तो रहेनछ । चीनमा सोच्दै नसोचेको स्वतन्त्रता रहेछ । खासगरी खानेपिउने, हिँड्ने, प्रेम गर्नेजस्ता स्वाभाविक मानवीय आवश्यकताका कुरामा साचेभन्दा धेरै स्वतन्त्रता रहेछ । मानवीय आवश्यकताको परिपूर्तिमा जनता पूर्ण स्वतन्त्र रहेछन् । धर्म प्रचार, लागूऔषध तथा बेचविखन, चोरी, डकैती, बलात्कार, भ्रष्टाचारजस्ता चिनियाँ कानुनले अवैध ठहर्याएका कुरामा भने कुनै छुट नहुने, कुनै भनसुन नलाग्ने रहेछ । त्यसमा परेपछि पर्यो–पर्यो । जनताका आधारभूत कुरामा सरकार पूर्ण जवाफदेही भएपछि जनतामा सरकारप्रति पूर्ण भरोसा हुनेरहेछ । अनि त देशको नियम, कानुनप्रति जनता आफैं पूर्ण वफादार हुनेरहेछन् । त्यसो भएपछि विकास निर्माणले स्वाभाविक रूपमा गति लिने रहेछ । चीनको विकासको मुख्य कडी यसैमा रहेछ भन्ने लाग्छ ।

सहप्राध्यापक धनप्रसाद सुवेदी

प्रजातन्त्र वा लोकतन्त्रमा वकालत गरिने मुख्य कुरा भनेको स्वतन्त्रता हो । तर, स्वतन्त्रता भनेको निरपेक्ष होइन र हुन सक्दैन रहेछ भन्ने कुरा चिनियाँ व्यवस्थाबाट बोध हुने रहेछ । हुन पनि स्वतन्त्रता निरपेक्ष हुनै सक्दैन । स्वतन्त्रताको जतिसुकै वकालत गरे पनि तोकिएको सर्त र सीमाभन्दा पर गएपछि राज्यले नियन्त्रण गर्छ–गर्छ । हामी हेर्न सक्छौं, सम्पत्तिमाथिको राज्यको अङ्कुश वा करको दायरामा ल्याउने कुरा अमेरिका वा युरोपमा पनि छँदै छ । सम्पत्तिलाई पुस्तौंपुस्ता हस्तान्तरण गर्दै लैजाने कुरा प्रजातन्त्रको ठेक्का लिने पश्चिमा देशमा पनि छैन । स्वतन्त्रताको अधिकार सरकारलाई अप्ठ्यारो नपर्दासम्म मात्रै हो भन्ने कुरा प्रजातन्त्रको ठेकेदार भनिने राष्टहरूका क्रियाकलापले पुष्टि गरिसकेका छन् । स्वतन्त्रता भनेको अनुशासनहीनता, अराजकता, उद्दण्डता होइन । फेसबुक वा गुगल चलाउन नपाएको कुरालाई आधार बनाएर चीनमा स्वतन्त्रता छैन भन्ने कुरा आफैंमा हास्यास्पद हो । फेसबुक, गुगल पश्चिमाहरूले व्यापारका लागि बनाएका हुन्, तिनको सट्टामा चीनले आफ्नैप्रकारको अझ बढी उपयोगी प्रविधि विकास गरेको छ । भनेपछि कुनै पनि देशले आफ्नो प्रविधि, आफ्नो उत्पादन प्रवद्र्धनका लागि अरूको प्रविधि, उत्पादनमाथि नियन्त्रण त गर्छ, यो कुनै अनौठो कुरा भएन ।

जहाँसम्म आवधिक चुनाव, वालिग मताधिकारको कुरा छ, त्यो पनि निरपेक्ष कुरा होइन । चनाव किन गरिन्छ ? जनताका लागि योग्य प्रतिनिधि छान्न । तर, आफैंले भोट दिएका प्रतिनिधिले आफैंमाथि लुट मच्चाउँछन् भने, पैसा, सत्ता, शक्तिका भरमा प्रतिनिधि चुनिन्छन् भने त्यस्तो चुनावले जनता र देशलाई के फाइदा हुन्छ ? चुनाव भनेको जनताको विश्वास जित्ने कुरा हो । दुनियाँमा चीनको नेतृत्वलाई जत्तिको जनविश्वास कहाँ होला र ?

कट्टर माक्र्सवादी भएर हेर्दा अथवा माक्र्सवादको सिद्धान्तलाई सूत्रमा हेर्दा चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारलाई संशोधनवादी भन्न सकिएला, पुँजी विकासका लागि, विश्व बजारमा प्रतिस्पर्धाका लागि चीनले लिएका नीति कम्युनिजमको सूत्रसँग ठ्याक्कै नमिल्लान् । तर पनि स्नातक पढ्दै गरेका १८/१९ वर्षे चिनियाँ किशोरकिशोरी आफ्नो देशको परिचय दिनेक्रममा सगर्व भन्छन्, ‘चीन पहिले धेरै गरिब थियो, पराधीन थियो, महान् नेता माओको नेतृत्वको कम्युनिस्ट क्रान्तिले देश स्वतन्त्र भयो । विकासका बाटा खोले अनि तेङस्यापिङ हुँदै अहिलेका महासचिव सी चिनफिङहरूले देशलाई विकासको गतिमा अघि बढाए । त्यसैले अहिले हाम्रो चीन संसारकै विकसित देशका दाँजोमा पुगेको छ । हामीलाई हाम्रा नेताहरू र कम्युनिस्ट पार्टीप्रति गर्व छ ।’

संसारका कतिपय देशमा जनताको प्रचण्ड बहुमतवाला नेता र सरकारविरुद्ध सदनमा महाभियोग अथवा सडकमा विशाल प्रदर्शन हुँदै गर्दा चिनियाँ किशोरकिशोरीले कक्षाकोठामा कम्युनिस्ट सिद्धान्त र आफ्ना नेताको प्रशंसा गरिरहेको सुन्दा चार/पाँच वर्षमा हुने चुनावरूपी ढर्रालाई नै प्रजातन्त्र वा लोकतन्त्रको मुख्य कसी मान्ने कुरा गलत लाग्दोरहेछ । सरकारको मुख्य काम देशको विकास हो । त्यो विकासको उपादेयता जनताको सर्वोपरि हित हो भने त्यसमा चिनियाँ सरकार र शासन प्रणाली अत्यन्तै सफल रहेछ ।

रूस, चीनका क्रान्तिका कथा पढेर अनि अग्रजका कुरा सुनेर संसारको सबैभन्दा राम्रो शासन व्यवस्था कम्युनिजम हो भन्ने लाग्यो र त्यसको झन्डा बोकियो । कम्युनिस्ट पार्टीका अगुवाइमा भएका विद्रोह र आन्दोलनमा सकेको गरियो । तर, पछिल्लो समयमा कम्युनिस्ट नेतृत्वको सरकार, पार्टी अनि नेताहरूका क्रियाकलापबाट कतै आफूले बोकेको कम्युनिस्ट विचारप्रति नै अविश्वास र वितृष्णा जन्मिँदै गरेको थियो ।

चिनियाँ विश्वविद्यालय, अस्पताल, यातायात तथा सञ्चारप्रणाली, आवास, खानपान अनि यहाँका मानिसको दैनिक जीवनचर्या आदि देखेपछि अनि ७० वर्षको कम्युनिस्ट शासनको अवधिमा चीनले गरेको प्रगति थाहा पाएपछि भने कम्युनिस्ट सिद्धान्तका पछि दौडिएर गल्ती नै गरिएको भने होइन रहेछ भन्ने लाग्यो । संसारको झन्डै एकतिहाइ जनसङ्ख्या भएको देश चीनका जनताको कम्युनिस्ट पार्टीप्रतिको विश्वास र भरोसा देख्दा लाग्छ– माक्र्स, एङ्गेल्सहरूले देखेको साम्यवादको सपना केवल आदर्श कल्पनामात्रै होइन रहेछ, मानिसले चाहेमा साम्यवाद सम्भव रहेछ ।

प्रतिक्रिया दिनुहोस्