सूर्यमुखी फूल खेतीमा कमलका किसान आकर्षित


दमक (झापा) । कमल गाँउपालिका झापाका किसान तेलहनका लागि सूर्यमुखी फूल खेतीतर्फ आकर्षित भएका छन् । तेलहनमा आत्मनिर्भर बनाउन गाउँपालिकाले प्रोत्साहन दिन थालेपछि किसान यस खेतीमा आकर्षित भएका हुन् ।

गाउँपालिकाले गत वर्षदेखि पालिकालाई तेलहनमा आत्मनिर्भर बनाउन बीउ अनुदान दिनुका साथै प्राविधिक रूपमा सहयोग गर्न थालेपछि किसानले सूर्यमुखी फूलको व्यावसायिक खेती गर्न थालेका हुन् । यसअघि तेलहनका लागि तोरीको खेती गरिँदै आए पनि पछिल्ला समय भने किसान सूर्यमुखी फूल खेतीतर्फ आकर्षित हुँदै आएका छन् ।

कमल–७ स्थित गेउरियाका अगुवा किसान ओमनाथ तिम्सिनाले यस वर्ष पाँच कठ्ठा जमिनमा सूर्यमुखी फूलको खेती गरेका छन् । तेलहनका लागि राम्रो मानिने उनको बारीमा सूर्यमुखी फूल ढकमक्क फुलेका छन् । किसान तिम्सिनाले तेलहनका लागि तोरीभन्दा सूर्यमुखी फूल खेतीको उत्पादन बढ्ने र स्वास्थ्यका हिसाबले समेत यसको तेल उपयोगी भएकाले परीक्षणका रूपमा खेती थालेको बताए । यस खेतीबाट राम्रै उत्पादन दिए बर्सेनि व्यावसायिक खेती गर्ने उनको योजना छ । उनले भने, ‘यसपटक सूर्यमुखी फूलले रामै्र उत्पादन दियो भने खेती विस्तार गर्नेछु ।’

गाउँपालिकाबाट एक केजी बीउ अनुदान पाएर खेती थालेका उनी फूलखेतीले मनग्यै उत्पादन दिने अनुमान गर्छन् । मलजल गर्दा फूलले राम्रै उत्पादन दिने देखिएको उनको भनाइ छ । उनका अनुसार बारीमा लगाएको सबै बोट फुलिसकेका छन् । अबको महिना दिनभित्र यसबाट तेल निकाल्न सकिन्छ । इन्टरनेटको सहायताबाट खेती थालेका उनले बिरुवाको हेरचाहदेखि बाली काट्नेसम्मको कृषि प्राविधिक ज्ञान सिकेको बताए । नजानेको कुरा इन्टरनेटबाट खोजेर प्राविधिक ज्ञान लिँदै आएको उनले सुनाए ।

भान्सामा प्रयोग गरिने अन्य तेलभन्दा यसको तेल गुणस्तर मानिने किसानको बुझाइ छ । तेलहनमा आत्मनिर्भर बन्न प्रेरणा दिनसमेत उनले यसको खेती थालेको बताए । बजारका तेलभन्दा आफैंले उत्पादन गरेको विषादीरहित तेल उपभोग गर्न सके स्वास्थ्य सुरक्षामा थोरै भए पनि सघाउ पुग्ने उनको जिकिर छ । भन्छन्, ‘शरीर स्वस्थ बनाउन हामीले खानेतेलमा पनि स्वच्छतामा ध्यान दिनुपर्छ । त्यसका लागि पनि यसको खेती थालेको हुँ ।’

मलजलसँगै मेहनत गरेअनुसार यसबाट उनले पाँच कठ्ठा जमिनमा १० मनभन्दा बढी तेल उत्पादन गर्ने अनुमान लगाएका छन् । बजारमा अहिले १०० रुपैयाँ प्रतिकेजी यसको फल बिक्री हुन्छ । बारीमा कसैले लिन चाहे त्यही दरमा तेलको तयारी अवस्थाको फल बिक्री गर्ने किसान तिम्सिनाको भनाइ छ । ‘सूर्यमुखीको खेतीबाट तेलका लागि आत्मनिर्भर बन्न सकिने रहेछ,’ उनले थपे, ‘तसर्थ, राज्यले प्रोत्साहित गर्नुपर्छ ।’

गाउँपालिकाले यस वर्ष सातवटै वडाका किसान समूहलाई सूर्यमुखीको बीउ अनुदानका रूपमा वितरण गरेको थियो । तेलहनमा आत्मनिर्भर गराउन गाउँपालिकाले गत वर्षदेखि प्रोत्साहनस्वरूप निःशुल्क बीउ वितरण गर्नुका साथै प्राविधिकसमेत उपलब्ध गराएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक प्रेमप्रसाद पोखरेलले बताए । गाउँपालिकाले यस वर्ष ६० केजी बीउ कृषि समूहलाई अनुदान दिएको थियो । उनले कृषि समूहमार्फत बीउ पाएकामध्ये वडा नम्बर १, ५, ६, र ७ का किसानले लगाएको सूर्यमुखी खेती फस्टाउँदै गएको बताउँछन् । गाउँपालिकाभित्र ५० भन्दा बढी अगुवा किसानले यस वर्ष सूर्यमुखी फूलको खेती गरेको कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्