हलेसी तुवाचुङमा काँग्रेसबाट मेयरमा राई, उपमेयरमा राउत


तस्बिर सौजन्य : नवीन चाम्लिङ राई

दुर्छिम (खोटाङ) । नेपाली काँग्रेसले हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राईलाई अघि सारेको छ । हलेसी तुवाचुङ नगरपालिकाको पूर्वउपमेयरसमेत रहेकी राईलाई काँग्रेसले मेयरमा अघि सारेको हो ।

उपमेयरमा रमेशकुमार राउतलाई पार्टीले अघि बढाएको छ । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका पूर्ववडाध्यक्षसमेत रहेका राउतलाई पार्टीले ‘हेभी वेट’का उपमेयरका उम्मेदवार भनेर अघि बढाएको हो ।

यसपटकको स्थानीय तह निर्वाचनमा मेयरमा राई र उपमेयरमा राउतले उम्मेदवारी दिने नगरवासीको पूर्वानुमान सही साबित भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा तीन पार्टीले दर्ता गरेको मनोनयमध्येमा राई र राउतलाई ‘हेभी वेट’का उम्मेदवारका रूपमा विश्लेषण गरिएको छ ।

दुर्छिम माध्यमिक विद्यालय दुर्छिमबाट एसएलसी गरेकी मेयरका उम्मेदवार राईले ओखलढुंगाबाट अहेबसम्मको अध्ययन पार लगाएकी छन् । अहेब पढाइ पूरा गरेपछि दिक्तेल बहुमुखी क्याम्पस खोटाङबाट दस जोड दुई र स्नातक तहको अध्ययन पार लगाएकी थिइन् । काँग्रेस महाधिवेशन प्रतिनिधि उनले एलएलबी र ग्रामीण विकास (आरडी)मा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छन् ।

परियोजनाको आकर्षक जागिर छाडेर राजनीतिकमा होलटाइमर बनेकी उनको राजनीतिक यात्राले मूलबाटो पछ्याउँदै गएको छ । राजनीतिमा ‘होलटाइमर’ भएको पाँच वर्षमै हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरमा निर्वाचित उनी प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशनमा लोकप्रिय मतसहित प्रदेश सदस्यमा निर्वाचित भएकी थिइन् ।

संवत् २०५३ मा सहोदर दाजु तुलसी राईबाट नेपाल विद्यार्थी संघको सदस्यता पाएकी उनले त्यसयता राजनीतिक यात्रामा कहिल्यै पछि फर्कन परेन ।

यसैगरी, रमेशकुमार राउत पनि ‘वेल एजुकेटेड’ उपमेयरका उम्मेदवार हुन् । लक्ष्मी माध्यमिक विद्यालय खोक्सेलीबाट एसएलसी गरेका राउतले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन पार लगाएका छन् । उनी अधिवक्तासमेत हुन् ।

आईएदेखि एमएसम्मको अध्ययन ललितपुरको पाटन क्याम्पसबाट पूरा गरेका उनले गत स्थानीय तह निर्वाचनको उम्मेदवारी दिँदा कानुन व्यवसायीका रूपमा काम थालिसकेका थिए । उनलाई अधिवक्ताको भूमिकाभन्दा वडाध्यक्षको उम्मेदवारी आकर्षक लाग्यो ।

पाटन क्याम्पस नेविसंघ इकाइ समिति सदस्य र सहसचिवको भूमिका निर्वाह गरिसकेका उनी सचिवसम्म बने । सचिव भए पनि लामो समय अध्यक्षकै जस्तो मूल भूमिकामा रहे । थुप्रै मिहिनेत गरे पनि स्ववियु निर्वाचन भएन । स्ववियु निर्वाचनभन्दा पहिले स्थानीय तह निर्वाचन भयो । उनले वडाध्यक्षको उम्मेदवारी दिए । विजयी पनि भए ।

रमेशकुमार राउतको राजनीतिक यात्रा सगरमाथासरी अग्लिँदो छ । पूर्ववडाध्यक्ष राउतलाई उपमेयरमा निर्वाचित गराउने दायित्व नगरवासीमै निहित छ ।

प्रतिक्रिया दिनुहोस्