खोटाङको वराहपोखरीमा १२ घर किरातीका बस्ती थियो । त्यो बस्तीमा हुलुप्मा–हुलुप्पा नाम गरेका बूढाबूढीले वराह नाम गरेको सुँगुर पालेका थिए । एकदिन सुँगुरले हुलुप्मा–हुलुप्पाको घरको खम्बानजिकै उधिनिदियो । उधिनिएको ठाउँँबाट पानी निस्कन थाल्यो ।
खोपिल्टोबाट सामान्य पानी निस्किएकाले हुलुप्मा–हुलुप्पाले वास्ता गरेनन् । तर, केही समयमै त्यो पानी बढ्न थाल्यो । घरको भुइँतला ढाक्न थाल्यो । हुलुप्मा–हुलुप्पा विलखबन्दमा परे । उनीहरू बूढाबूढी भएकाले तुरुन्तै घर छाड्न सकेनन् ।
पानीमा एउटा ठूलो रातो माछा देखापर्यो । त्यहाँका किरातीले माछा मारेर भेजा लगाए । आफू पनि खाए । त्यसपछि पानीको मात्रा ह्वात्तै बढ्यो । पानी बढेपछि १२ घर बस्ती डुबानमा पर्यो । बस्ती ठूलो पोखरीमा परिणत भयो ।
खासगरी त्यो ठाउँमा मानिस बस्न नहुने भएकाले माङले बस्ती सार्ने चेतावनीस्वरूप पानी र माछा निकालेका थिए । तर, बस्तीका मानिसले केही सोचविचार नगरी अटेर गरी बसिरहे । माछा देख्नासाथ लोभिएर माछा मारी खाएकाले माङ रिसाई बस्ती पोखरीमा परिणत गरिदिएको स्थानीय वृद्धवृद्धाको कथन छ । केही समयअघिसम्म पोखरीमा डुबेका घरका खाँबोका अवशेष बाहिरबाटै देखिने गरेको बताइन्छ ।