बागलुङ घुम्न जाऊँ बुद्धहिलैमा


पछिल्लो समय बागलुङमा नयाँ पर्यटकीय गन्तव्यको खोज, पहिचान र प्रर्वद्धनमा महत्वपूर्ण कदम चालिएको छ । जिल्लामा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । धार्मिक गन्तव्यका रूपमा चर्चा कमाउन सफल बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटनजिकै आकर्षक पहाडको पर्यटकीय हिसाबले प्रचार थालिएको छ । त्यसलाई स्थानीय र पर्यटन अभियानकर्मीले ‘बुद्धको पहाड’ नामकरण गरेका छन् ।

प्राकृतिक रूपमा बागलुङ–६ र ७ को सिमानामा रहेको बैजनीको पाखामा शाक्यमुनि गौतम बुद्धको स्पष्ट आकृति पहिचान भएपछि हालैमात्र ‘बुद्धहिल’को पहिचानसमेत दिइएको छ । बैजनीको पाखामा ढुंगाको पूर्व फर्किएको पहाडलाई दायाँबाट देख्न सकिने सिद्धार्थ बुद्धको आकृति धार्मिक तथा प्राकृतिक हिसाबले निकै महत्वपूर्ण भएको जनाउँदै प्रचार–प्रसारसमेत थालिएको छ ।

बन्दाबन्दी र निषेधाज्ञमा लामो पदयात्रा जानेक्रममा बैजनीको पाखामा तस्बिर खिच्दै गर्दा उक्त ढुंगाको पहाडमा बुद्धको आकृति देखिएको घुमन्ते समूहमा आबद्ध बागलुङका युवा पर्यटन अभियानकर्मी खिमबहादुर क्षेत्रीले बताए । समुद्री सतहदेखि १,७७५ मिटरको उचाइमा रहेको उक्त पहाडको प्रवद्र्धन गरी पर्यटकको आकर्षण केन्द्रका रूपमा परिचित गराउन घुमन्ते समूहले स्वतः स्फूर्त रूपमा पहिचान तथा सांकेतिक नामपाटी स्थापना गरिसकेको छ । ‘हामीले बन्दाबन्दीका समयमा घुम्न जाँदा बुद्धको आकृति फेलापारेका हौं,’ क्षेत्रीले भन्नुभयो ‘यसको स्वतःस्फूर्त रूपमा पहिचान स्थापित गर्न स्थानीय जनप्रतिनिधिको सहयोगमा सूचना बोर्ड स्थापनासमेत गरेका छौं ।”
चार वर्षदेखि पहिला स्वदेशका चार किल्ला अनि बाहिरी जिल्ला भन्ने अभियानअन्र्तगत विभिन्न पर्यटकीय गन्तव्यको प्रचार–प्रसार तथा प्रवद्र्धनका लागि काम गरिएको क्षेत्रीको भनाइ छ ।

बुद्धको आकृति यसअघि स्थानीयले देखेका भए पनि अभियानका रूपमा चलाउन सकेका थिएनन् । पर्यटकीय स्थलको भ्रमण र प्रचार–प्रसार गर्दै आएको घुमन्ते समूहले यसलाई प्रचार–प्रसार गर्नका लागि अग्रसरता देखाएपछि वडा कार्यालयसमेत अभियानमा जोडिएको बागलुङ–६ का वडाध्यक्ष खिमराज सापकोटाले जानकारी दिए । पञ्चकोट घुम्न आएका पर्यटकलाई १० मिनेटको पैदल यात्रामार्फत यहाँ ल्याउन सकेमा पर्यटकीय हिसाबले गन्तव्यका रूपमा स्थापना गर्न सकिने सापकोटाको भनाइ छ । बागलुङदेखि धारापानी हुँदै कालीमाटी सडकबाट झन्डै १५ मिनेटको पैदल यात्रामा पुग्न सकिने ‘बुद्धहिल’ धार्मिक तथा पर्यटकीय हिसाबसमेतले महत्वपूर्ण हुन सक्नेछ ।

वडा कार्यालयले ‘बुद्धहिल’ पुग्ने पदमार्ग, रेलिङलगायत आवश्यक पूर्वाधारमा लगानी गर्ने वडाध्यक्ष सापकोटाले बताए । ‘चार÷पाँच वर्षपहिले पर्यटन व्यवसायीले बुद्धको आकृति भएको बैरेनीको पाखोनजिकै जग्गा खोजेका रहेछन्,’ उनले भने, ‘यसको पहिचानपछि अहिले घुमन्तेको अग्रसरतामा प्रवद्र्धनको काम सुरु भएको छ ।’ बागलुङ घुम्न आउने पर्यटकका लागि समेत नयाँ गन्तव्यका रूपमा यसलाई प्रवद्र्धन गर्न सकिनेछ । पछिल्लो समय बागलुङमा विदेशी पर्यटकसमेतको आकर्षण बढ्दै गएको छ । धार्मिक गन्तव्यका लागि बुद्ध पहाड निकै महत्वपूर्ण हुन सक्ने होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।

बागलुङ बजारबाट निकै नजिक ‘बुद्धहिल’को महत्व बढाउँदै लगेमा बागलुङको पर्यटन व्यवसायमा कोसेढुंगा साबित हुने विश्वका सबै राष्ट्रियगान गाएर विश्व भ्रमणको अभियानमा रहेका रामजी नेपालीले बताए । ‘बुद्धहिल’को प्रवद्र्धनका लागि नेपालीले ‘बागलुङ घुम्न आऊ बुद्धहिलैमा’ भन्ने गीतसमेत सिर्जना गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्