प्रतिष्ठित अन्तर्राष्ट्रिय तीर्थस्थल हलेसी



हलेसी तुवाचुङ नगरपालिकास्थित महादेव गुफा पूर्वाञ्चल नेपालकै लागि दर्शनीय रहँदै आएको कुरा जगजाहेर छ । वैदिक सनातन धर्म, किरात सनातन धर्म, बुद्ध सनातन धर्मको समन्वय त्यहाँ अनुभूति गर्न सकिन्छ । जसलाई छोटो भाषामा भन्दा पौरस्त्य निगमागमको मिलनबिन्दु भन्दा अनुचित हुँदैन । मोटरबाटो त्यहाँ पुगेपछि काठमाडौंस्थित पशुपतिनाथ अन्तर्राष्ट्रिय तीर्थस्थलझैं हलेसीमा पनि स्वदेशी विदेशी दर्शनार्थीको घुइँचो लाग्ने गरेकाले अब अन्तर्राष्ट्रिय तीर्थस्थलमा प्रतिष्ठित हुन पुगेको छ । पशुपतिमा जग्गा अधिग्रहण गरेर क्षेत्र विस्तार गरेजस्तै हलेसी महादेवस्थानमा पनि त्यस्तै गर्नुपर्ने टड्कारो आवश्यकता परिसकेको छ । यो कुराको बोध गरेर हलेसी तुवाचुङ नगरपालिका, हलेसी महादेवस्थान विकास समिति, खोटाङ जिल्ला र क्षेत्रका माननीयसमेतको पहलमा गुरुयोजनाको प्रारम्भिक छलफलदेखि प्रारूप र परिणतरूप कस्तो हुने भन्नेमा विभिन्न विचारलाई समन्वित गरेर छलफल अगाडि बढाइराखिएको सुखद क्षण सुन्न र देख्न पाइरहेका छौं ।

पशुपति विकास कोषको सदस्य भई काम गर्दा स्थानीय कतिपयलाई जग्गाको बदला जग्गा र घरको मुआब्जा दिई अन्तै सारिएको छ । यो मेरो अनुभव हो । यहाँको अनुकूलतामा यो काम भएको हो । हलेसीमा भने के अनुकूल हुन्छ, त्यस्तो गर्नुपर्ने हुन्छ । एउटै तरिका सबैतिर लागू नहुन पनि सक्छ । मेरो अध्यक्षतामा बागमतीमा टनेल र ट्रिटमेन्ट प्लान्ट पनि तयार भएको छ । यसका हन्डर र आत्मकथा त्यस्तै अप्ठेरा र दर्द भरिएका छन् । यी सबै कुरा हलेसीमा काम गर्नेलाई पनि अवश्य आइपर्नेछन् । अरूबेला इमानदार देखिन खोज्ने मौका पर्दा धोक्रो भर्न चाहने व्यक्ति, कर्मचारी र नेताबाट बचेर काम गर्नुभयो भने हलेसी गुरुयोजनामा काम हुन सक्ला । अन्यथा काम होइन कामजस्तो मात्र हुन बेर छैन । अन्य देशमा कमिसन घुस हो भने हाम्रो देशमा पुरुषार्थ मान्ने चलन यहाँका मन्त्री, सचिव र कर्मचारीको रहेको छ । हलेसी गुरुयोजनामा काम गर्नेले यस्तो पुरुषार्थबाट टाढै रहने हो भने राम्रो काम गर्न सकिन्छ । चाहे ठेक्का राष्ट्रिय होस्, चाहे अन्तर्राष्ट्रिय होस्, त्यसमा प्रोजेक्ट चिफदेखि लेखासम्मका सबै कर्मचारी पिक्यु, मोबिलाइजेसन र अन्तिम ठेक्कासम्मै ठेकेदारसँग भित्रभित्रै कमिसनको दलालीमा चुर्लुम्म डुब्छन् । मन्त्रालयका सचिवहरू त्यस्तै योजना प्रमुखलाई कार्यसम्पादन मूल्यांकनमा धेरै नम्बर दिन्छन्, जसले त्यस्तो पैसा आफूलाई समेत ल्याएर दिन्छ । मन्त्रीहरू प्रत्यक्ष ठेकेदारसँग कुरा गर्छन् र पैसा खान्छन् । मन्त्रालयका सचिवसँग पनि भागबन्डा खान्छन् । अन्तर्राष्ट्रिय ठेक्कामा विदेश जाने पनि एक प्रावधान राख्ने गरेका छन् । त्यसैका आधारमा विदेश घुमेर डलर खर्च गरेर आएका हुन्छन् तर कामचाहिँ कहिले पनि बेलामा नसकेर लथालिंग भइरहेको हुन्छ । ती हाकिमहरू फेरि अब भेरिएसनतिर लाग्छन् । त्यो कुरा मन्त्रीसम्म पुर्याएर भेरिएसनमा पनि पैसा खान्छन् । यसको मतलब सबै मन्त्री र सबै कर्मचारी एकैखालका छन् भन्ने होइन । धेरैजना इमानदार पनि छन् ।

अझै नेपाली समाज जागिनसकेकाले तिनलाई अगाडि जाने र अघि बढ्ने मौका देशमा प्राप्त भइरहेको अनुभूति हुँदैन । तारजालीमा गेज आँखा, गाह्रो लाउँदा गहिराइ, मोटाइमा, माटो कटनीमा कतिपय ठाउँमा ढुंगा कटनी आदि देखाएर स्तरहीन र छली काम गरेर शासन प्रशासनले जनतालाई झुक्याइरहेका छन् । विदेशी सहयोग र जनताको करको प्रत्यक्ष दुरुपयोग भइरहेको छ । यी कुरा हलेसी गुरुयोजनापछिका निर्माणकार्यमा देखिएन भएन । विद्युत् पोल, खानेपानी पाइप, ढल सार्नुपर्ने अवस्थामा पनि समिति आफैं कसिनुपर्छ । नेपालमा कसैसँग कसैको समन्वय छैन, कसैले कसैलाई टेर्दैन । इमानदार व्यक्तिले पनि सरकारी काम गर्दा व्यक्तिगतजस्तो गरी ती–ती सम्बद्ध अड्डाको चाकडी गरेर काम सम्पन्न गर्नुपर्ने अवस्था छ । गर्न सकेन भने देशका प्रधानमन्त्रीदेखि अन्य नेताहरूसमेत फलानाले गर्न सकेन भन्छन् । मान्छे इमानदार हो, जाँगरिलो हो, दृष्टि भएको हो किन गर्न सकेन भन्ने खोजी उनीहरूबाट यसअघिसम्म कहिल्यै भएको छैन । योजनाको निर्माण सुरु गर्नुभन्दा पहिले त्यसमा के–के आइपर्छन् भन्ने कुरा पहिल्यै तयारी हुनुपर्छ । यो कुरामा स्वयम् योजना आयोग नै चनाखो छैन ।

नेपालमा पहिलो नापीको काम शाही जंगी अड्डाले गथ्र्यो । २००१ सालसम्म नापीको काम उसैको थियो । टोपोग्राफी नगकोटले पनि नदीका नक्साहरू निकालेको छ । जंगी अड्डा पछि नेपालमा सिभिल अड्डा नापीको खडा भयो । त्यसले नेपालमा नापी गर्न प्रारम्भ गर्यो २०२१ र २०४२ देखि २०४४ को बीचमा काठमाडौं नापी गर्दा बागमती पनि नापी भएको छ । वर्षामा बागमतीमा ठूलो बाढी आउँछ । २०२१ सालका पुर्जामा भएका स्थानीयका जग्गा पनि नापीमा खोलो देखिँदा खोलामा परेका र उनीहरू आफैंले पोत तिर्नु नपरोस् भनेर नदी कायम गरिसकेका हुन् । हालको जस्तो बालुवा बिक्री पनि त्यसबेला थिएन । त्यसैले पुर्जामा भएका प्रमाणअनुसारका किनाराका जग्गा बाग्मतीभित्र परेकासमेत ध्यानमा राखी बदला जग्गा दिने निर्णय गरी मन्त्रिपरिषद्ले जग्गाको वितरण गर्ने निर्णय अधिकार प्राप्त गरी स्थानीयलाई लगभग ५ (पाँच) औं रोपनी जग्गा वितरण भइसकेको छ । २०६०–०६१ मा पनि त्यो क्षेत्र स्थानीयकै साक्षीत्वमा नापी भई तटबन्धभित्र बागमती कायम भएको हो ।

संवत् ०४४ मा नापीमा बागमती नदी कायम भएको जग्गामा ०२१ को खारेज पुर्जा लिएर लालपुर्जामा हाम्रो जग्गा छ, मुआब्जाले नत्र काम गर्न दिदैनौं भन्दै केही व्यक्ति काममा अवरोध गरिरहेका छन् । ती व्यक्ति मुद्दामा जान चाहँदैनन् । किनकि निश्चित छ– मुद्दा हारिन्छ भन्ने । यस्तो अराजकतामा त्यहाँको योजना प्रमुख वा अध्यक्षले के काम गर्न सक्लान् । न्यायसंकट भए जनतालाई चाँडोभन्दा चाँडो न्याय दिने हो । नचाहिँदो अन्याय गर्नेलाई जनताले टिकाउ र दिगो विकास पाउँछन् भन्ने ठाउँ कहाँ छ ? । सत्य, निष्ठा र ईश्वरलाई सम्झेर शपथ खानेहरूले नै शपथ बिर्सिसकेका छन् । तर, हलेसीका महादेवले त्यो क्षेत्रमा काम गर्नेलाई अवश्यै बिर्सन दिने छैनन् भन्नेमा आशा र पूर्ण भरोसा गर्छु । स्कन्दपुराणअन्तर्गतका हिमवत्खण्ड, अम्बिकाखण्ड र वराहपुराण आदि ग्रन्थमा नेपालको र नेपालका नदीहरूको वर्णन पाइन्छ । ती पुराणअनुसार नेपालका सारा नदीलाई पार्वतीका सखी मानिएको छ । यी नदीहरू शक्तिविशेष हुन् । मातृका, दुर्गा, काली आदि भनिन्छ । यी सबै शक्ति शिवसँग सम्बद्ध छन् किनकि शिव नै शक्तिचक्र निवहप्रवह मानिन्छन् । त्यसैले सप्तगण्डकी, सप्तकोसी र अन्य नेपालका नदीबाट जल लिएर महादेवलाई चढाउँदा पुण्य बढ्छ । त्यसमा पनि हलेसी महादेवबाटै निस्किएको महादेवखोला र दूधकोसीको संगममा स्नान गरी संगमको जल चढाउनाले विशेष पुण्य मिल्छ । त्यसैले ती ती ठाउँमा यातायातको व्यवस्था गर्नु अत्यन्त आवश्यक छ । त्यसले पर्यटन प्रबद्र्धनमा मद्दत गर्छ । जसले स्थानीयलाई अर्थोपार्जनको अवसरसमेत मिल्नेछ ।

नेपालमा पाइने बेलपत्र, फलफूल र जलले शिव धेरै प्रसन्न हुन्छन् । बेलपात र जल नेपालमा छ । पैसा बिदेसिँदैन । यसको ख्याल गर्नुपर्छ । महादेव सकल शक्तिका अधिष्ठाता हुन्, त्यसैले वरिपरका शक्तिपीठ कालीकास्थान, गुप्तेश्वर, सिद्धेश्वर, ककनी, ताराखसे, हलेसीगढी, खिम्ले दरबार, तुवाचुङ, होलेसुङपार्क, सल्लेपोखरीजस्ता ऐतिहासिक स्थल र धार्मिक पीठको एकीकृत गुरुयोजनामा समावेश आवश्यक छ । खानेपानीको पर्याप्तता र धर्मशालाको यथेष्ट प्रबन्ध गर्नुपर्छ । आ–आफ्नो संस्कृति झल्कने प्रतीक ठाउँ–ठाउँमा हुनुपर्छ । सबै संस्कृतिका दर्शनको परिचय गराउने अध्यापनको व्यवस्था गर्ने एक शिक्षण संस्थाको स्थापना हुनुपर्छ । ठाउँठाउँमा पोखरी निर्माण गराउनुपर्छ । खुला र प्राञ्जल विश्राम स्थल, चौतारी आदि निर्माण गर्न जरुरी छ । हलेसी मानौं शान्तिधामजस्तो बन्नुपर्छ । रहस्यपूर्ण कविताजस्तो जो–जस्तो छ, त्यसलाई त्यस्तै अर्थ लाग्ने हलेसी होस् भन्ने मेरो चाहना छ ।

अस्तु ।

प्रतिक्रिया दिनुहोस्