दूधकोसीसँग बिहे गर्न मामाभान्जाको प्रतिस्पर्धा


दूधकोसी

उहिले–उहिले दूधकोसी नदी बिछट्टै सुन्दर युवती थिइन् । यौवनले भरिपूर्ण उनको रूप रङ, शील–स्वभावबाट अरूण नदी र तमोर नदी हुरुक्क भएका थिए । अरूण र तमोर मामा–भान्जा भए पनि दौंतरी युवाहरू थिए । दूधकोसीको सौन्दर्य र शील–स्वभावबारे चर्चा चल्दै जाँदा दुवैजनाले मन पराएको कुराकानी भयो ।

अरूण र तमोरबीच आपसमा यस्तो कुरा थाहा पाएपछि दूधकोसीलाई कसले बिहे गर्ने ? भन्नेमा होडबाजीजस्तै चल्यो र अन्त्यमा दुवैबीच सम्झौता भयो । सम्झौताअनुसार जसले पहिले दूधकोसीलाई भेट्छ, उसैले दूधकोसीसँग बिहे गर्नेछ । सम्झौता गरेर अरूण र तमोर दूधकोसीलाई भेट्ने दौडमा छिटोछिटो आ–आफ्नो बाटो लागे ।

अरूण

बाठो र चलाख अरूण डाँडाकाँडा भत्काउँदै कतै नघुमी छिटोछिटो सिधा बाटो झर्यो । तमोर भने आफ्ना किनाराहरूमा ठुल्ठूला फाँट बनाउँदै आरामले बिस्तारै झर्यो । अरूणले दूधकोसीलाई तमोरले भन्दा पहिल्यै भेटी विवाह गरी उँधो समुद्रतिर हिँड्न थाल्यो । दूधकोसीकिनारमा सधैं कुहिरो लाग्ने गर्छ । दूधकोसी बेहुली हुँदा घुम्टो ओढेकीले कुहिरो लागेको बताइन्छ । आफू त्रिवेणी पुग्दा तमोर नदीले अरूण र दूधकोसी बेहुलाबेहुली भएर समुद्रतिर जाँदै गरेको देखे । त्यो देखेपछि तमोरको मन विचलित भयो । उनको मनमा कतै घोर निराशा, कतै आक्रोश त कतै प्रतिशोधको भावना जाग्यो । अरूणदेखि क्रूर भएर तमोरले त्यहाँभन्दा अगाडि नबढ्ने निर्णय गरेर छिन्ताङस्थित जगदेउ र आहालेस्थित ताङ्केराबीचमा जमेर बस्यो । उक्त स्थानमा अझै ठूलो टार छ, जसलाई पोखरिया/पोखरे भनिन्छ ।

तमोर त्यहाँ जमेर बस्न थालेको ङाक्बु (लिम्बुनी माछा) ले थाहा पाएपछि तमोरलाई समुद्र जाऊ भनी फकाउन थाल्यो । जति गर्दा पनि तमोरले नजाने जिद्दी गरेको गर्यै गर्यो । अन्त्यमा ङाक्बुले तमोरलाई लालचा देखाउँदै फकाउँदै भनिन्, ‘हेर तमोर, दूधकोसीसँग बिहे गर्न पाइनँ भनेर तिमी यसरी रिसाएर नबस । मैले भनेको मान । दूधकोसीभन्दा राम्री कोकाहा छिन् । कोकाहासँग म तिम्रो बिहे गराइदिन्छु ।’
ङाक्बुको त्यस्तो प्रस्तावले तमोरलाई अगाडि बढ्न उत्साहित बनायो । ङाक्बुले पनि पहराहरू खोलिदिइन् । पोखेरेनजिक ठुल्ठूला गल्छी छन् । उक्त गल्छी ङाक्बुले तमोरका लागि बाटो खोलिदिएको बताइन्छ ।

तमोर

ङाक्बुको कुरा मानेर तमोर अगाडि बढ्दा दूधकोसी र अरूण भएको ठाउँमा पुग्यो । रिसाएकाले तमोर बोल्दै नबोली आफ्नो बाटो लागे । दूधकोसी र अरूण मिसिएभन्दा अलि तल तमोर मिसिएको छ तर पनि तमोर निकै तलसम्म भिन्नै रङमा बग्ने गर्छ भने तमोरपट्टिको किनारमा पहिरो गइरहन्छ । पहिरो जानुलाई तमोर रिसाएको भन्ने गरिन्छ ।

यसरी अरूण, दूधकोसी र तमोरको संगम भएपछि कोकाहा खोला मिसिन्छ । कोकाहासँग तमोरको बिहे भएपछि तमोरको रिस शान्त भएको बूढापाकाहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्