चार वर्षपछि तोडियो हलेसी महादेव मन्दिर व्यवस्थापन समिति कार्यालयको ताला



हलेसी (खोटाङ) । श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिमा लगाइएको ताला चार वर्षपछि तोडिएको छ । समिति पुनर्गठनसम्बन्धी विवाद चुलिएपछि संवत् २०७५ भदौ २१ गते ताला लगाइएको थियो ।

हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख बिमला राई, नगर उपप्रमुख रमेश राउत, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडाध्यक्ष कमल गिरी, हलेसी महादेवस्थान विकास समिति कार्यकारी निर्देशक सम्मरबहादुर भुजेल, इलाका प्रहरी कार्यालय हलेसी प्रमुख सुनील धाँजू र स्थानीयको उपस्थितिमा ताला तोडिएको हो ।

‘मन्दिरमा कसैले पनि राजनीतिक प्रतिशोध साँध्नुहुँदैन,’ नगरप्रमुख राईले भनिन्, ‘हिजो भए–गरेका काम सम्झिरहनुभन्दा अब राम्रो गर्नेतिर लाग्नुपर्छ ।’

‘पवित्र प्राकृतिक मन्दिर रहेको ठाउँलाई ताला लगाउने थलो बनाउनुहुँदैन,’ हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीको भनाइ छ, ‘हिजोलाई बिर्सिदिनुपर्छ । पवित्र स्थलमा आइन्दा कसैले ताला लगाउने कुचेष्टा गर्नुहुँदैन ।’

त्यतिबेला श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समिति पुनर्गठनसम्बन्धी खोटाङका तात्कालिक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, गुठी संस्थान र हलेसी तुवाचुङ नगरपालिकाबीच त्रिकोणात्मक द्वन्द्व रहेको थियो ।

ताला तोडिएको सटरमा दराज २, टेबल २, प्लास्टिकका कुर्सी ११, काठका कुर्सी २, भित्ते–ऐना १, प्रशंसापत्र ५, फोटो फ्रेम ४, पुरानो पैसाको फ्रेम १ र २९७ वटा पाँच रुपैयाँको नोट रहेको थियो ।

यसैगरी, ५००, १००, ५०, २० र १० का नोट क्रमशः २, १, १, ४ र ३ वटा रहेका छन् । त्यस्तै, भारतीय २० र १० का नोट १÷१ र भारतीय सिक्का ५५ वटा भेटिएका थिए । एक रुपैयाँ एकवटा नेपाली सिक्का पनि भेटिएको थियो ।

अधिया भेटी अन्त्य

हलेसी गुफा प्रवेशद्वारको बायाँपट्टि रहेको गणेश मन्दिरको दानपेटिकामा भक्तजनले चढाएको भेटी समितिले नै संकलन तथा सुरक्षा गर्ने भएको छ । यसअघि त्यहाँ चढाइएको भेटी बाबा उज्जन गिरीले संकलन तथा सुरक्षा गर्थे । गिरीले त्यसबापत आधा भेटी आफैंले राख्थे ।

हलेसीमा शनिबार, साउनका सोमबार र चाडबाडमा भीडभाड लाग्ने भएकाले दर्शनार्थीलाई सहज तरिकाले दर्शन गराउन खटाइने कर्मचारी र स्वयम्सेवकलाई पहिचान गर्न सजिलो होस् भनेर पोसाकको व्यवस्था गरिने भएको छ ।

मन्दिर व्यवस्थापन समिति छिट्टै

चार वर्षदेखि समितिविहीन श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले चाँडै पूर्णता पाउने भएको छ । समितिको कार्यालयमा लागेको ताला सर्वसम्मत रूपमा खोलिनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । ‘अब छिट्टै समितिले पूर्णता पाउँछ,’ हलेसीका एक स्थानीयले भने, ‘मेयर सापले सुझबुझपूर्ण ढंगले छिट्टै समिति पुनर्गठन गर्नुहुनेछ । उहाँको क्रियाशीलताले त्यसो भन्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्