‘५० को माल ७० भनेर ६० मा नबेच्ने’



दुर्छिम (खोटाङ) । तोकिएको समयमै भयो भने अबको २२ दिनमा स्थानीय तह निर्वाचन हुनेछ । स्थानीय तह निर्वाचन हुन २२ दिन बाँकी रहँदा माओवादी केन्द्रले मात्रै हलेसी तुवाचुङ नगरपालिकाको मेयरको उम्मेदवार घोषणा गरेको छ ।

अमेम्बर राईलाई मेयरको उम्मेदवारका लागि सर्वसम्मत चयन गरे पनि माओवादीले उपमेयर र वडागत उम्मेदवार टुंगो लगाउन सकेको छैन । उम्मेदवार टुंगो लगाउन नसक्नुका गुह्य कारण के होला ?

उम्मेदवार टुंगो लगाउन नसक्नुको गुह्य कारण निर्वाचनमा सम्भव भएसम्म गठबन्धन गर्नु नै हो । माओवादीले नेकपा (एस) र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने ‘बटमलाइन’ भएकाले उम्मेदवार टुंगो लगाइहाल्न नसकेको बताइएको छ ।

गठबन्धनको सर्तअनुसार नेकपा एसलाई उपमेयर दिने पक्कापक्की भएको माओवादी हलेसी तुवाचुङ नगर सहइन्चार्ज चइन्द्र राई ‘आक्रोश’ले जानकारी गराए ।

माओवादी र नेकपा एसको रोजाइपछि जसपाले पनि तीन वडाको नेतृत्व आफूहरूले गर्न पाउनुपर्ने प्रस्ताव अघि सारेको छ । ‘हामी ५० को माल ७० भनेर ६० मा बेच्दैनौ,’ जसपा हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष मविन्द्र चाम्लिङ राईले भने, ‘हामीले दुर्छिम, धितुङ र अर्खौले वडाध्यक्ष माग गरेका छौं । हाम्रो अन्तिम बटमलाइन यही हो । बरु उल्लिखित वडाको वडासदस्यका लागि छलफल गर्न सकिन्छ ।’

तीनदलीय गठबन्धनको महत्वपूर्ण वार्ता शुक्रबार हुँदै छ । वार्ताका लागि काठमाडौंबाट जसपा नगर अध्यक्ष मविन्द्र चाम्लिङ राई बिहीबार दिउँसो दुर्छिम पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्