काँग्रेस दुर्छिम वडाध्यक्षका उम्मेदवार रूपेन्द्र राईको उदाहरणीय काम गर्ने प्रतिबद्धता


नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका युवा नेता रूपेन्द्रकुमार राई काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्य हुन् । तरुण दल खोटाङ कोषाध्यक्षसमेत रहेका राईले समाजसेवीको लोभलाग्दो परिचय बनाउँदै छन् । राजनीति भनेको समाजसेवा पनि हो । राजनीतिक समाजसेवामा लागेका काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्य रूपेन्द्रकुमार राईसँग तुवाचुङ डटकमले गरेको कुराकानी :

मेरो खाना

विशेषतः नेपाली खाना दालभात, तरकारी स्वादिष्ट लाग्छ । दालभातसँगै दही, मोही भए झन् राम्रो । सकेसम्म चिल्लो खानेकुरा खान नपरे हुन्थ्यो भन्ने लाग्छ । खानकै लागि महिनामा दुईपटकसम्म काठमाडौंका राम्रै रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा चिल्लो नभएका स्न्याक्स माग्न बिर्सन्न । पकाउन मामिलामा कमजोर छु ।

मेरो पोसाक

‘क्याजुअल’ पोसाक बढी लगाउँछु । सर्ट–पाइन्ट, कुर्तासुरुवाल लगाउन सजिलो पनि लाग्छ । औपचारिक कार्यक्रममा जाँदा दौरासुरुवाल र कोट लगाउने बानी छ । गुलाफी रङका पोसाक रोजाइमा पर्छन् । प्रायः ‘रेडिमेड’ कपडा प्रयोग गर्दै आएको छु ।

मेरो फिटनेस

मोटाएकाले बिहान–बिहान घरमै एक घन्टाजस्तो ‘डान्स’ गर्छु ।

मेरो अध्ययन

पठन संस्कार बसाल्ने प्रयत्न गर्दै छु । महिनामा दुईवटासम्म किताब पढ्ने बानी बसालेको छु । समाजसेवामा लागेपछि पढ्नुपर्दोरहेछ भन्ने ज्ञात भएको छ । किताब संकलन गर्न थालेको छु ।

मेरो घुमफिर

घुमफिरमा असाध्यै रहर छ । मन मिल्ने साथी भएमात्रै घुमघाममा निस्कन्छु । ७७ मध्ये आधाभन्दा बढी जिल्ला पुगेको छु । भारत पनि घुमेको छु । घुमेकामध्ये इलाम असाध्यै मन प¥्यो ।

मेरो फुर्सद

समाजसेवामा लागेको छु । केही न केही काम गरिदिइरहुँजस्तो लाग्छ । धेर–थोर व्यस्त छु । जति नै व्यस्त भए पनि शारीरिक, मानसिक थकाइ लागे पनि मोबाइल ‘अफ’ गरेर कहिल्यै आराम गर्दिनँ । फुर्सद पाइहालेमा साथीभाइ, इष्टमित्रसँग भेटघाट गरेर समय सदुपयोग गर्छु । घरपरिवारलाई समय दिन नसके पनि मेरो बाध्यता बुझिदिएका छन् । परिवारसँग घुम्ने, चलचित्र हेर्न जाने र रेष्टुरेन्ट खान जाने गरेको छैन ।

मेरो खेलकुद

मलाई भलिबल असाध्यै मन पर्छ । एसएलसीसम्म राम्रै खेलियो । हिजोआज पनि कहिलेकाहीं भलिबल खेल्छु । त्यसो त फुटबल र क्रिकेट हेरेर मनोरञ्जन लिने गरेको छु ।

मेरो मोबाइल

एमआईको मोबाइल सेट प्रयोग गरेको छु । यसको २० हजार रुपैयाँ परेको थियो । राम्रै मोबाइल सेट उपहारस्वरूप पाए पनि घरमा दिएँ । मोबाइलका एप्लिकेसनमध्ये सामाजिक सञ्जाल फेसबुक र इमो प्रयोग गर्छु ।

मेरो टेलिभिजन

बिहान टीभी हेर्ने गर्छु । टीभीमा समाचार र अन्तर्वार्ता प्राथमिकतासाथ हेर्छु । मेरो घरमा सोनीको ३२ इन्चको टीभी छ ।

मेरो चलचित्र

चलचित्र खासै हेर्दिनँ । पछिल्लो समय हेरको चलचित्रको नाम बिर्सें । पहिले–पहिले हलसम्म पुगेर चलचित्र हेर्न जाँगर चल्थ्यो । हिजोआज जाँगर चल्दैन ।

मेरो स्वास्थ्य

म स्वस्थ छु । दीर्घरोगले समातेको छैन । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएको छैन । दुब्लाउँदै गएपछि घरपरिवारले ‘होलबडी चेकअप’ गराउन सुझाएका छन् । सकारात्मक सोच, खानपिन र आफूलाई खुसी राख्न सके स्वस्थ रहन सकिन्छ ।

मेरो भाषणशैली

जीवन सिकाइको शृंखला हो । समाजसेवामा लागेपछि भाषण गरिरहनुपर्छ । भाषण गर्न सिक्दै छु । देश–विदेशको प्रसंग जोडेर भाषण गर्न नआए पनि सम्बन्धित गाउँठाउँका स्थानीयले बुझ्ने भाषामा आफूले भन्न खोजेको विषय प्रस्ट्याउने प्रयास गर्छु ।

मेरो मापसे

मादक पदार्थ लिने गरेको छु । ओल्ड दरबार, रेड लेबल खान रुचाउँछु । सामान्यत तीन पेगसम्म लिने गरे पनि कहिलेकाहीँ पाँचसम्म पुग्छ । म एक्लै पिउँदिन । पिउँदा सकेकसम्म फलफूल पनि खाने बानी छ । अहिलेसम्म तीनपटक मात लाग्नेगरी पिएको छु ।

मेरो संगीत

मनोरञ्जनका साधनमध्ये गीत–संगीत पनि एक हो । त्यसैले सुन्छु । राजेशपायल राईको आवाज कर्णप्रिय लाग्छ । पछिल्लो समय गायिका मेलिना राईको आवाज मन नपराउने कमै होलान् ।

मेरो भूल

मानिस भएपछि जोकोहीबाट जान–अञ्जानमा गल्ती हुनु अस्वाभाविक होइन । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । गल्ती गरे पनि आत्मालोचना गरिहाल्छु । भूल नगरे पनि कहिलेकाहीं सजाय पाएको छु ।

मेरो घर

म बस्दै आएको (भक्तपुरको) घर आठ वर्षअघि बनाएको हुँ । घर आफ्नै कमाइले बनाएको हुँ । घर बनाउन त्यतिबेला ३२ लाखजति लागेको थियो ।

मेरो राशी

मेरो राशी तुला हो । ग्रहदशा ठिकै छ । मैले नगरे पनि श्रीमतीजले ग्रहशान्ति गराइरहन्छिन् ।

मेरो सौन्दर्य

कपालमा सामान्य तेल लगाउँछु । फेसियल गर्ने बानी छैन । पफ्र्युम प्रयोग गर्न मन लाग्दैन । हिउँदमा स्टीम बस्ने गरेको छु ।

मेरो प्रेम

मेरो प्रेमबिहे हो । हामीले एकलाई अर्कोले बुझेका थियौं । त्यही भएर प्रेमप्रस्ताव स्वीकृत नहुने कुरै थिएन ।

मेरो सपना

हलेसी–तुवाचुङ नगरपालिकामा उदाहरणीय र सराहनीय काम गर्ने प्रयास गर्दै छु । त्योभन्दा ठूलो सपना देखेको छैन ।

मेरो मृत्यु

मृत्यु अनिवार्य सर्त हो । मृत्युदेखि डर लाग्नु स्वाभाविकै हो । काठमाडौंको चाबहिल चोकमा दुर्घटनामा परेको थिएँ । दुर्घटनामा हात भाँच्चिएको थियो । त्यो क्षण मृत्युको नजिक पुगेको अनुभूति गरेको थिएँ । मृत्यु त्यति छिटो नहोस् भन्ने लाग्छ । मृत्यु सहज होस् । अरूलाई दुःख दिन नपरोस् ।

प्रतिक्रिया दिनुहोस्