एक बोट किवीको आम्दानी २० हजार


जंगल छेवैको पाखोबारी । वर्षमा एकपटक आलु, मकै र कोदो उब्जिन्थ्यो । तीन महिना मरिमेटी काम गर्दा वर्ष दिन कठिनले खान पुग्ने । लगाएको खेतीको उब्जनीभन्दा खर्च धेरै । सम्पूर्ण परिवारले मरिमेटी गर्दासमेत खेतिपातीले घर खर्च चलाउन कठिन हुँदा किसानमा अर्को व्यवसायतर्फ कुनै सोच पलाएको थिएन ।

म्याग्दीको मालिका गाउँपालिका–२ का मोहनबहादुर पुनले जान्ने भएको बेलादेखि नै आफ्नो बारीमा कोदो, मकै र आलुबाहेक केही लगाएका थिएनन् । पहिले बाउबाजेले लगाउँदा देखेकै आधारमा आफूले जान्ने भएपछि पनि त्यही खेती गरे । पछिल्लो समय व्यावसायिक खेतीको प्रचलन बढेपछि पुनले पनि आफ्नो बारीमा लगाउने खेती फेरे । वर्षभरि खान पुग्ने र घर खर्च चलाउन बिक्रीसमेत गर्न मिल्नेगरी उनले फलफूल खेती थाले ।

४२ वर्षीय पुनले मालिकामा रहेको १९ रोपनी पाखोबारी र खेतमा समेत किवीखेती सुरु गरेका छन् । परम्परागत खेती परिवर्तन गरेका उनले किवीबाट राम्रो आम्दानी हुन थालेपछि निकै हौसिएका छन् । २०७४ मा ८० हजार लगानी गरेर उनले किवीखेती थाले । पहिलो वर्ष २१ हजार आम्दानी गरेका उनले अहिले लाखौं कमाउन थालेका छन् । ‘कोदो, आलु र मकैबाट खानमात्रै मुस्किलले पुग्थ्यो,’ उनले भने, ‘अहिले सबै खर्च चलाउने पैसा किवीले कमाउँछ ।’ उनले गाउँमै पहिलोपटक किवीखेती सुरु गरेका हुन् ।

अहिले उनको बारीमा झन्डै २०० किवीका बोट छन् । आम्दानीको राम्रो स्रोत देखेपछि उनले किवी खेतीलाई व्यावसायिक बनाउने सोच बनाएको बताए । एउटा किवीको बयस्क बिरुवाले राम्रो उब्जाउ दिँदा २० हजार बढीको दाना फल्छ । किवीको बजार मूल्यसमेत राम्रो रहेकाले उनले बर्सेनि लाखौं आम्दानी गर्छन् । किवीखेतीप्रति गाउँका अरू किसानले समेत उत्साह देखाएको उनले सुनाए ।

किवीखेतीका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले उनलाई तीन लाख अनुदान दिएको छ । उनले गाउँमा किवीसँगै टनेलमा गोलभेंडा खेती गर्ने गरेका छन् । ‘हामीले हाम्रो माटो सिञ्चिन नजानेकाले आम्दानी नभएको रहेछ,’ उनले भने, ‘खेती प्रणालीमा परिवर्तन गर्दा राम्रो कमाउन सकिँदोरहेछ भन्ने बुझेको छु ।’

किवी खेतीका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग गरेकाले उनलाई सजिलो भएको हो । म्याग्दीको अधिकांश भू–भागमा किवीको खेती राम्रो हुने कृषि विज्ञहरू बताउँछन् । समयमा बिरुवा पाउने र उचित सल्लाह पाउने किसानले यहाँ किवीको व्यावसायिक खेती गर्न सकिने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्