नागा राजाको त्यो मुकाम


नागा राजाको दरबारको भग्नावशेष रहेको नगरकोट । तस्बिर : रामजी राई

हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा दाम्लीको नगरकोटमा रहेको दरबारको भग्नावशेष पुरिँदै गएको छ । दरबारको भग्नावशेष गोलाकार देखिन्छ । नगरकोट (दाम्ली) का स्थानीय शासकका नाम लिइने गरे पनि त्यहाँबाट सत्ता सञ्चालन गरिएको दरबार एकादेशको कथा बन्दै गएको छ ।

सामरिक दृष्टिले नगरकोट उपयुक्त ठाउँ मानिन्छ । त्यसैले स्थानीय शासकले यो ठाउँलाई सत्ता सञ्चालन गर्न उपयुक्त ठाने । नगरकोटमा रहेको दरबार नागा राजाको रहेको साबिक डिकुवा गाउँ विकास समिति पूर्वअध्यक्ष लालकेशर राईको भनाइ छ । डिकुवा गाविस पूर्वअध्यक्ष राई भन्छन्, ‘नागा राजाको दरबार रहेको ठाउँबाटै नगरकोट नाम रहन गएको हो ।’ तर, पृथ्वीनारायण शाहले नेपाल एकीकरणअघि नै स्थानीय सत्ता हडपिएको बताइन्छ ।

नगरकोटबाट पश्चिमबाट कुर्लेघाट, डिकुवा नर्सरी हुँदै बग्दै झरेको सुनकोसी दक्षिणतिर भुम्जु, छोम्पाङबाट सप्तकोसी भेट्न हतारिएको देखिन्छ । दक्षिणतिर उदयपुरको भालेबास हुँदै महाभारत डाँडासम्म प्रस्ट देखिने नगरकोटबाट उत्तरतिर आँखा लगाउँदा लिब्जु (ओखलढुंगा) मात्रै होइन, सगरमाथालगायतका हिमशृंखला प्रस्टै देखिन्छन् ।

नगरकोट । तस्बिर : रामजी राई

भग्नावशेष दरबारको दक्षिणतर्फ एक सय मिटर तल सुरुङजस्तो गुफा छ । त्यहाँ ढुंगा खसाउँदा खर्कुंडामा ढुंगा खसाएजस्तो आवाज निस्कने साबिक डिकुवा गाउँ विकास समिति पूर्वउपाध्यक्ष धनसुन्दर राईले सुनाए ।

‘नागा राजाहरू नगरकोटबाट भाग्दा दरबारको महत्वपूर्ण सामग्री तथा खरखजना त्यही सुरुङमा फालेर भागेका थिए, ‘डिकुवा गाविस भूपूअध्यक्ष राईले भने, ‘मैले पनि पुर्खाहरूबाटै सुनेको हुँ ।’

नागा राजाको त्यो दरबबार र दरबारआसपास उत्खनन गर्न सके केही न केही तथ्य फेला पार्न सकिने स्थानीय विभिन्न राजनीतिक दलसम्बद्ध नेताहरूको बुझाइ छ ।

‘संवत् २००७ सालपहिले हाम्रो (डिकुवा, बाहुनीडाँको) मुकाम ओखलढुंगाको मानेभञ्ज्याङमा थियो,’ स्थानीय आइबहादुर राईले भने, ‘त्यहाँ पड्कने तोपले हाम्रोतिर समेत थर्कने गरी सुनिन्थ्यो ।
एकताका बाहुनीडाँडा, च्यास्मिटार र डिकुवाको मुकाम भुम्जु थियोे । भुम्जुमा हुने बैठक तथा सम्मेलनमा डिकुवाका थुप्रैले भाग लिएका थिए ।

रणबहादुर खड्का (हाँके बाजे)

आइबहादुर राईको ठूलोबुवा (बडाबाउ) को छोरा मेघबहादुर राई ‘साहुबुढा’ जिम्मावाल थिए । बडिमान राईका जेठा छोरा बेलायती सेनासमेत रहेका स्व. दुर्जबहादुर राईले पनि कार्यवाहक जिम्मावाल चलाए ।

दाम्लीमा राई र खड्काको बसोवासबारे पंक्तिकारले खानीगाउँनिवासी रणबहादुर खड्का (हाँके बाजे) सँग जिज्ञासा राखे । ‘राईहरूको बाजे बर्म राई किसान थिए । राईले भैंसीसमेत पाल्थे,’ खड्काले बेलिविस्तार लगाए, ‘खड्काहरूको बाजे बदल खड्का हुन् । घुमफिर गर्दै दाम्ली पुग्दा बदलले दाम्ली माध्यमिक विद्यालय पूर्वतर्फको आहालमा भैंसीका बथानलाई पानी खुवाउँदै गरेको अवस्थामा बर्म राईलाई देखे । बदल र बर्म पहिलोपटक भेटघाट र चिनजान गरे । दुवैको नाम ‘ब’ बाट सुरु भएकाले मित लगाए ।’

मित लगाएपछि के साट्ने भनेर बदललाई चिन्ता लाग्नु स्वाभाविकै थियो । सोच्दासोच्दै उनले बर्मलाई लठ्ठी उपहार दिए । बर्म राई सम्पन्नशाली । वरपरका गाउँमा नाउँसमेत चलेका व्यक्ति । खड्काभन्दा उमेरमा पनि पाको । त्यत्तिकै दयावान । ‘बदलले मितज्यू मसँग केही छैन । म हजुरलाई लठ्ठी उपहार दिन्छु । मलाई यही गाउँमा बस्न र एक माउ भैंसी दिनूस् न । म भैंसी पालेर बस्छु,’ हाँके बाजेको कथन थियो, ‘मित खड्काले यस्तो प्रस्ताव सुनेपछि खुसीले मित राईको छाती चौडा भयो । गाउँमा जनसंख्या थपिने कुराले उनी खुसी भए । अन्ततः भैंसी र लठ्ठी साटासाट गर्दै मित लगाइयो । रहँदा बस्दा बर्म राईले मितलाई दाम्लीमै बसोवास गर्ने खोरिया उपलब्ध गराएपछि खड्का समुदायले डिकुवामा जरोकिलो गाडे ।’

हाँके बाजेका अनुसार बर्म राई जिम्मावाल मेघबहादुर राई खलक थिए । उनले आइबहादुर राई र मेघबहादुर राई दाजुभाइका छोरा हुन् भन्दा पंक्तिकार घोत्लिए ।

प्रतिक्रिया दिनुहोस्