दल दर्ताको इतिहास



काठमाडौं । नेपालमा राजनीतिक दल गठनको थालनी संवत् १९९३ देखि भए पनि राजनीतिक दलले पछिसम्म वैधानिक मान्यता पाउन सकेनन् । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएको ००७ क्रान्तिको सफलतापछि नेपालको अन्तरिम शासन विधान–२००७ बाट राजनीतिक दलले वैधानिक मान्यता पाएका हुन् ।

मुलुकमा १९९३ जेठ २० गते प्रजापरिषद् नामक राजनीतिक दल गठन भएको हो । आयोगका अनुसार त्यसपछि क्रमशः २००३ मा नेपाली राष्ट्रिय काँग्रेस, ००५ मा नेपाली काँग्रेस, ००६ मा नेपाल कम्युनिस्ट पार्टी र ००७ मा गोर्खा परिषद्लगायतका दल गठन भएका थिए ।
मुलुकमा ०१५ मा भएको पहिलोदेखि हालसम्म निर्वाचनमा भाग लिने प्रयोजनका लागि विभिन्न राजनीतिक दल आयोगमा दर्ता भएका छन् । हाल ११९ राजनीतिक दल दर्ता भई अस्तित्वमा रहेको आयोगले जनाएको छ ।

नेपाल अधिराज्यको संविधान–२०१५ द्वारा नेपाली जनतालाई दल दर्ता गर्न पाउने भनी संविधानद्वारा मौलिक अधिकार प्रत्याभूत गरेको थियो । त्यसपछि ०१७ मा पञ्चायती व्यवस्था घोषणा भई दलमाथि प्रतिबन्ध लगाइयो ।

मुलुकमा प्रजातन्त्रका लागि राजनीतिक सक्रिय रही संघर्ष गरेकाले ०४६ मा जनआन्दोलन सफल भई प्रजातन्त्र पुनर्बहाली गर्न सम्भव भएको हो । नेपाल अधिराज्यको संविधान–०४७ ले राजनीतिक दल दर्ता गर्न पाउने नेपाली नागरिकलाई मौलिक हकको प्रत्याभूत गर्यो ।
सोहीक्रममा राजनीतिक दललाई नियमन गर्न निर्वाचन आयोग ऐन–२०४७ निर्वाचन (कसुर र सजाय) ऐन–२०४७, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०४७ लागू भयो । मुलुकमा नयाँ शासन व्यवस्था सिर्जना भएपछि आवश्यकता र परिस्थितिअनुरूप निर्वाचन सञ्चालनलाई व्यवस्थित तुल्याउन, लोकतन्त्र सुदृढीकरण गर्न दलसम्बन्धी विभिन्न कानुन निर्माण गरी लागू हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्