यसकारण चाम्लिङ खाम्बातिमको पाँचौं राष्ट्रिय सम्मेलन विशेष


काठमाडौं । किरात राई चाम्लिङ खाम्बातिमको पाँचौं राष्ट्रिय सम्मेलन सुनसरीको धरानमा हुने भएको छ ।

‘संविधानमा लिपिबद्ध अधिकार आन्दोलनका उपलब्धि हुन्, चिनेर कार्यान्वयन गरौं/गराऊँ, चाम्लिङ भाषालाई प्रदेश, स्थानीय तहको भाषा बनाऊँ, विद्यालयमा मातृभाषामा पठनपाठन गरौं/गराऊँ’ भन्ने नारासहित खाम्बातिमको पाँचौं राष्ट्रिय सम्मेलन फागुन २८, २९ र ३० गते धरानमा हुन लागेको हो ।

‘खाम्बातिमको पाँचौं राष्ट्रिय सम्मेलन विशेष हुनेछ,’ किरात राई चाम्लिङ खाम्बातिम अध्यक्ष युवराज राईले भने, ‘सम्मेलनमा चाम्लिङ राई समुदायका सबै पाछाको सम्भव भएसम्म पाँचजना प्रतिनिधि उपस्थित गराउने प्रयत्न गरेका छौं । यसअघि त्यस्तो व्यवस्था थिएन ।’

२० जिल्लामा खाम्बातिमको जिल्ला, पालिका र वडास्तरीय ७० वटा कार्यसमिति बनेका छन् । कार्यसमिति बन्नेक्रम जारी छ । कार्यसमिति नबनेका जिल्ला, पालिका र वडाका पाछागत प्रतिनिधिसमेत सम्मेलनमा सहभागी हुन पाउनेछन् । यसले चाम्लिङ राई समुदाय कहाँ–कहाँ बसोवास गर्छन् ? उनीहरूको जनसंख्या कति रहेछ ? भनेर थाहा पाउन सजिलो हुने किरात राई चाम्लिङ खाम्बातिम अध्यक्ष राईको भनाइ छ ।

पाँचौं राष्ट्रिय सम्मेलन हुँदै छ भनेर थाहा पाएपछि २५० भन्दा बढी पाछाका चाम्लिङ राई खाम्बातिमको सम्पर्कमा आएका थिए । त्यसमध्ये १५० पाछाको सम्मेलनमा सहभागी रहने अनुमान गरिएको ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकास्तरीय चाम्लिङ खाम्बातिम कार्यसमिति गठनपछि तस्बिर खिचाउँदै ।

‘पाछागत रूपमा सहभागी गराउँदा छरिएर रहेका पाछाको भेटघाट गर्ने अवसर हुनेछ । एउटै पाछा भए पनि विभिन्न जिल्लामा बसोवास गर्नेको भेटघाटपछि गर्न सक्ने पहिलो काम वंशावली निर्माण हो,’ खाम्बातिम अध्यक्ष युवराज राईले खुसी व्यक्त गरे, ‘त्यससँगै पाछागत संस्था निर्माण गर्न सजिलो बन्नेछ । पाँचौं राष्ट्रिय सम्मेलनमा सहभागीले टाढिएर बसेका र बिस्तारै बिर्सिंइँदै गएकाको पाछागत सम्बन्ध नवीकरण हुनेछ ।’

सम्मेलनमा बेलायत, हङकङ, भारतका सिक्किम, दार्जिलिङ, विहारमा बसोवास गर्ने चाम्लिङ राई समुदाय सहभागी रहने किरात राई चाम्लिङ खाम्बातिमले जनाएको छ । सम्मेलनमा पाँच हजारभन्दा बढीको सहभागी रहने अनुमान गरिएको छ ।

किरात राई चाम्लिङ खाम्बातिमको तीनदिने राष्ट्रिय सम्मेलन अर्थपूर्ण बन्नेछ । त्यत्तिकै महत्वपूर्ण पनि ।

पहिलो दिन

सुनसरीको धरान सैनिकचोकमा रहेको किरात राई यायोक्खा जिल्ला कार्यसमितिको भवनदेखि १२ः३० बाट र्याली निकालिनेछ । धरान परिक्रमा गरेर भानुचोकमा पुगेपछि र्याली सभामा परिणत हुनेछ ।

सोही दिन प्रमुख अतिथिबाट मुन्दुमको तेस्रो भाग ‘होसुङ’ विमोचन गरिनेछ । मुन्दुमको पहिलो र दोस्रो भाग पहिल्यै सार्वजनिक भइसकेको थियो ।

किरात राई चाम्लिङ खाम्बातिमको झन्डा ।

पहिलो दिनको कार्यक्रम सम्पन्न भएपछि साँझ ७ बजेपछि यायोक्खाकै हलमा सहभागीको ‘रजिष्ट्रेसन’ गरिनेछ । सम्मेलनमा सहभागीलाई झोला, डायरी, डटपेन र कार्यपत्र थमाइनेछ । त्यसपछि सहभागीलाई सवारीसाधनबाट उनीहरू बसेको होटल–होटलमा पुर्याइनेछ ।

दोस्रो दिन

सम्मेलनको दोस्रो दिन बिहान ८ बजे यायोक्खाकै भवनमा उपस्थित भइसक्नुपर्नेछ । दोस्रो दिन सातवटा कार्यपत्र प्रस्तुत गरिनेछ । किरात राई प्रज्ञा परिषद् कुलपति जयकुमार राई, मुन्दुम अध्येता भोगीराज चाम्लिङ, डा. तारामणि राई, डा. कैलाशकुमार राई, पूर्वउपसचिव झुमप्रसाद राई, किरात राई यायोक्खा केन्द्रीय समिति महासचिव जनक राई र शालिक शतासकले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्रमाथि गहन छलफल हुनेछ ।

सोही दिन किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय समितिको सांगठनिक र आर्थिक प्रतिवेदन पेस गरिनेछ । वडा, पालिका, जिल्ला, पाछागत र खाम्बातिम विदेश शाखाले समेत प्रतिवेदन पेस गर्नेछन् ।

तेस्रो दिन

सम्मेलनको तेस्रो दिन किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय समितिको नयाँ कार्यसमिति चयन गरिनेछ । सम्मेलनले केन्द्रीय समितिको विधान संशोधन गरी महासंघको ढाँचामा नयाँ कार्यसमिति चयन गर्ने खाम्बातिम अध्यक्ष राईले जानकारी गराए । सम्भव भएसम्म प्रत्येक पाछाबाट एकजना केन्द्रीय कार्यसमितिमा समेटिनेछ ।

किरात राई चाम्लिङ खाम्बातिमको पाँचौं राष्ट्रिय सम्मेलन यसरी भव्य रूपमा सम्पन्न हुनेछ । राष्ट्रिय जनगणना २०६८ अनुसार किरात राई चाम्लिङ समुदायको जनसंख्या ७६ हजार ८०० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्