मौसम पूर्वानुमान गर्ने छाता



दुर्छिम (खोटाङ) ।  मौसम विज्ञान विभागले गर्ने मौसमसम्बन्धी भविष्यवाणीलाई धेरैले ठट्टाको विषय बनाउने गरेका छन् । पुरानो स्रोत–साधनको सहयोगमा मौसमसम्बन्धी भविष्यवाणी गर्नुपर्ने भएकाले हुन सक्छ– कतिपय अवस्थामा भविष्यवाणी गलतमात्र होइन, ठीक उल्टो हुने गरेको छ ।

यही कारण नेपालीहरू मौसम विज्ञान विभागको मौसमसम्बन्धी पूर्वानुमान सुनेपछि ठट्टा गर्दै भन्छन्, ‘लु आज मौसम विज्ञान विभागले पानी पर्छ भन्यो, आज घाम लाग्ने रहेछ । अथवा लु आज मौसम विज्ञान विभागले घाम लाग्छ भन्यो, पानी पर्ने रहेछ ।’

अर्को पनि ठट्टा प्रचलित छ, ‘नेपालमा मौसम विज्ञान विभागको भविष्यवाणी र नेपाली राजनीतिकर्मीको भर हुँदैन ।’ यी त केवल ठट्टाका कुरा हुन् । गम्भीर कुराचाहिँ हो– अम्ब्रेला अर्थात् मौसमसम्बन्धी एकदम सही पूर्वानुमान गर्ने छाता । यो छाताले घामपानी छेक्छ र मौसमसम्बन्धी पूर्वजानकारी पनि दिन्छ । भनेपछि यो छाता किन्नु भनेको दुई हातमै लड्डु हुनुजस्तै हो ।

यो सामान्य नभएर स्मार्ट छाता हो । तपाईंसँग स्मार्ट फोन छ र त्यसमा एन्ड्रोइड र आईओएस एप्स छ भने अम्ब्रेलाले तपाईंलाई मौसमसम्बन्धी जानकारी दिन्छ । स्मार्ट छाताले मौसमसम्बन्धी जानकारीचाहिँ एकदम सही बताउने विज्जुबाट प्राप्त गर्छ । कथंकदाचित तपाईंले अम्ब्रेला कुनै ठाउँमा छोड्नुभयो भने मलाई छोड्यौ, सँगै लैजाऊ भनेर तुरुन्त स्मार्ट मोबाइलमा जानकारी दिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्