कामै नगरी एगिन्द्रले ३ जनाको हाजिरा मागेपछि हलेसी तुवाचुङवासी तीनछक


हलेसी, ऐंसेलुखर्क (खोटाङ) । कामै नगरी दैनिक हाजिरा माग्न मिल्छ कि मिल्दैन ? अवश्य काम नगरी ज्याला (पारिश्रमिक) माग्न मिल्दैन । मिल्दै नमिल्ने काम गरेर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ऐंसेलुखर्कनिवासी एगिन्द्र राईले फेरि दुनियाँलाई हँसाएका छन् ।

कामै नगरी दैनिक हाजिरा मागेर राईले दुनियाँलाई पेट मिचीमिची हँसाउन सफल भएरै छाडेपछि हलेसीमा उनलाई हँसिमजाक गर्दै उडाउनेको कमी छैन । उनले हलेसी–रेग्मीटार ग्रामीण सडक निर्माण उपभोक्ता समितिका सचिव दीपेन्द्र बस्नेतलाई कामै नगरी हाजिरा मागेको खुलासा भएको छ ।

कामै नगरी हाजिरा मागेको विषय एक कान, दुई कान हुँदै मैदान भयो । मैदान भएपछि हाजिराको विषय सतहमा आउने नै भयो । सो विषय सतहमा आएपछि लाजमर्दो हुने नै भयो । एक कान, दुई कान मैदान भएको विषयलाई पुष्टि गर्न यो संवाददाताले हलेसी–रेग्मीटार ग्रामीण सडक निर्माण उपभोक्ता समिति अध्यक्ष लम्बर राईलाई टेलिफोन गरेको थियो । अध्यक्ष राईले टेलिफोनमा भने, ‘एगिन्द्रले समिति सचिव दीपेन्द्र बस्नेतसँग हाजिरा मागेका हुन् । उतै बुझ्नुहोस् न है ।’

यो पनि पढौं : उदाहरणीय उद्यमीको उद्दण्ड उस्तै

सचिव दीपेन्द्र बस्नेतलाई समाचार पुष्टि गर्न टेलिफोन गर्न बाँकी नै थियो । यो संवाददाताले बस्नेतलाई फोन गर्नुपर्नेमा उनले आफैं टेलिफोन गरेका थिए । बस्नेतले लगातार तीनपटक टेलिफोन गरेको यो संवाददाताले अलि ढिलोगरी थाहा पाए । उनले टेलिफोन गरेको भोलिपल्ट ‘कलव्याक’ गर्दा बस्नेत असहज तरिकाले प्रस्तुत भए । एगिन्द्र राईको समाचार प्रकाशित हुँदै छ भनेर चाल पाएपछि बस्नेतले आत्तिँदै विषयान्तर गरे । समिति अध्यक्ष राईले नै समिति सचिव बस्नेतसँग हाजिरा मागेको भन्ने, बस्नेतले मसँग एगिन्द्रले हाजिरा माग्यो भनेर कसैकसैलाई भन्दै हिँड्ने तर समाचार प्रकाशित हुने भएपछि होइन भनेर पानीमाथिको ओभानो बन्न असफल प्रयास गरेपछि बस्नेतको दोहोरो चरित्र छताछुल्ल हुन पुग्यो ।

होइन भने, बस्नेतले आत्तिँदै यो संवाददातालाई लगातार तीनपटक टेलिफोन किन गरे ? आफूले बिगारिसकेको काम टालटुल गर्न उनले टेलिफोन गरेका थिए भन्न कुनै आइतबार कुर्नुपर्दैन ।

त्यतिमात्रै होइन, एगिन्द्र राईले समेत यो संवाददातालाई टेलिफोन गरेका थिए । राईले भने, ‘मेरो समाचार आउँदै रहेछ, ठिकै छ ।’ समाचार पुष्टि गर्न यो संवाददाताले बस्नेत र राईलाई टेलिफोन गर्नुपर्ने तर उनीहरूले आफैं हतार–हतार टेलिफोन गर्नुको पछाडि शंका गर्ने ठाउँ प्रशस्त छन् ।

हावा नचली पात हल्लिँदैन भन्ने नेपाली उखान प्रचलित छ । यसो भन्दा पंखा (फ्यान) चलाएर पनि पात हल्लाउन सकिन्छ नि भन्नेहरूको कमी छैन । तर, हलेसीमा पंखा (फ्यान) चलाएर पात हल्लाउन सम्भव छैन भनेर जानिफकारहरूले बोल्दै आएका छन् । हुन पनि हो । त्यो त्यति सम्भव पनि छैन ।

‘एगिन्द्र राईले निर्माण उपभोक्ता समिति सचिवलाई आफूलगायत दैनिक तीनजनाको हाजिरा राखिमागेका थिए,’ समाचार स्रोतले हाकाहाकी भने, ‘मैले यो विषयमा कहाँ बोल्नुपर्छ । म बोल्न तयार छु । उहाँले कामै नगरी तीनजनाको हाजिरा राखिमाग्नुभएकै हो । तीनैजनाको हाजिराबापतको रकम आफूलाई नै दिनुपर्ने एगिन्द्र राईले समिति सचिव बस्नेतसँग माग गरेका थिए ।’

कामै नगरी हाजिरा माग्ने एगिन्द्र राईले हलेसी–रेग्मीटार ग्रामीण सडक स्तरोन्नति चित्तबुझ्दो नभएको भन्दै पटक–पटक बखेडा झिक्न खोजेको हलेसी–रेग्मीटार ग्रामीण सडक निर्माण उपभोक्ता समितिका जिम्मेवार पदाधिकारीले मुख खोले ।

सडक बोर्डको २५ लाख र हलेसी तुवाचुङ नगरपालिकाको ११ लाख रुपैयाँमा हलेसी–रेग्मीटार ग्रामीण सडक स्तरोन्नति थालिएको थियो । ३१ लाख रुपैयाँमा दुई सय मिटर सडक स्तरोन्नति भएको समिति सचिव बस्नेतले जानकारी गराए । स्तरोन्नति गरिएको दुई सय मिटर सडकअन्तर्गत सोलिङ गरिएको र नाली बनाइएको उनले स्वीकारे । त्यो बाटो भएर हिँड्नेहरूका अनुसार दुई सय मिटरमै नालीचाहिँ बनाइएको छैन ।

श्रमदानसहित ४२ लाख रुपैयाँमा सम्पन्न गर्नुपर्ने स्तरोन्नतिको काम अहिले बन्द रहेको छ ।

नेपाल तरुण दल हलेसी तुवाचुङ नगरपालिका सचिवसमेत रहेका एगिन्द्र राईले छिमेकीको जग्गा कीर्ते गरी बेचेर ७ लाख रुपैयाँ कुम्ल्याएका थिए । राईले भूपसेर राईको भागबन्डा नगरिएको जग्गा कीर्ते गरेर मारातिका गुम्बा हलेसीकी डोमा शेर्पालाई १० लाख रुपैयाँमा बेचेर जग्गाधनीलाई तीन लाख रुपैयाँमात्र दिएको खुलासा भएको छ । जग्गाधनीलाई उकासेर सगोलमा रहेको जग्गा बेच्न उनले थुप्रै पापड बेलेको स्थानीय तथा जग्गा हक–दाबी गर्न पाउनेहरू हाकाहाकी बताउँछन् ।

कीर्ते गरेर जग्गा बेचेको विषयमा तुवाचुङ डटकमको खोजीकार्य जारी राखेको छ । पाठकवृन्द, सो विषयमा विस्तृत अध्ययन गरेर समाचार प्रकाशित गरिनेछ ।

समाचार स्रोतका अनुसार, एगिन्द्र राईलाई हलेसीमा निर्माण हुन लागेको धारासम्बन्धी ठेक्का दिन लागिएको छ । राईजस्ता व्यक्तिलाई योजना तथा परियोजना दिइए कस्तो नतिजा आउला भनेर हलेसी बजारवासी हेर्न आतुर छन् ।

प्रतिक्रिया दिनुहोस्