भियतनामी कम्युनिस्ट नेता हो चि मिन्हको जस्तै जुँगादाह्री । संघर्षको कथा पनि त्यस्तै । सबैका प्यारो । सबैका आदरणीय माइला दाइ अर्थात् गणेश राई भौतिक रूपमा हामीबीच छैनन् । २०७० मंसिर १५ गते ६१ वर्षको उमेरमा कलेजो क्यान्सरका कारण राईको निधन भएको थियो ।
मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा सहभागी भएर खोटाङबाट फर्केलगत्तै काठमाडौंको धापासीमा रहेको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भेट्न पुग्दा गणेश राई आफन्तको बाक्लो उपस्थितिबीच ह्वीलचेयरमा थिए । उनलाई चम्चाको सहाराले झोल खानेकुरा खुवाइँदै थियो । केहीबेरपछि क्याबिनमा फर्काइयो । र, हामी पनि पस्यौं । टेलिभिजनमा संविधानसभा परिणामबारे समाचार लगातार आइरहेको थियो । खासिएको स्वरमा उनले निर्वाचनकै बारेमा कुरा उप्काए, ‘के छ खोटाङको खबर ?’ हामीले पार्टी प्रतिनिधि र निर्वाचन अधिकृतलाई सदरमुकामतिर पैदल हिँडाएर सेनाले हुर्लुङको क्याम्पमा मतपेटिका एक/डेढ घन्टा राखेको, खोटाङ क्षेत्र नम्बर २ को दुर्गम क्षेत्रबाट मतपेटिका बोकेर पाँच मिनेटमा सदरमुकाम आइपुग्ने हेलिकोप्टर तीन घन्टापछि आइपुगेको, दुईथरी मतपत्र भेटिएको र समानुपातिक निर्वाचनको मतगणनामा तात्कालिक संघीय समाजवादी पार्टीका प्रतिनिधिलाई प्रवेश निषेध गरिएको कुरा बतायौं । उनले बडो सकससाथ भने, ‘यस्तो अवस्था आउनेबारे बेलैमा सचेत हुनुपथ्र्यो ।’
संविधानसभा निर्वाचन परिणामबारे उनी लगातार ‘अपडेट’ थिए । अस्पतालको ‘बेड’ बाट आफैं टीभी हेर्थे । तर कुरुवा बसेकालाई सोधिरहन्थे, ‘एमाओवादी र संघीय समाजवादीको परिणाम के छ ?’ विशेषतः नेपाली समाजलाई अग्रगामी परिवर्तनको राजनीतिक एजेन्डासहित नेतृत्व गरिरहेका दलहरूको अप्रत्याशित पराजयपछि चिन्तित थिए ।
निर्वाचनका लागि खोटाङ जानुअघि पनि हामी (केही युवा) उनलाई भेट्न गएका थियौं । कुराकानी राजनीतिकै बारेमा भएको थियो । उनले उत्पीडित जातिको पहिचान र गरिबको पक्षमा रहेका पार्टीलाई जिताउनेगरी गाउँमा भूमिका खेल्न सुझाए । हामीले त्यहीअनुसार सक्दो काम पनि ग¥यौं । तर, राज्य स्वयम् धाँधलीमा उत्रिएपछि जनमतको जे हविगत हुन्छ ? त्यही भयो । यसको अर्थ गणेश राईले देखेको न्यायसहितको परिवर्तनको सपना सदाका लागि थान्को लाग्यो भन्ने कदापि होइन ।
गणेश राईको पछिल्लो सपना थियो– युवा पुस्ताको नेतृत्व तयार गर्ने । उनले एक दिन भनेका थिए रे, ‘युवा पुस्ताको नेतृत्व तयार गर्ने सपना थियो । तर, अगाडि नै मर्ने भएँ कि क्या हो !’ गाउँका युवाको राजनीतिप्रति आकर्षण देख्दा यति भन्न सकिन्छ– उनले देख्न नपाए पनि यो सपना पूरा हुनेछ । मृत्युबारे लगभग सुसूचितजस्तै भएपछि पनि रोगबारे होइन देश, राजनीति, परिवर्तन र न्यायबारे चिन्तनशील थिए । समग्र जीवन राजनीतिमा बिताएका गणेश राईका लागि मृत्युचिन्तनभन्दा समाजचिन्तन बढी गहकिलो विषय हुनु स्वाभाविकै हो ।
पछिल्लो समय नेता राई तात्कालिक संघीय समाजवादी पार्टीको केन्द्रीय अनुशासन विभागको भूमिकामा थिए ।
खोटाङमा जन्मेका नेताहरूमध्ये आजसम्म राजनीतिक, आर्थिक भ्रष्टताको प्रश्न नउठाइएका नेताहरूमध्ये एक थिए– गणेश राई । त्यसकारण त उनलाई अनुशासन विभागको जिम्मा दिइएको थियो । उनले आफू नेकपा (एमाले), नेकपा (माले) को जिल्लाको शीर्षस्थ नेतृत्व तहमा रहँदा पदको दुरुपयोग गरेर पारिवारिक लाभका लागि काम गरेको कहिल्यै देखिएन (नाम नतोकौं तर केही नेताले पदको दुरुपयोग गरेर ऐस–आरामको जिन्दगी बिताइरहेको देखिएकै छ) । समाज र राजनीतिभन्दा माथि राखेर उनले व्यक्तिगत जीवन र परिवारबारे सोचेको अथवा त्यस्तो व्यवहार गरेको कहिल्यै देखिएन । समाज जुन अवस्थामा छ, उनले व्यक्तिगत र पारिवारिक जीवनलाई त्योभन्दा माथि राखेको कहिल्यै देखिएन । यस अर्थमा गणेश राई समाजका लागि उदाहरणीय र अब्बल व्यक्तित्व हुन् ।
पञ्चायती निरंकुशताविरुद्ध जेलनेल खेपेर संवत् ०४६ पछि खुला राजनीतिमा आउँदा कम्युनिस्ट पार्टी र विचारलाई स्थापित गर्न उनले गरेको मिहिनेत राजनीतिप्रतिको उनको उच्चत्तम निष्ठा थियो । उनी माइक आफैं बोक्थे, मञ्च बनाउँथे, जनताले दिए खान्थे नत्र भोकभोकै हिँड्थे ।
तात्कालिक नेकपा (एमाले) गणेश राई र गणेश राईहरूजस्ता नेता–कार्यकर्ताको रगत र पसिनाको जगमा खडा भएको पार्टी हो । तर, पछिल्लो समय एमाले वामपन्थी विचार र राजनीतिबाट टाढिएको, राष्ट्रघाती काम गरेको र अग्रगामी परिवर्तनको नेतृत्व गर्न नसक्ने पार्टीमा परिणत भएको गणेश राईको विश्लेषण थियो । महाकाली सन्धि राष्ट्रघात हो भनेर पार्टीविरुद्ध पहिलोपटक निर्णय गर्ने एमालेको जिल्ला कमिटी खोटाङको एक नेता थिए– गणेश राई । खोटाङे युवाले महाकाली नदीको पानी ल्याएर राष्ट्रघातविरुद्ध पार्टी कार्यालयमा झुन्ड्याएका थिए, त्यो बोतलको पानीसँगै गणेश राईको विम्ब आँखासामुन्ने झलझली आइरहेको छ ।
पार्टीभित्र र बाहिर प्यारोसँग बोलाइने ‘माइला दाइ’ अर्थात् नेपाली होचिमिन्ह हामीबीच छैनन् । हार्दिक श्रद्धाञ्जली माइला दाइ ।