भाग्यवाद र विकास



म खासमा एमए पढेर अर्थशास्त्री बन्ने उद्देश्य लिएर खोटाङबाट काठमाडौं हान्निएको थिएँ । तर, काठमाडौं आइपुग्दा त्रिुभवन विश्वविद्यालयमा भर्नाको समय सकिइसकेको रहेछ र एक वर्ष त्यसै के बस्नु भनेर ‘नेपाली साहित्य’ भनिने ‘खस साहित्य’ पढें । त्यो पढाइले जिन्दगीमा गरिखानचाहिँ अलिअलि मद्दत पुगेकै छ अहिले ।

म पढ्थें साहित्य तर धेरैजसो किताब किन्थें इतिहास, समाज र संस्कृतिबारेको । म लेख्थें साहित्यबारे तर मलाई विश्वविद्यालयीय ढर्राको सपाट ‘टाइप’को साहित्यिक समालोचना लेख्न मनै लाग्दैनथ्यो । म साहित्यमार्फत समाज, इतिहास, संस्कृति केलाउन खोज्थें । मलाईचाहिँ ‘समालोचकहरू’ साहित्यभित्रै हराए; त्यहाँबाट समाजसम्म, इतिहाससम्म, संस्कृतिसम्म पुग्नै सकेनन् भन्ने लाग्थ्यो । खासमा अहिले बुझ्दा मेरो औपचारिक पढाइ र मेरो भित्री रुचिको अन्तरद्वन्द्वको परिणाम त्यो रहेछ ।

त्यतिबेला बोर्डिङ स्कुलमा मास्टरी गरिन्थ्यो । तलब पाउनुभन्दा पहिले नै पैसा सकिसकेको हुन्थ्यो । बडा दुःखजिलो गरेर अलिअलि किताब किनिन्थ्यो । तर, डोरबहादुर विष्टको ‘फ्याटालिजम एन्ड डिभलपमेन्ट’ चाहिँ दर्जनौंपटकको जमर्कोपछि किनेको थिएँ । पहेंलो रंग भएको कडा गाता भएको त्यो किताब अहिले मसँग छैन, कता हरायो कुन्नि ! अवश्य पनि कोही पढाकुले नै लिएको हुनुपर्छ । पछि सस्तो संस्करण (सन् २००८) पनि आयो । नेपाली समाजबारेको यति गतिलो किताब कम्तीमा आफूसँग हमेशा हुनुपर्छ भनेर किनेर राखेको छु । अहिले झन् खसनेपाली भाषामा अनुवाद भएर आएको छ, यसले झन् बढी वृहत्तर पाठक पाउने पक्का छ ।

खासगरी अंग्रेजीमा लेखिएका तर पछि अनुवाद गरिएका अनुसन्धानमूलक पुस्तक ज्यादै कम छन् । किनभने यो पटक्कै सहज काम होइन । केही किताब यस्ता छन्, जो अनुवाद भएपछि मूलमा भन्दा मर्म मरेका छन् । केही सीमित किताब छन्, जो अनुवाद पनि उत्तिकै दमदार र लोकप्रिय छन् । जस्तो कि हर्क गुरुङको ‘मैले देखेको नेपाल’ । यो पुस्तक खसनेपाली भाषामा पढ्ने कसैले पनि अंग्रेजीबाट अनुवाद गरिएको ठान्दैन बरु मूल नै खसनेपालीमा लेखिएको भान पर्छ । डोरबहादुर विष्टको ‘फेटालिजम एन्ड डिभलपमेन्ट’ पनि अंग्रेजीबाट खसनेपालीमा अनुवाद गर्दा त्यस्तै स्वाद वसन्त थापाले दिएका छन् ।

यो पुस्तकका बारेमा धेरै भन्नुपर्ने कुरा बाँकी छैन किनभने यसबारे पर्याप्त बहस र आलोचनात्मक छलफल भइसकेको छ, अहिले पनि भइरहेकै छ । एकथरी मानिस यो पुस्तकको नाम पनि लिन चाहँदैनन् । उनीहरू के ठान्छन् भने यहाँका दलितलाई, यहाँका आदिवासी जनजातिलाई सामाजिक सांस्कृतिक अन्याय र सत्ताविरुद्ध उतार्न बौद्धिक रूपमा तिखार्ने काम यही किताबले गरेको हो । र, यो किताब ‘बाहुनविरोधी’ हो भन्ने उनीहरूको बुझाइ छ । उनीहरूका नजरमा यो किताब ‘अछुत’ बन्न पुगेको छ । जब कि स्वयम् डोरबहादुर विष्टले प्रस्टसँग भनेका छन् कि ‘बाहुनवाद भन्ने शब्द काठमाडौं उपत्यका र कर्णाली व्याँसीमा मध्ययुगमा आएका ब्राह्मणले सुरु गरेका वर्णव्यवस्थाको सिद्धान्त र तदजनित सांस्कृतिक ढाँचामा समष्टिगत लक्षण बुझाउने हेतुले यहाँ प्रयोग गरिएको छ । तर, यसबाट नेपाली समाजमा आज पाइने समग्र बाहुनलाई इंगित गर्न भने खोजिएको होइन’ (पृष्ठ ३) ।

विष्टले भनेजस्तै भाग्यवाद र वर्णव्यवस्थाबाट टाढा रहेका समुदाय पनि छन् । विष्टका नजरमा ‘जुन नेपाली जनता हिन्दु जात सिद्धान्तबाट अछुतो रहेका छन्, तीचाहिँ नेपालको सबैभन्दा ठूलो खजाना हुन्’ (पृष्ठ १५०) । किनभने उनीहरूमा समाजलाई पछाडि धकेल्ने भाग्यवादी चिन्तन छैन, सामाजिक अन्यायको स्रोत जात व्यवस्था पनि छैन ।

विष्टले किराती समाजसँग जोडेर पनि भाग्यवाद र वर्णव्यवस्थाको चर्चा गरेका छन् । उनले भनेझैं किराती समाजमा छुवाछूतको अवधारणा पश्चिम नेपालका सेनहरू सोह्रौं शताब्दीमा पूर्वी पहाडका किरात राज्य जितेपछि मात्रै प्रवेश गरेको हो । पृथ्वीनारायण शाहले विजय गरेपछि पनि किरातीहरू वर्णव्यवस्थासँग उस्तो परिचित थिएनन् । अहिले पनि उनीहरू दलित समुदायप्रति धेरै उदार छन् । अध्येयताहरू के भन्छन् भने पूर्वी पहाडमा किरातलगायतसँग नजिक भएर बसेका दलितको जीवनस्तर र सामाजिक सम्मान पश्चिम र मधेसका दलितको तुलनामा धेरै राम्रो छ ।

यसबारे एउटा रमाइलो कुराको पनि चर्चा गरिहालौं । ब्रायन हुटन हज्सनले नेपालबाट सयौं पोका पाण्डुलिपि संकलन गरेर बेलायतको लाइब्रेरीमा राखेका छन् भन्नेबारे हामी परिचित नै छौं । त्यहाँ रहेका पाण्डुलिपिमध्ये किरात सिरिजंगा लिपिमा लेखिएका पाण्डुलिपि अध्ययन गरेका नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँलाले फोटोकपी गरेर ल्याएको सामग्री मैले पनि हेर्न पाएको थिएँ । त्यहाँ एउटा रोचक सन्दर्भ रहेछ । त्यो सन्दर्भ भएको पाण्डुलिपि विश्लेषण गर्दै पुस्तक नै प्रकाशित छ, ‘हज्सन पाण्डुलिपिमा गोर्खा–खम्बुवान–लिम्बुवान युद्ध’ (अर्जुन माबुहाङ÷भरत तुङघङ, २०७०) । सजिलोका लागि माबुहाङ र तुङघङको यही किताबबाट म त्यो सन्दर्भ उल्लेख गर्छु–

गोर्खाली अर्थात् पृथ्वीनारायण शाहले लिम्बूहरूलाई लम्जुङ, तनहुँको लडाइँमा लिएर गए । त्यो युद्धमा लिम्बू (याक्थुङ)हरूले कामी, सार्कीलाई बन्दी बनाए र सर्किनीलाई खाना पकाउन लगाए । सर्किनीहरूले ‘हजुर हामी सर्किनीले भात पकाउन हुँदैन’ भने । जवाफमा याक्थुङ अर्थात् लिम्बूहरूले हिर्काउँदै भने, ‘कस्ता खसिनीले, बाहुनीले पकाएको त खाएँ भने तिमी सर्किनी रानी भयौ ?’ (पृष्ठ ३३–३७) । भनेपछि लगभग अढाई सय वर्षअघिसम्म पनि किरातहरू वर्णव्यवस्थासँग परिचित थिएनन् भन्ने देखिन्छ ।

तर, नेपाली राज्य खासमा लिच्छविकालदेखि नै यही भाग्यवादी र वर्णव्यवस्थाबाट निर्देशित छ । विष्टले भनेझैं यो मध्ययुगबाट मात्र सुरु भएको होइन । लिच्छवि शासकहरूले आफ्नो राज्य सञ्चालन गर्ने नियम कानुन नै हिन्दु भाग्यवाद र वर्णव्यवस्थालाई आधार बनाएर गरेका थिए (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, २०३०) । खालि मध्यकालपछि चाहिँ यसलाई वर्णव्यवस्थाभन्दा बाहिरका समुदायलाई पनि यसभित्र हुल्ने काम गरिएको हो भन्ने सन्दर्भबाट चाहिँ विष्ट सही नै छन् ।

भाग्यवाद नेपाली समाजको पछौटेपनको कारक हो भन्ने कुरा यो पुस्तकको केन्द्रीय भनाइ हो । त्यही भाग्यवादले चाकरी गर्न सिकाएको हो, ‘आफ्नो मान्छे’ छान्न सिकाएको हो, वर्णव्यवस्थाको सोपानभित्र राखेर श्रमलाई निकृष्ट र किताबी पढाइलाई खास हैसियतका रूपमा बुझ्न सिकाएको हो र यो अवधारणा नेपाली समाजको हितविपरीत छ । बरु नेपाली समाज बनाउने हो भने आपसी निर्भरताको अभ्यास गरिरहेको रैथाने जनजातीय समाजबाट सिक्नुपर्छ भन्ने मान्यता विष्टको रहेको छ । उनी विकासलाई नै पुनः परिभाषित गर्नुपर्छ भन्ने मान्यता राख्छन् । उनको विचार उनकै शब्दमा पढ्दा बढी आनन्ददायक हुनेछ– ‘वास्तविक विकास गर्ने हो भने विकासको रणनीति विदेशी पैसालाई पुनर्वितरण गरेर स्थानीय मानिसका हातसम्म उपायमात्र हुन हुँदैन, त्यो भाग्यवाद र तहगत सामाजिक प्रणालीको उछित्तो काढ्नेखालको हुनुपर्छ । …भाग्यवादलाई मिल्काउनाले नेपाललाई कुनै नाश हुनेवाला छैन । जातको तहमा आधारित भाग्यवाद नेपालीको आफ्नो हुँदै होइन, यद्यपि कसैकसैले यस्तो ठान्ने गल्ती गर्छन् (पृष्ठ १५६) । उनी नेपाली समाजमा मौलाएको भ्रष्टाचारलाई पनि भाग्यवादी र जातसति जोडिएको वर्णव्यवस्थाजन्य मूल्य–मान्यताको परिणाम ठान्छन् (पृष्ठ १४६) ।

विष्ट के भन्छन् भने भाग्यवादको विकल्प रैथाने समाजमा रहेको सामाजिक निर्भरताको अवधारणा हो । उद्धरण लामो हुने भए पनि यसबारे विष्टकै दृष्टिकोण जस्ताको तस्तै राखेको छु –

‘जनजाति समुदायमा केही अत्यन्त महत्वपूर्ण मानवीय र सांस्कृतिक स्रोत मौजुद छन् । उनीहरू अत्यन्त परिश्रमी, अध्यावसायी र लामो दुःख–कष्टबाट खारिएका छन् । उनीहरूमा सहयोगी भावना हुन्छ, सामूहिक भलाइका लागि खटेर काम गर्छन् र सफल व्यापारी हुने आवश्यक गुण छन् । तर, यी गुण र स्रोतको सदुपयोग गर्नुको सट्टा तिनलाई एकातिर पन्छाइएको छ । उपेक्षा गरिएको छ । र, नष्टै पारिएको छ । तिनका ठाउँमा पण्डित्याइँका सारा अवगुण थोपरिएका छन् । परिश्रमलाई तिरस्कार गर्ने, उँचनिचको मान्यता बोक्ने, अरूलाई दल्न रुचाउने, निष्क्रिय र परनिर्भर भएर बस्ने तथा भाग्यवादमा भर पर्ने ती अवगुणहरू हुन्’ (पृष्ठ १६०) ।

ठीक यहीँनेर नेपाली राज्यको पुनःसंरचनाको खाका प्रस्तुत गर्दा नरहरि आचार्यले सूत्रात्मक रूपमा भनेको कुरा उल्लेख गर्नु उत्तिकै सान्दर्भिक हुनेछ । उनको विचारमा राज्य पुनःसंरचना भनेको राज्यको मात्र पुनःसंरचना गर्नु होइन, नेपाली समाजको पनि पुनःसंरचना गर्नु हो; खस–आर्यको चलाखी र आदिवासी जनजातिको समझदारीपनलाई मिलाएरमात्र देश बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्