बुझ्न बुझाउन सजिलोका लागि विद्यालयमै गणित पार्क


कञ्चनपुर । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले लालझाडी गाउँपालिकाले विद्यालयमा ‘गणित पार्क’ अवधारण अघि सारेको छ ।

यहाँका पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाइको वैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा पार्क निर्माण गरेको छ । गाउँपालिकाको बल्मीमा रहेको पार्कमा ज्यामितीय अवधारणाअनुसारका वृत्त, चर्तुभुज, घन, वेलना, गोलालगायत निर्माण गरिएका छन् । यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्र र चिह्नसमेत पार्कमा राखिएका छन् ।

आकर्षक रङ लगाएर पार्कमा ज्यामितीय गणितका अवधारणालाई विद्यार्थीले सहजै बुझ्न सक्ने तरिकाबाट राखिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले जानकारी दिए । विद्यार्थीले सैद्धान्तिक ज्ञानभन्दा पनि चित्र हेरेर अवलोकन गरेर सहज रूपमा बुझ्ने भएकाले पार्क निर्माण गरी गुणस्तरीय शिक्षाका लागि कार्य अगाडि बढाइएको उनले बताए ।

“विद्यालयमा बिहानीको प्रार्थनापश्चात् कक्षाकोठामा प्रवेश गर्नुअघि अनिवार्य रूपमा विद्यार्थीलाई पार्क अवलोकन गर्न लगाउने व्यवस्था विद्यालयले मिलाएका छन् । पार्कमै गणित विषयका शिक्षकले विद्यार्थीलाई सिकाउँछन्,” भट्टले भने, “गणितलाई जटिल विषयका रूपमा हेर्ने गरिएकाले जटिलता हटाउन यसले सघाउ पुर्याउने विश्वास लिएका छौं ।”

विद्यार्थीले पार्कमा निर्माण गरिएका गणित विषयवस्तुका रूपमा रहेका रेखा, कोण र तिनबाट निर्मित आकृति अध्ययन गर्न सक्छन् । वृत्त, चतुर्भुज र त्रिभुजलगायतका ज्यामितीय आकार र घन, वेलना र गोलाजस्ता केही जटिल आकार जुन ज्यामितीय गणितमा अध्ययन गरिन्छ । ज्यामितीय गणित अध्ययनलाई सरलीकृत गर्न गणित पार्कमा आकृति निर्माण गरिएको जनाइएको छ । अंकगणित, बीजगणित र ज्यामितीका धारणालाई छुट्टाछुट्टै प्रयोग नगरीकन आपसमा सम्बन्धित गराएर सिकाउन सक्नुपर्छ भन्ने धारणाअनुसार पार्कमै ती गणितका सूत्र र चित्रसमेत आकर्षक ढंगले राखिएको उनले जानकारी दिए ।

पार्क निर्माणका लागि दुवै विद्यालयलाई १ लाख ५० हजारका दरले रकम उपलब्ध गराइएको छ । गाउँपालिका क्षेत्रभित्रका अन्य आधारभूत विद्यालयमा समेत यसैगरी गणित पार्क निर्माण गर्दै लैजाने योजना अघि सारिएको छ ।

“गणित पार्कसँगै वनस्पति विज्ञानका लागिसमेत विद्यालयमै पार्क निर्माण गर्ने योजना अघि सारेका छौं,” शाखा प्रमुख भट्टले सुनाए, “फूल फुल्ने–नफुल्ने विभिन्न प्रजातिका बिरुवा विद्यालय परिसरमै रोपेर विद्यार्थीलाई व्यावहारिक ज्ञान दिनका लागि काम अघि बढाउने योजना छ ।” विद्यार्थीलाई पार्कमा घुमेर मनोरञ्जनसँगै सहज रूपमा सिक्छन् । यसले वातावरण संरक्षणमा समेत टेवा पुग्ने उनको भनाइ छ । गणित पार्कका पोलमा जनावरका तस्बिरसँगै नेपाली, अंग्रेजी र वैज्ञानिक नामको जानकारीसमेत राख्ने गरिएको छ । दुवै विद्यालयका पार्कको लम्बाइ ९७ फिट र चौडाइ २५ फिट रहेको छ ।

“गणित पार्क नेपालमै नौलो अवधारणा हो,” उनले थपे, “भारतलगायतका अन्य देशमा विद्यायमा गणित पार्क बनाएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिइने गरेको भए पनि नेपालका लागि भने यो नौलो अभ्यासका रूपमा प्रयोग भइरहेको छ, गणितलाई निकै अप्ठ्यारो विषयका रूपमा चित्रित गर्दा विद्यार्थीमा मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको छ ।”

गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले भने, “विद्यार्थीमा गणित त्रास फैलाउने काम अभिभावकदेखि शिक्षकसम्मले गर्दै आएका छन् । यसलाई दैनिक क्रियाकलापसँग जोडेर हेर्नुपर्छ । यसै आधारमा शिक्षकले शिक्षण गर्नुपर्छ । शिक्षणलाई सरलीकृत गरी विद्यार्थीलाई सहज रूपमा गणित अवधारणा बुझाउन पार्क निर्माणमा जोड दिएका छौँ ।” विद्यार्थी, शिक्षक र अभिभावकको प्रतिक्रियापछि पार्कमा राखिएका वस्तु थपघट तथा सुधार गर्ने उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्