फेसबुकमा मंसिर


 


दुर्छिम (खोटाङ) । मंसिर अर्थात् हेमन्त ऋतुको पहिलो महिना । साउन रोपेका किसान मंसिर भित्र्याउने चटारोमा हुन्छन् । नेपाली परम्पराअनुसार बिहेको लगन सुरुवातको महिना । त्यसलाई पुष्टि हुनेगरी हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले खोटाङका गजलकार प्रमोद श्रेष्ठ दाबी गर्छन्, ‘मंसिर भनेको हाम्रो सिजन हो ।’

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारीनिवासी शोभा राईको भनाइ गजलकार श्रेष्ठको भन्दा फरक छ । राई व्यंग्य गर्छिन्, ‘मंसिर बिग्रेको छोराहरूको सिजन अनि हामीजस्ता संस्कारी छोरीहरूको दशा हो ।’

 

 

 

अविवाहितका लागि मंसिरे महिमा खनिखोस्री साध्य छैन । मंसिर लागेदेखि सकिन लाग्दासम्म सामाजिक सञ्जाल फेसबुकमा मंसिरे महिमाबारे ‘स्टाटस’ पढ्न पाइएकै छ । खोटाङे शिक्षिका भूमिका न्यौपाने लेख्छिन्, ‘मंसिर लागेरै होला, मैले चिया पकाउन जान्छु भन्दा पनि उसले कसका लागि हो र भन्ने ।’

पत्रकार धनबल राईको आफ्नै पीडा छ । जमाना भलो चिताउनेको होइन भन्ने नेपाली उखान प्रचलित छ । ‘यसो हिसाब–किताब निकालें । बिहेभोज नखाएको निकै वर्ष भएछ । यो मंसिरमा कतिजनालाई ‘बिहे गर…बिहे गर’ भनेर सम्झाउनु, त्यो पनि आफ्नै खाएर,’ पत्रकार राई पीडा पोख्छन्, ‘फेरि सुनिदिँदैनन्, आफैंलाई पीडा । आफैं बिहे ठोकौं भन्यो । बालबालिका परिने डर । होइन, जिन्दगीले मलाई कस्तो सजाय दिँदै छ हौ गाँठे ।’

पत्रकार गीता चिमोरिया व्यंग्यात्मक शैलीमा आफैंलाई सोध्छिन्, ‘अनि के, यो मंसिरमा ‘राजा’ आउने नै भए त ? एक ‘राजकुमारी’ आफैंलाई प्रश्न गर्दै !’

मंसिर र बिहेको मात्रै कत्ति कुरा गर्नु । मंसिरसँग जोडेर समाजसेवा गर्न पाए कति जाती हुन्थ्यो होला । ‘मंसिर बिहेको महिना हो । हुनेले धनको तुजुक नदेखाए हुने, ऋणमा डुब्ने थिएनन्,’ पत्रकार भरत पोखरेल सुझाउँछन्, ‘महिनौं बिहे पार्टीको शृंखला चलाउनुभन्दा रुकुममा १० घर बनाइदिनु राम्रो । मन दह्रो बनाए यो सम्भव छ ।’

अन्य महिनाको तुलनामा मंसिरमा बिहे धेरै हुन सक्छ । तर, लगनमा भर पर्छ । ‘यो मंसिरको महिना हो । फोटोहरू धेरै नि अपलोड हुन सक्छन्,’ पत्रकार सुजाता ढुंगाना अनुरोध गर्छिन्, ‘कृपया झन्झट नमानी स्क्रोल गर्नुहोला ।’

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान खोटाङनिवासी रमेश चाम्लिङले मंसिरलाई पापीको संज्ञा दिएका छन् । ‘लु पारि पाखामा जन्ती नि आइसक्यो भन्दै उनी आँसु खसाल्दै जग्गेतिर लागिन्,’ चाम्लिङ दुःखेसो गर्छन्, ‘अनि म पात्र । पापी मंसिर ।’

मंसिरमा लगन नजुरेकाको कथा–व्यथा ननिको हुन्छ । मंसिर सकिँदै जाँदा पनि बिहेको लगन नजुरेपछि अविवाहितले सामाजिक सञ्जालमा दुःखेसो पोख्न पछि पर्दैनन् । कवि दीपा मेवाहाङ राईको भनाइ छ, ‘मंसिर महिना बितिसक्दा पनि सिट चैं ‘सुश्री’ मा यथावत् राख्न सक्नु नै ठूलो कुरा रे नि त ।’

रमेश चाम्लिङ र रमेश किरात एकै व्यक्ति हुन् । उनले मंसिरबारे धेरैभन्दा ‘स्टाटस’ लेखेका छन् । मंसिरलाई धिक्कार्दै रमेश किरात लेख्छन्, ‘सम्बन्ध गाँसिने र सिमकार्ड भाँचिने महिना जाँठा मंसिर ।’

‘इन्ड अफ मंसिर एन्ड फाइनल्ली सी इज सेफ दिस इयर्स,’ रमेश चाम्लिङ थप्छन्, ‘उफ !’

‘ए नि लै–लै गयो मंसिर खेर,’ मंसिर सकिनै लाग्दा रमेश किरातले लेखे, ‘बधाईमात्र देर ।’

पत्रकार दामोदर न्यौपानेको गुनासो छ, ‘एउटै बिहे नखाई मंसिर गयो ।’

‘हुन नसकेका केटीले नपत्याको, बूढीले छाडेको, अन्तिममा आएर बिहे रोकिएको,’ रमेश चाम्लिङ आह्वान गर्छन्, ‘माग्दा केटीको बाउले केटी नदेको, प्रेम, विछोड र पारपाचुके भकोहरू सबै मंसिर ३१ गते पिकनिक जाऊँ है । चुले निम्तो ।’

नेपाल पञ्चांग निर्णायक विकास समितिद्वारा मान्यताप्राप्त संवत् २०८० को पात्रोअनुसार मंसिरमा ८ दिन बिहेको लगन थियो । पात्रोअनुसार मंसिर १२, १३, १८, २१, २३, २८, २९ र ३० गते बिहेको लगन थियो ।

अंग्रेजी महिना नोभेम्बर र डिसेम्बरको १५/१५ दिन मंसिरमै पर्छ ।

प्रतिक्रिया दिनुहोस्