विश्वव्यापी बिनायोवादन प्रतियोगितामा झापाली राई प्रथम



ओखलढुंगा । विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगितामा प्रतियोगितामा कमल गाउँपालिका ६, झापाका बलबहादुर राई प्रथम भएका छन् ।

विश्वभरिका १ सय १९ जना सहभागी कोङकोङमा प्रतियोगितामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ खोटाङकी पम्फा राई दोस्रो भएकी थिइन् ।

किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रीय समितिले गरेको प्रतियोगितामा मानेभन्ज्याङ गाउँपालिका–३ उँबु ओखलढुंगाकी जितुमाया राईले तेस्रो पुरस्कार हात पारिन् भनेकमल गाउँपालिका–५ झापाकी मनकुमारी राईले चौथो स्थानमा चित्त बुझाउनुपर्यो ।

विजेताले क्रमशः १६, १०, ८ र ५ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र पाए । सहभागीमध्येकी जन्तेढुंगा गाउँपालिका–६ ओडाले खोटाङकी ९५ वर्षिया विष्णुमाया राई र हलेसी तुवाचुङ नगरपालिका–५ खोटाङकी ९२ वर्षीया देशलक्ष्मी राईलाई सम्मानस्वरूप जनही ५ हजारका दरले सम्मान गरिएको किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रीय अध्यक्ष रामकर राईले बताए ।

अनलाइन माध्यमबाट गरिएको प्रतियोगितामा तीन चरणमा प्रतियोगी छनोट गरिएको थियो । पहिलो चरणमा १ सय १९ जना प्रतियोगी सहभागी भएका थिए । त्यसमध्येबाट ५५ जना छनोट भए । ५५ जनाबाट उत्कृष्ट २० जना छानिए । २० जनाबाट विजेता छनोट गरिएको हो ।

प्रतियोगिता निर्णायकका रूपमा पार्वती राई, राजु एन राई र जितेन राई रहेका थिए । किराती समुदायमा कोङकोङमा भनेर चिनिने बिनायो प्रतियोगिता लोपोन्मुख पुर्खाको नासोलाई युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता गरिएको हो ।

बिनायो प्रवद्र्धन गर्दै दस्तावेजीकरण गरी विश्वमा चिनाउनु, किराती समुदायको सभ्यतासँग जोडिएको यो नेपालको मौलिक बाजा भएकाले ‘प्याटेन्ट राइट’का लागि समेत विश्वमा पुर्याउन प्रतियोगिता महत्वपूर्ण भएको आयोजकको दाबी छ ।

प्रतियोगिताबाट बिनायो बजाउने उमेर समूह पत्ता लगाउन र बाजाको धुन संकलन गर्न सहज भएको किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रीय अध्यक्ष राईले बताए । प्रतियोगिता खुला भएकाले किराती समुदायमात्र नभएर खस आर्यमूलका समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्