बाँदर अल्मलाउन भोजपुरमा वरपीपल रोपिँदै



भोजपुर । डिभिजन वन कार्यालय भोजपुरले वरपीपल रोप्ने अभियान चलाएको छ । सडक विस्तार तथा मानवीय गतिविधिका कारण वरपीपल मासिन थालेपछि वरपीपल रोप्ने अभियान चलाइएको हो ।

कार्यालयले वरपीपलले प्रशस्त मात्रामा अक्सिजन दिने तथा वातावरणलाई स्वच्छ राख्न सहयोग पु¥याउने भएकाले सार्वजनिक तथा खुला क्षेत्रमा रोप्नेगरी अभियान सञ्चालन गरिएको जनाएको छ ।

धेरै मात्रामा वरपीपलका रूख विस्तार गर्न सकेमा बस्तीमा बाँदर आउने क्रमसमेत रोकिने कार्यालयको जिकिर छ । वरपीपलको फल खाएर बाँदर अल्मलिने हुँदा किसानका अन्नबालीमा कम क्षति हुने कार्यालय प्रमुख विष्णुप्रसाद घिमिरेले जानकारी दिए । उनले भने, ‘पछिल्लो समय धेरै वर्ष पुराना वरपीपलका रूख मासिँदै गएका छन् । अधिकांश ठाउँमा वरपीपलका ठुटामात्र देखिन्छन् । यसले वातावरणलाई प्रत्यक्ष रूपमा हानि पुगिरहेको छ । यसैले हामीले अहिले झापाबाट बिरुवा मगाएर यसलाई अभियानका रूपमा सञ्चालन गर्ने लक्ष्यसाथ विस्तार गरिरहेका छौं ।’

बाँदरले बस्तीमा आएर क्षति गर्न थालेपछि सामुदायिक वनमा फलफूलजन्य बिरुवा तथा स्कुस रोपणलाई ध्यान दिन कार्यालयले आग्रह गरेको छ । बाँदरका लागि खाने आहारा वन क्षेत्रमै उत्पादन गर्न सकेमा गाउँबस्तीमा कम क्षति गर्ने कार्यालयको भनाइ छ । प्रमुख घिमिरेले भने, ‘हामीले नै बाँदरलाई बस्तीमा आउने अवस्था बनाएका छौं । वन्यजन्तुलाई हाम्रा व्यवहारले पनि असर पारिरहेको छ । हामीले वन क्षेत्रमा पनि फलफूलका बिरुवा विस्तार गर्न जरुरी देखिएको छ । त्यसैले हामीले खुला क्षेत्रमा वरपीपल रोप्ने अभियान सञ्चालनमा ल्याएका हौं ।’

प्रतिक्रिया दिनुहोस्