नामी नगरकोट : सहरको एउटै डाँडाको तीन नाम



गर्मी होस् या जाडो नगरकोटको मौसम बाह्रै महिना चिसो हुन्छ । यहाँ बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्छ । काठमाडौं उपत्यकामा गर्मी बढ्नसाथ फुर्सदिलाहरू नगरकोट चढिहाल्छन् । सरकारी तथा गैरसकारी संस्थाले कार्यक्रम गर्ने पहिलो प्राथमिकता नगरकोट नै पर्छ ।

नगरकोटलाई प्राचीनकालमा मान्डपगिरि भनिन्थ्यो । त्यही मान्डपगिरिलाई आरोङकोट पनि भनिन थालियो । पछिल्लो समय आरोङकोटलाई नगरकोेट भनिन्छ । नगरकोट नाम कसरी रहन गयो ? भनिन्छ, ‘नगर भनेको सहर र कोट भनेको डाँडाको टाकुरा ।’

काठमाडौंबाट ३२ किलोमिटर दूरीमा रहेको नगरकोट समुद्र सतहदेखि २०७५ मिटर उचाइमा रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकले औधी मन पराएको नगरकोटमा सन् १९६० पर्यटक आउन थालेको बताइन्छ ।

स्वच्छ वातावरण, मनोरम दृश्य नियाल्न पाउनु यहाँको विशेषता हो । अस्ट्रेलियाको ‘स्वीस’ नामक गैरसरकारी संस्थाले नगरकोटवरिपरि रोपेको सल्ला ठुल्ठूला रूख भइसकेका छन् । जुन रहरलाग्दा देखिन्छन् । यहाँबाट सूर्याेदय र सूर्यास्त नियाल्न सकिन्छ । नेपाली नयाँ वर्ष आउँदै छ, त्योताका नयाँ वर्षको पहिलो घामको किरण हेर्न अघिल्लो रात नै नगरकोट पुग्नेको ‘क्याराभान’ नै देख्न सकिन्छ । यहाँबाट कन्चनजंघा, सगरमाथा, ल्होत्से, गौरीशंकर, गणेश, लाङटाङ, मनास्लु र धौलागिरि हिमशृंखला नियाल्ने सकिन्छ । एकै ठाउँ बसेर यति धेरै हिमशृंखला हेर्न पाउनुको आनन्द अरू केहीसँग तुलना गर्न सकिँदैन ।

शुक्रबार र शनिबार नगरकोटमा आन्तरिक पर्यटक भीड लाग्ने गर्छ । होटल व्यवसायीका अनुसार नगरकोट आउने ७० प्रतिशत पर्यटक आन्तरिक हुन्छन् । यहाँ आइपुगेका अधिकांश पर्यटक बेलुकी आएर बिहानै फर्किन्छन् । तसर्थ, पर्यटक बसाइ लम्ब्याउन उपाय तत्काल सुझाउन आवश्यक देखिन्छ । संख्यात्क रूपमा पर्यटक नगरकोट आएरमात्रै पुग्दैन । नेपाल आएका पर्यटकको बसाइ लम्ब्याउन र उनीहरूलाई बढीभन्दा बढी खर्च गराउन चाँजोपाँजो मिलाउन ढिला गर्नुहुन्न ।

यहाँका पुतली र भँगेरी दरबार पर्यटकीय दृष्टिले प्रसिद्ध मानिन्छन् । राणाहरूले उहिले–उहिले यी दरबारमा बसेर मनोरञ्जन गर्ने र गर्मी छल्थे ।

नगरकोट पर्यटकीय स्थल बन्दै गएपछि स्थानीय किसानको आर्थिक अवस्था उकासिएको छ । त्यतिमात्रै होइन, ग्रामीण पर्यटन, स्थानीय कला संस्कृति एवम् सम्पदा विकासमा त्यत्तिकै सघाउ पुगेको बताइन्छ । पशुपालन, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था र शैक्षिक क्षेत्रमा समेत प्रशस्त सम्भावना देखिएको छ ।

नगरकोटमा साना ठूला गरी ७० भन्दा बढी होटल तथा रेस्टुरेन्ट खुलेका छन् । होटल सञ्चालका अनुसार नगरकोटमा सञ्चालित अधिकांश होटल तथा रेष्टुराँ काभ्रे जिल्लामा पर्छन् । उनीहरूका अनुसार केही होटल भक्तपुर र एउटा काठमाडौंमा पर्छ । बढ्दो होटल व्यवसायले यहाँ पाँच सयजनाभन्दा बढीले रोजगारी पाएका छन् ।

निजी क्षेत्रको एक्लो प्रयासमा पर्यटन प्रवद्र्धन भइरहेको नगरकोट भक्तपुर, काठमाडौं र काभ्रेको संगमस्थल हो । यहाँबाट धुलिखेल–चिसापानी साइकल ट्र्याक खोलिएको छ । सुन्दरीजलबाट थालिएको पदयात्रा चिसापानी, नगरकोट, धुलिखेल, बनेपा हुँदै काठमाडौं पुग्न सकिन्छ ।

नगरकोट गाइड डटकमले पर्यटकलाई लक्षित गरी नगरकोट–काठमाडौं बस सेवा २०६७ कात्तिकदेखि सञ्चालनमा ल्याएको छ । बस सेवा सञ्चालनमा आएपछि पर्यटक सजिलैसँग नगरकोट पुग्न र फर्कन सक्ने भएका छन् । पर्यटक बस बिहान १० बजे नगरकोटबाट छुट्छ भने सोही बस लैनचौर काठमाडौंबाट दिउँसो एक बजे नगरकोट फर्कने गर्छ ।

प्रतिक्रिया दिनुहोस्