क्यासिनोलाई मन्दिर ठान्ने चिनियाँ नागरिक केश फुलिन्जेल जुवा खेल्ने



सफल व्यक्तित्वको कथा धेरै लेखिन्छन् । पढिन्छन् । त्यसबाहेककाको संघर्षका कथा कति होलान् कति ? कति लेखिन्छन् । कति लेखिँदैनन् । त्यसमध्ये म रवीन चाम्लिङ पनि एक हुँ । मेरो सालनाल हलेसी तुवाचुङ नगरपालिका–७, ऐंसेलुखर्क खोटाङमा गाडिएको छ । मैले संवत् २०५५ मा एसएलसी पास गरें । उच्च शिक्षा हासिलका लागि काठमाडौं पसें । उच्च शिक्षा हासिलका लागि मलाई काका भूपाल राईले बोलाएका थिए । म रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा आईएमा भर्ना भएँ । काठमाडौंमा बसेर अध्ययन गर्न सजिलै थियो । खाना बस्नका लागि असुविधा थिएन । काका हङकङमा थिए । पढाइ खर्च काकाले नै बेहोर्थे ।

बसाइ अनामनगरमा थियो । म फुपूसँग बस्थें । पुसैं (फुपाजु) ब्रिटिस आर्मीमा थिए । मैले फुपूको घरमा बसेर ०५९ मा आईए पास गरें । त्रि–चन्द्र क्याम्पस घण्टाघरबाट बीए पास गर्दा ०६२ लागिसकेको थियो । बीए पढिन्जेल सबैको सहयोग पाइरहें ।

लेखक

तात्कालिक माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भइसकेको थियो । त्रि–चन्द्र क्याम्पसका सहपाठीको संगतले नेपाल आर्मीको सेकेन्ड लेफ्टिनेन्टमा प्रतिस्पर्धा गरें । अन्तिम चरणमा बोर्ड कन्फेरेन्सबाट बाहिरिएँ । त्यतिबेला मनमा पहिरो गयो । आफन्त र परिवारका सदस्य विदेश गएर धन कमाएको हेर्न चाहन्थे । मेरो मनमा अन्तद्र्वन्द्व चर्किरह्यो । म घरको जेठो छोरो । ममुनिका भाइबहिनीका रोलक्रम लामै थियो । मलाई थाहा थियो– ममा जिम्मेवारी थपिँदै छ । मैले मनैदेखि जिम्मेवारीबोध गरिसकेको थिएँ । घरपरिवारले वैदेशिक रोजगारीमा जान सुझाइरहन्थे । उनीहरूले नेपालमा नोकरी गर्न, राजनीति गर्न वा व्यापार व्यवसाय गर्ने काम हाम्रो होइन भन्ठान्थे ।

यसबीचमा मैले स्नातकोत्तर तहमा अंज्रेजी विषयमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नाम लेखाइसकेको थिएँ । त्यतिबेला मलाई आफन्तको सहयोग फिक्का लाग्न थाल्यो । म आफैं कमाउन चाहन्थें । नजिकका काका र पुसैं मकाउमा थिए । उनीहरू क्यासिनोमा काम गर्थे । रोजगारीका लागि मकाउ जाने निधो गरें । जेठो छोरोको जिम्मेवारी र सिंगो परिवारको खुसीको भारी बोकेर म ०६४ मा मकाउ पुगें ।

मेरो काम क्यासिनोमा थियो । क्यासिनोको सहर मकाउमा सेक्युरिटी अफिसरको भूमिकामा थिएँ । क्यासिनोलाई चौबीसै घण्टा पहरा दिनुपथ्र्याे । दैनिक आठ घण्टा ड्युटी गर्थें । मैले क्यासिनो आएका ग्राहकका जिउधनको सुरक्षा दिनुपथ्र्याे । कुटपिट, झगडा भएका छुट्ट्याउनुपथ्र्याे ।

मकाउको ‘नाइट लाइफ’ असाध्यै रमाइलो हुन्छ । होटल र क्यासिनो सुनझैं लाग्ने काँसा र सिसैसिसाबाट बनेका हुन्छन् । राति त्यहाँका होटल तथा क्यासिनो बेहुलीझै सिँगारिएका हुन्छन् । होटलका छातीमा स–साना विद्युतीय बल्भ जडान गरिएका हुन्छन्, जसमा विभिन्न आकृति र होटलमा उपलब्ध सुविधा विभिन्न रङ फेर्दै जादुमय ढंगले यताउति कुदिरहन्छन् ।

श्रीमतीसाथ लेखक

मानौं क्यासिनो मन्दिर हो । जहाँ दैनिक हजारौं मानिस प्रवेश गर्छन् । ९० प्रतिशत ग्राहक मेनल्यान्डर्स चाइनिज हुन्छन् । त्यहाँ क्यान्टोनिज र म्यान्डरिन भाषा बोलिन्छन् । जुवा खेल्नु चिनियाँ नागरिककको संस्कार हो । उनीहरूले क्यासिनो धाएरै घरपरिवार चलाएका छन् ।

मकाउको प्रतिव्यक्ति आम्दानी लोभलाग्दो छ । त्यहाँ खेतिपाती गर्ने जमिन छैन । खाद्यान्न र तरकारी चीनबाट ल्याइन्छन् । समुद्र पुरेर होटल बनाइएका छन् । त्यहाँ पाँचतारे र सुविधायुक्त होटल छन् । मकाउलाई दोस्रो लास भेगास भनेर चिनिन्छ । अमेरिकाको क्यासिनो व्यवसायलाई मकाउले उछिनेको छ ।

पैसा आवश्यक परेपछि स्कुले विद्यार्थी होटल तथा क्यासिनोमा ‘पार्टटाइम जब’ गर्छन् । एक क्यान बियर खुवाए चिनियाँ नागरिक असल साथी बन्छन् । उनीहरू अत्यधिक धूमपान गर्छन् । उनीहरूका साथमा सधैंजसो एक प्याकेट चुरोट र लाइटर छुट्दैन । नेपालमा जस्तो मकाउमा एक खिली चुरोट किन्न पाइँदैन । उनीहरू दात माझ्न अल्छी गर्छन् । त्यही भएर मकाउमा तुथपेस्ट र ब्रस कमै बिक्री हुन्छन् ।

मकाउका पुलिसले मान्छे कुट्दैनन् । पार्कमा मातेर या कुनै कारण बिचल्लीमा परेकालाई उनीहरू बस्ने ठाउँसम्म पुर्याइदिन्छन् । मकाउका होटेलमा साँच्चिकै ‘हस्पिटालिटी’ छ । त्यसैले पर्यटक आकर्षित छन् ।

क्यासिनोका चारैतिर प्रवेशद्वार हुन्छन् । मुख्य प्रवेशद्वारमा गोर्खाली सुरक्षागार्ड राखिएका हुन्छन् । १८ वर्षमुनिकालाई क्यासिनो प्रवेश रोक लगाइएको छ । चिनियाँ नागरिक भाग्यमा विश्वास गर्छन् । क्यासिनोलाई मन्दिर ठान्छन् । त्यसैले उनीहरू केश फुलिन्जेल जुवा खेल्छन् ।

मैले क्यासिनोका वादशाह भनेर चिनिने (स्टेन्डली हो)को ग्रान्ड लिज्वुआ र ग्यालेक्सीमा चार वर्षजति काम गरें । खासगरी मेरो काम ‘कस्टमर्स सर्भिस’सँग सम्बन्धित थियो ।

पोर्चुगलले छाडेपछि चीनको स्वशासित क्षेत्र मकाउमा स्टेन्डली होले सन् १९९६/९७ देखि क्यासिनोमा गोर्खाली सेनालाई पहिलोपटक बागडोर सम्हाल्न दिए । त्यसपछि मकाउ नेपालीको आकर्षक वैदेशिक रोजगारीको गन्तव्य बन्न पुग्यो । गोर्खाली नभए मकाउका होटल तथा क्यासिनो व्यवसाय सुरक्षित हुँदैनन् ।

मैले काम गर्ने कम्पनीले मलाई राम्रै सेवा–सुविधा र तलब दिएको थियो । आफू कार्यरत कम्पनीका साथीहरू सहयोगी थिए । नेपाली दाजुभाइमाझ हामी भन्ने भावना थियो । तर, मलाई त्यो सांसारिकमोह त्यति ठीक लाग्न छाड्यो । म नेपाल छँदा ०६२/६३ आन्दोलनमा सहभागी भएको थिएँ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा भइसकेको थियो । राजतन्त्र फालियो । नेपाली सार्वभौमसम्पन्न भइसकेका थिए ।

अबचाहिँ नेपाल फर्केर केही गर्नुपर्छ भन्ने हुटहुटीले जित्यो । साथीसँगातीसँग बाक्लै सम्पर्कमा थिएँ । साथी राजेश चाम्लिङ राई (गोरखापत्र दैनिकमा कार्यरत)सँग सल्लाह मागें । उनले नेपालमै धेरै काम गर्न सकिने सुझाए ।

म ०६९ मा नेपाल फर्कें । मेरा साथीहरू विभिन्न क्षेत्र र पेसामा व्यस्त थिए । म नेपाल फर्कंदा ३१ वर्षका थिएँ । मलाई पहिल्यैदेखि राष्ट्रसेवक बन्ने इच्छा थियो । त्यसैले केही समय लोकसेवा आयोग तयारी गरें । तयारी गर्नेजति सबै सफल नभइँदोरहेछ । तर पनि म दुःखी छैन । खुसी नै छु ।

मकाउको कमाइले चार भाइबहिनीलाई काठमाडौंमा कोठा भाडामा राखेर पढाएँ । एक बहिनीलाई स्टाफ नर्स र एक भाइलाई ल्याब असिस्टेन्ट पढाएँ । बुवाआमालाई खर्च पठाएँ । काठमाडौंमा क्याम्पस पढ्ने साथीहरूलाई सकेको सहयोग गरें । भक्तपुरमा आफन्तसँग मिलेर सामूहिक रूपमा घडेरी जोडें । बचेको पैसाले काठमाडौंमा चार वर्ष लोकसेवा तयारी गरे । समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पार लगाएँ । हिजोआज महेन्द्रोदय माध्यमिक विद्यालय हलेसीमा माध्यमिक तहका विद्यार्थीलाई सामाजिक शिक्षा पढाइरहेको छु । नेपाल ल क्याम्पसबाट कानुनमा एलएलबी दोस्रो वर्षमा अध्ययनरत छु । त्यसो भए किन दुःखी हुनु ? खुसी भएर बाँच्नु पनि त कला हो नि । होइन र ?

प्रतिक्रिया दिनुहोस्