उदयपुरमा ढलेको माओवादी खोटाङका मूल खाँबो



‘दिक्तेल कारागारमा रहँदा ठूलकुमार श्रेष्ठले ढाकाटोपी बुन्नुहुन्थ्यो,’ श्रेष्ठसँगै जेल परेका शुभचन्द्र राईले विगत सम्झे, ‘कारागारभित्र रहेकाले उहाँले राम्रो ढाकाटोपी कसैले बुन्न सक्दैनथे ।’

दिक्तेल कारागारमा श्रेष्ठसँग आस्थाको बन्दी बनेर बिताएको त्यो समय कम्ती महत्वपूर्ण थिएन । ‘मैले ?’ राईले गर्व गरे, ‘उहाँसँग बिताएको समय शिक्षाप्रद थियो । उहाँबाट थुप्रै कुरा सिक्ने र जान्ने मौका पाएँ ।’

साबिक चिउरीडाँडा गाउँ विकास समिति–६ दोबेला, खोटाङमा उनको जन्म भएको थियो । पहिलेको चिउरीडाँडा अहिले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ मा परिणत भएको छ । संवत् २०२० मंसिर २६ गते जन्मेका उनले जीवित रहँदा हातमा गन्न नसकिने काम गरे ।

त्यतिबेला एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गर्नेलाई सामान्य मानिदैनथ्यो । उनले ०४१ मा एसएलसी उत्तीर्ण गरे । एसएलसी गरेलगत्तै भीमबहादुर श्रेष्ठ र खड्गमाया श्रेष्ठको एक्लो छोरा महेन्द्र मोरङ क्याम्पस विराटनगरमा भर्ना भए । आईएस्सीमा भर्ना भए पनि क्याम्पस नियमित जान सकेनन् । क्याम्पस भर्ना गरेर पढाउन थाले । पढाउन थालेकाले पढाइ सोचेजस्तो भएन । विद्यालयमा पढाउँदै गर्दा छात्रावृत्तिमा आईकम पढ्ने अवसर पाए । भोजपुरबाट आईकम पूरा गरेपछि दोबेलाकै निम्नमाध्यमिक विद्यालयमा पढाउन थाले ।

जाल्पाकी शान्ति श्रेष्ठसँग ०४७ फागुनमा बिहे गरे । अध्यापनसँगै अध्ययनले निरन्तरता पाएकै थियो । बीकम पूरा गरे । यो ०४८ को कुरा हो । स्नातकोत्तरको तयारीसमेत थालेका थिए । तयारी थाल्ने भने पनि विद्योदय माध्यमिक विद्यालय दोर्पामा पढाउन थाले । त्यहाँ वर्ष दिनजति पढाए । त्यसपछि कालिका मावि खार्मीमा पढाउन थाले । उनी विज्ञान विषय पढाउँथे । खार्मीका अभिभावक र विद्यालय परिवारले उनलाई स्वाभिमानी र सक्षम शिक्षकका रूपमा चिन्थे । खार्मीमा पढाउँदा–पढाउँदै माओवादी सशस्त्र जनयुद्धमा लागे । सम्मानित पेसा छाडेर माओवादीको ‘होलटाइमर’ बन्नु भनेको सबै–सबै त्याग्न सक्नु हो ।

माओवादी पार्टीनिकट अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्यसमेत रहेका उनी बहुमुखी प्रतिभा थिए । ‘उनी कविता लेख्थे । लेख्थे गीत पनि,’ ठूलकुमार श्रेष्ठको बालसखा वसन्तकुमार श्रेष्ठ भन्छन्, ‘त्यतिमात्रै होइन, गीत गाउँथे । अनि नाच्थे पनि ।’

माओवादी खोटाङका संस्थापकमध्ये एक थिए– ठूलकुमार श्रेष्ठ । बाबु तामाङ (प्रलय), ठूलकुमार श्रेष्ठ (आकाश), दिलकाजी कार्की (प्रकाण्ड), देवी आचार्य (समीर) र डा. धनप्रसाद सुवेदी (सहज) माओवादी खोटाङका संस्थापक हुन् । ०५१ मा गठित माओवादी खोटाङका संस्थापक सेक्रेटरी बाबु तामाङ (प्रलय) थिए भने श्रेष्ठ, कार्की, आचार्य र सुवेदी सदस्य हुन् ।

कमरेड ठूलकुमार श्रेष्ठ व्यक्तिमात्रै नभएर माओवादी खोटाङका जग हुन् । दूरदर्शी विचारक हुन् । पार्टीका वफादार नेता र कार्यकर्ता हुन् । त्यस्ता नेताको निधन छिटो भयो । उनलाई प्रहरीले गोली हानेर हत्या गरेको थियो । उदयपुरको तावाश्री (उदयपुरगढी गाउँपालिका–१ शिखरपुर)मा प्रहरीको गोली लागेपछि अन्तिम सास फेरे । यो ०५५ पुस २७ गतेको घटना थियो । हत्या गरिएको दिन उनी ३५ वर्ष, एक महिना, एक दिनका थिए । उनी माओवादी खोटाङ सेक्रेटरी र क्षेत्रीय व्युरोको जिम्मेवारीमा थिए । उनले सहादत पाउँदा शान्ति श्रेष्ठले घरको मूल खाँबो ढलेको अनुभूति गरिन् । करुणा श्रेष्ठ, कुसुम श्रेष्ठ र कान्ति श्रेष्ठले जन्मदाता गुमाए । कतिपयले विज्ञान शिक्षक गुमाए । पार्टीले कूटनीतिक नेता गुमाए ।

प्रतिक्रिया दिनुहोस्