माल्खुको स्वप्निल बगैंचामा फुल्दै गरेको सुविन्द्रका सुन्दर सपना


प्रिय
सुविन्द्र सर

आराम छु । आरामको कामना गर्छु । बन्दाबन्दी (लकडाउन)अघि भेटघाट हुँदा केही समयका लागि हलेसी जान्छु भन्नुभएको थियो । नभन्दै हलेसी पुग्नुभयो । तपाईं हलेसी पुगेको केही समयपछि लकडाउन भयो । बीचमा काठमाडौं फर्कन त्यति सहज थिएन । लकडाउन खुलेपछि पनि तपाईं हलेसीमै अल्मलिनुभएको थियो ।

लकडाउनको सदुपयोग को–कसले कसरी गरे ? थाहा छैन । तर, तपाईंले जस्तो लकडाउन सदुपयोग कमैले गरे होलान् भन्ने ठम्याइ छ । लकडाउनमा तपाईंले गरेको कामले मेरो ठम्याइ गलत छैन भन्नेमा विश्वस्त छु ।

छँदाखाँदाको जागिर छाडेर हलेसी टेलर्स सुरु गर्नुभयो । काठमाडौंको चाबहिलमा रहेको दुई टेलरिङ सेन्टर सञ्चालनमा छँदै छन् । आम्दानी चित्तबुझ्दो छ । जहाँ थुप्रैले रोजगारी पाएका छन् ।

गाउँठाउँका मानिस इन्द्रेणी सपना देख्दै सहर–बजार पस्छन् । त्यही सहरमा बसोवास गर्ने तपाईं आफूले देखेको सपना गाउँठाउँमा पनि फुलाउन सकिन्छ भनेर प्रयासरत हुनुहुन्छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माथिल्लो माल्खुमा तपाईंले देखेको सपना फुल्दै गएको देख्दा, सुन्दा कम्ती लोभ लाग्दैन ।

तपाईंले काठमाडौं चटक्कै छाड्नुभएको छैन भन्ने थाहा छ । तपाईंका लागि काठमाडौं–हलेसी, हलेसी–काठमाडौं पानी पँधेरोजस्तै भएको छ । त्यतिबेला जर्सी र होलिस्टिन जातको ६ गाई काठमाडौंबाट लैजान लागेको छु भनेर चियागफमा सुनाउनुभएको हिजैजस्तो लाग्छ । ४० रोपनी जग्गामा सञ्चालित फार्ममा पालिएका ती गाईले दैनिक ५० लिटरभन्दा बढी दूध दिँदारहेछन् । हलेसी बजारवासीले गाईका दूधबाट उत्पादित दूधजन्य परिकार चाख्न थालेको थुप्रै भयो । लकडाउनताकाबाहेक बजार समस्या छँदै छैन ।

लोकल कुखुरा खान चाहनेले माल्खुसम्म पुग्नुपर्छ । तीन–तीन खोरमध्ये एक खोरका कुखुरा बिक्री हुँदै गर्दा अर्का खोरका कुखुरा हुर्कंदै जाँदारहेछन् भनेर थाहा पाउँदा गरे के नहुने रहेछ र भन्ने लाग्यो । तर, तपाईंजस्तो जाँगरिलोचाहिँ हुनुपर्यो । कुखुराबाट आम्दानी राम्रै हुने सुनाउनुहुँदा साथीभाइको प्रगतिमा नरमाउने को होलान् र । म पनि अछुतो रहन सकिनँ । लोकल कुखुराका भाले प्रतिकिलो ७०० र पोथी ६०० मा खोरबाटै बिक्री हुँदोरहेछ ।

टर्कीको स्वाद चाख्छु भन्नेलाई पनि सुविधा दिनुभएकै छ । तपाईंको फार्ममा पालिएका टर्की प्रतिकिलो १ हजारमा बिक्री गर्दै आउनुभएको रहेछ । गाउँ फर्कंदा टर्कीको मासु चाख्ने रहर गरेको छु । त्यो दिन त्यति टाढा नहोला ।

तपाईंले ‘हलेसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर कुखुरा, गाई र टर्की त पाल्नुभएकै छ, टेलिफोनमा परेवा र बट्टाई पनि पाल्छु भन्दै हुनुहुन्थ्यो । सुरु गर्नुभयो कि छैन ? कुखुरा, गाई र टर्की पालनसँगै फलफूल र तरकारी खेतीले निरन्तरता पाएकै होला । ३२ लाख रुपैयाँ खर्चेर थालिएको व्यवसायको लागत बढ्दै गएको हुनुपर्छ । लागत बढेपछि आम्दानी पक्कै बढ्ने नै भयो ।

त्रिधार्मिक (धाम) हलेसी आइपुगेकालाई लक्षित गर्दै थालिएको व्यवसायले निरन्तरता पाओस् । तपाईंले व्यवसाय थालेको माल्खुमा ‘हलेसी सामुदायिक होमस्टे सुरु गरेको छु भनेर शुभखबर सुनाउनुहुँदा तपाईंभन्दा मलाई धेरै खुसी लागेको छ । हलेसी विकास समितिको प्रयासमा स्थानीय २२ घरधुरी समेटेर सञ्चालित हिन्दु संस्कारमा आधारित होमस्टे अनुकरणीय, अनुशरणीय र सराहनीय बन्न सकोस् । उत्तरोत्तर प्रगतिको शुभकामना ।

तपाईंको शुभचिन्तक
दीपेन्द्र राई

प्रतिक्रिया दिनुहोस्