यसरी लेख्न सकिन्छ समाचार बुलेटिन



समाचार बुलेटिन एकभन्दा धेरै समाचारको सँगालो हो । बुलेटिन छुट्टाछुट्टै समाचारलाई एकै ठाउँमा लिइएको एउटा संयुक्त ढाँचा हो । यसमा समाचारलाई तार्किक रूपमा र उनीहरूको सम्बन्धका आधारमा लिइएको हुन्छ ।
–भाट

समाचार बुलेटिन रेडियो तथा टेलिभिजनले तोकेको समयअनुसार प्रसारण हुने समाचारको सँगालो हो । समाचार प्रसारण गर्ने समयभित्र जति ताजा समाचार संकलन हुन्छ, त्यसलाई छुट्टाछुट्ट रूपमा एकैसाथ प्रस्तुत गरिन्छ । समाचार बुलेटिन प्रस्तुत गर्ने निश्चित समय तोकिएको भए पनि कहिलेकाहीं विशेष घटना वा परिस्थितिमा समाचार प्रस्तुत गरिन्छ । यसलाई विशेष समाचार बुलेटिन भनिन्छ ।

समाचार बुलेटिनमा तोकिएको सीप र सम्पादकीय क्षमता प्रस्तुत गर्नुपर्छ । खासगरी रेडियोको समाचार बुलेटिन १० देखि १५ मिनेटभित्रको हुन्छ । तर, कहिलेकाहीं पाँच मिनेटको पनि समाचार बुलेटिन हुन्छ । पाँच मिनेटको बुलेटिनमा हेडलाइन हुँदैन ।

समाचार बुलेटिनमा निम्न तत्व हुन्छन्

‘हेडलाइन’

प्रसारण माध्यमका शीर्षक भनेको समाचारका मुख्य बुँदा हुन् । खासगरी हरेक घण्टामा प्रसारण हुने समाचार बुलेटिनको समायावधि १० मिनेटको हुन्छ । यस्ता समाचार बुलेटिनमा कम शीर्षक हुन्छन् । यस्तो अवधि भएका समाचार बुलेटिनमा सामान्यतया चार हेडलाइन हुन्छन् । १५ मिनेट समयावधिका समाचार बुलेटिनमा पाँच हेडलाइन हुन्छन् । तर, कुनै समाचार बुलेटिन लामो समयको हुन सक्छ । कुनै समाचार बुलेटिन एक घण्टाको पनि हुन सक्छ । यस्ता बुलेटिनमा समाचारलाई विस्तृत रूपमा प्रस्तुत गरिन्छ । यस्ता बुलेटिनमा समाचारको बीच–बीचमा समाचारको शीर्षक प्रस्तुत गरिन्छ ।

‘द बडी अफ बुलेटिन’

समाचारका शीर्षक पढिसकेपछि विभिन्न समाचार पढिन्छन् । विभिन्न समाचारका प्रकार नै समाचारका शरीर हुन् । तर, कुनै–कुनै समाचार समाचारको शीर्षक नै नपढीकन पनि प्रस्तुत गरिन्छ । यस्ता समाचार औपचारिक किसिमका हुन्छन् । यस्ता कामलाई राम्रो प्रयास मानिदैन । खासगरी समाचारीय महत्व बोकेका समाचारलाई सुरुवातमै प्रस्तुत गरिन्छ, जसको शीर्षक पनि प्रस्तुत गरिन्छ ।

बुलेटिनमा ‘द ब्रेक अफ कमर्सियल ब्रेक’ र ‘द रिपिटेड हेडलाइन’ पनि हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्