पत्रकारको हैसियत र गर्नैपर्ने काम



मिडियामा काम गर्ने व्यक्तिलाई पत्रकार भनिन्छ । पत्रकार अखबार, पत्रिका, रेडियो, टेलिभिजन र्वा अनलाइन म्यागेजिनमा काम गर्छन् । उनीहरूले आफूसम्बद्ध मिडियाका लागि समाचार संकलन तथा लेखन, सम्पादन, प्रसारण तथा सम्प्रेषण गर्छन् ।
पत्रकार हुनका लागि कति पढ्नुपर्छ भन्ने कुनै नियम छैन । तर, सम्पादक हुनका लागि न्यूनतम स्नातक उत्तीर्ण हुनुपर्ने वा दस वर्ष पत्रकारिता गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । तर, हिजोआज युवा पुस्ता न्यूनतम स्नातक तह उत्तीर्ण गरी पत्रकारितामा प्रवेश गरेको पाइन्छ । उनीहरू विभिन्न पृष्ठभूमिबाट आएका देखिन्छन् ।

पत्रकारले प्रेसको महत्वबारे जान्नैपर्छ । उनले आफ्नो कामबाट सन्तुष्टि दिन सक्नुपर्छ । प्रत्येक कुराको केही कुरा र केही कुराको प्रत्येक कुरा जान्नैपर्छ । सबै कुरामा ध्यान दिने र जानकारी लिन सक्ने हुनुपर्छ भन्ने कुनै एक विषयमा दक्षता हासिल गर्नुपर्छ । यसलाई पत्रकारिताको क्षेत्रमा कार्यक्षेत्र (बिट) भनिन्छ ।

सम्बन्धित पत्रकार सक्रिय, सन्तुलन, विश्वसनीय, प्रतिबद्ध, इच्छाशक्ति भएको र खुला हृदयको हुनुपर्छ । कुनै नयाँ कुरा जान्ने दृढ इच्छाशक्तिमात्र होइन, आवश्यकताअनुसार कुनै पनि समयमा कुनै पनि ठाउँको यात्रा गर्न सक्ने हुनुपर्छ । सञ्चार सीप राम्रो भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषामा दख्खल भएको हुनुपर्छ ।

पत्रकार संवाददाता, ज्यालादारी समाचारदाता, विशेष संवाददाता, उपसम्पादक, फिचर सम्पादक, समाचार सम्पादक, सम्पादक, प्रधानसम्पादक आदिका रूपमा परिचित छन् । त्यस्तै, कार्टुनिस्ट र फोटो पत्रकार पनि पत्रकार हुन् ।

पत्रकार कस्ता हुन्छन् भन्नेसम्बन्धमा सन् २००२ मा हार्गेभ्सले बेलायती पत्रकारमाथि एक अध्ययन गरेका थिए । उनले गरेको अध्ययनअनुसार बेलायती पत्रकार अधिकांश युवा (७० प्रतिशत ४० वर्षमुनिका), ९८ प्रतिशत स्नातक तह उत्तीर्ण, औसतमा वर्षको २२ हजार ५०० स्ट्रलिङ पाउन्ड तलब बुझ्ने र अधिकांश मध्यमवर्गीय परिवारबाट आएको पाइएको थियो । तर, विकासोन्मुख देशमा काम गर्ने पत्रकारको आयस्रोत भने सन्तोषजनक छैन ।

पत्रकारको हैसियत र काम

सामान्य रूपमा पत्रकार भनेका घटनाको अवलोकन गर्ने, समाचार संकलन र सम्प्रेषण गर्ने एवम् समाचार सम्पादन गर्ने व्यक्ति हुन् भन्ने अर्थ लाग्छ । तर, सबै पत्रकारको हैसियत र काम एकैप्रकारको हुँदैन । कोही छापामा काम गर्छन् भने कोही विद्युतीय माध्यममा । र, कोही अनलाइन म्यागेजिनमा ।

जिम्मेवारी र कामअनुसार उनीहरूको पदीय हैसियत पनि भिन्नभिन्नप्रकारका हुन्छन् । पत्रकारका रूपमा काम गर्ने व्यक्तिको हैसियत उनीहरूको काम र महत्वका विषयमा निम्नानुसार चर्चा गरिएको छ ः

रिपोर्टर

प्रत्येक पत्रकार कुन माध्यमको कुन तहमा काम गर्छन्, उनीहरू आधारभूत रूपमा समाचारदाता हुन् ।
–निल एन्ड ब्राउन

तिनीहरू प्रेसको आँखा र कान हुन् ।
–हज

सूचना संकलन गरी त्यसलाई समाचार बनाउने व्यक्ति नै रिपोर्टर हुन् । उनीहरू समाचारको संसारमा सिपाही पनि हुन् । उनीहरू अखबार, पत्रिका तथा विद्युतीय माध्यमका प्रतिनिधि हुन् ।

रिपोर्टरको काम भनेको सूचना संकलन गर्ने र लेख्ने हो । जसरी पानीविना मानिसको जीवन चल्न सक्दैन, उसैगरी रिपोर्टर भएन भने कुनै पनि सञ्चारमाध्यम चल्न सक्दैनन् । त्यसैले रिपोर्टरलाई पत्रकारिताको मुटु भनिन्छ । कतिपयले राम्रो पत्रकार हुनका लागि सुरुमा रिपोर्टर हुनुपर्छ भन्नेमा जोड दिएका छन् ।

‘क्वालिटी अफ रिपोर्टर’

रिपोर्टर हुनका लागि केही निश्चित गुण चाहिन्छ ।

समाचार सुँघ्न सक्ने क्षमता ।

तयारी अवस्थामा बस्ने ।

कुनै पनि ठाउँमा पुग्न तयार हुने ।

प्रविधि र उपकरण चलाउन जान्ने ।

समाचारको संरचना बुझ्ने ।

एबीसी पालना गर्न सक्ने ।

भाषिक ज्ञान भएको ।

प्रश्न सोध्न सक्ने ।

स्रोत बनाउन सक्ने तर स्रोत नखोल्ने ।

साहसिक ।

भावनामा नबग्ने ।

धर्म र जातीयताप्रति सचेत ।

गल्तीलाई स्वीकार्न सक्ने ।

समूहमा बसेर काम गर्न सक्ने ।

बोल्नुभन्दा बढी काम गर्ने ।

मर्यादा पालन गर्न सक्ने ।

प्रतिक्रिया ग्रहण गर्ने ।

आफ्नोभन्दा देश र समाजका लागि लेख्ने ।

रिपोर्टर पनि विभिन्न किसिमका हुन्छन् । जस्तो समाचार लेखेबापत प्रकाशित भएको लाइनका आधार पारिश्रमिक बुझ्ने रिपोर्टरलाई लाइनर, समाचारका आधारमा पारिश्रमिक बुझ्नेलाई स्ट्रिन्जर र जसले समाचारका लागि सूचनामात्र ल्याउँछ तर लेख्दैनलाई लेग रिपोर्टर भनिन्छ ।

‘करेस्पोन्डेन्ट’

करेस्पोन्डेन्ट पनि रिपोर्टर नै हुन् । तर, यो भूमिकामा काम गर्नेलाई निश्चित बिट दिइएको हुन्छ । उनीहरू एउटा निश्चित विषयवस्तुबारे गहिरो जानकार हुन्छन् । उनीहरू सञ्चार गृहका नियमित कामदार हुन् । र, उनीहरू पूर्णकालीन हुन्छन् । उनीहरूको काम पनि आफूलाई दिइएको बिटमा समाचार संकलन गर्ने र लेख्ने हो ।

‘स्पेसल करेस्पोन्डेन्ट’

विशेष संवाददातालाई विशेषप्रकारको समाचार संकलनमा खटाइएको हुन्छ । उदाहरणका लागि संसदीय समाचार, अपराध, द्वन्द्व, खेलकुद, व्यवसाय आदि क्षेत्रमा हुने विशेष घटना वा समाचार संकलनका लागि विशेष संवाददाता नियुक्त गरिएको हुन्छ ।

त्यस्ता संवाददाता खोजी रिपोर्टिङका लागि नियुक्त गरिएका हुन्छन् । त्यस्ता संवाददातामध्ये कतिपय त छोटो र निश्चित अवधिका लागि नियुक्त गरिएका हुन्छन् ।

‘चिफ रिपोर्टर’

रिपोर्टर धेरै हुन्छन् । त्यसैले रिपोर्टरको समूहलाई नेतृत्व गर्ने एक व्यक्ति हुन्छन् । उसैलाई प्रमुख संवाददाता भनिन्छ । रिपोर्टरमध्ये सबैभन्दा वरिष्ठ व्यक्तिलाई प्रमुख संवाददाताका रूपमा चयन गरिन्छ । त्यस्ता व्यक्तिले लामो समयसम्मको रिपोर्टिङ गरेको अनुभव हुनुपर्छ ।

प्रमुख संवाददाताले रिपोर्टरलाई अपेक्षा गरिएअनुसारको समाचार संकलनका लागि खटाउने वा परिचालन गर्ने गर्छ । त्यसरी खटाउनु वा परिचालन गर्नुलाई ‘असाइनमेन्ट’ भनिन्छ । तर, सही सत्य छ भने रिपोर्टरले प्रमुख संवाददाताले अपेक्षा नगरेको समाचार पनि ल्याउन सक्छन् ।

प्रमुख संवाददाताले कस्तो समाचार कसरी ल्याउने भन्नेबारे योजना बनाउँछन् । त्यसरी भएका सबै घटना र गतिविधि सम्झनु, सूचित हुनु र त्यसलाई छुट्न नदिनु प्रमुख संवाददाताको प्रमुख काम हो ।

प्रमुख संवाददाता विभिन्न समाचार स्रोतसँगको नियमित सम्पर्कमा रहनुपर्छ । स्रोतबाट समाचारको संकेत पाउनासाथ मातहतका रिपोर्टरलाई सूचना दिएर सम्बन्धित ठाउँमा खटाइहाल्नुपर्छ । प्रमुख संवाददाताले आवश्यकताअनुसार समाचार अस्वीकार पनि गर्न सक्छ । कतिपय विशेष घटनामा प्रमुख संवाददाता आफैं समाचार संकलनमा जानुपर्ने हुन्छ ।

प्रमुख संवाददाताका मुख्य काम

 

रिपोर्टिङ सेक्सनको योजना र नीति बनाउने ।

रिपोर्टरलाई परिचालन गर्ने ।

बिट व्यवस्थापन गर्ने ।

रिपोर्टिङका निर्देशन दिने ।

राम्रा समाचार खोजीमा लाग्ने ।

विशेष रिपोर्टिङको योजना बनाउने ।

प्रतिस्पर्धीसँगको तुलनात्मक अध्ययन गर्ने ।

प्रशासनिक काम गर्ने ।

प्रतिक्रिया दिनुहोस्