नेपाली जहाँ पुग्यो, त्यहीं बत्ती जाने !


बिहान ६ बजे उठें । राति सुत्न नपाए पनि बिहान अबेरसम्म निद्रा लाग्दैन । लेख्न थालेको थिएँ– शरीर कम्पन भएझैं भयो । नुहाउन थालेको स्नानघरमै ढलिने हो कि भनेझैं भयो । बिहान ताजगी हुने समयमा यो के भएको होला भन्ने लागिरहेको थियो । बिस्कुट र पानी खाएँ । आज ढिला सुतेका कारण नौ बजेमात्र खाजाको समय निर्धारित थियो । नौ बजेसम्म त्यत्तिकै पल्टिएँ । नौ बजे खाजा खान गयौं । तर, खाने इच्छा पनि भएन । बल गरेर थोरै खाएँ । खै के हो के हो चिड्चिडाहटजस्तो भइरह्यो ।

ग्वाङझाउ नेपालको तराईजस्तै गर्मी ठाउँ रहेछ । हिजो राति तीन बजे लबीमा पसिना तरर झार्दै दुईटी हल्यान्डका आमाछोरीमध्ये आमाचाहिँले ‘धेरै गर्मी रहेछ । मलाई चीन मन परेन । तपाईंलाई मन पर्छ ?’ दायाँ–बायाँ हेर्दै सानो स्वरमा भनेकी थिई । हो गर्मीले अत्याउने रहेछ । शरीरबाट धेरै पसिना जानु र निदाउन नपाएका कारण समस्या भएको हो कि जस्तो लाग्यो । पानी र बिस्कुट अलि बढी खाएपछि केही कम भयो ।

ग्वाङझाउ चीनको ग्वाङडोङ प्रान्तको मध्यभागमा अवस्थित पुरानो सहर हो । यसलाई पर्ल नदीको सभ्यता पनि भनिन्छ । चीन सागरसँग जोडिएको बाइयुन पर्वत नजिकै यो सहर रहेको छ । काली, सेती र त्रिशूली मिसिएर नारायणी बनेझैं डोङ जियाङ, सिजयाङ र बेइजियाङ तीन ठूला नदी मिसिएर पर्ल नदी बन्छ । जसरी नारायणीले अरू थुप्रै स–साना नदी समेट्दै अगाडि बढ्छ । समुद्रमा पुग्नु अगाडि तीन दिदीबहिनी एक ज्यान भएर पर्ल नामबाट समुद्रमा अन्तध्र्यान हुन्छन् ।

ग्वाङडोङ प्रान्तको राजधानी ग्वाङझाउ दक्षिण चीनको सबैभन्दा ठूलो औधोगिक, व्यापारिक सहर हो । रेशममार्ग प्रवेशका नाकामध्ये ग्वाङझाउ एउटा प्रमुख नाका हो । सनयात सेन संग्रहालय यहाँको सबैभन्दा चर्चित पर्यटकीय स्थल हो । सनयात सेनले यही सहरमा पार्टीको मुख्यालय बनाएका थिए । आधुनिक व्यापार, व्यवसायका दृष्टिले भने ग्वाङझाउको उदय पछिल्लो अवधिमा भएको हो । चीनको पछिल्लो नेतृत्वले हङकङको विकल्पमा यो सहर निर्माण गरेको बताइन्छ । हङकङको सभ्यताको पछाडि बेलायत नभएको भए सम्भव थिएन भन्नेलाई मुखभरिको जवाफ हो– ग्वाङझाउ ।

एउटा टेबलमा बसेर खाजा खाइरहेका थियौं । अर्को टेबलमा खाजा खाइरहेका उत्तर भारतीयजस्ता लाग्ने मानिसले हामीलाई हेरिरहेका थिए । उनीहरू त गणतन्त्र मोरिससका नागरिक पो रहेछन् । खाजा खाएर ग्वाङझाउ गल्लीमा केही समय टहलियौं । घाम बहुलाहा हात्तीझैं मडारिँदै थियो । होटलमा फक्र्याैं । तर, लोडसेडिङ पो रहेछ । नेपाली जहाँ पुग्यो त्यहीं बत्ती जाँदोरहेछ ! मध्याह्न १२ बजेसम्म आराम गर्यौं ।
जहाज ढिलो भएका कारण खाने–बस्ने व्यवस्था हवाई कम्पनीले गरेको थियो । यो उसको बाध्यात्मक काम थियो । राम्रो व्यवस्था हुने कुरा भएन । मुग्लिङका होटलको जत्तिको पनि व्यवस्थापन थिएन । ‘आज सुँगुर र कुकुरले जस्तै दिएको र फालेकोमा परियो,’ किशोर श्रेष्ठको प्रतिक्रिया थियो । हिजोसम्म आतिथ्य सत्कारले पुरिएका थियौं । आज थोरै पनि खान सकिएन । धेरै समयसम्म शिखरमा बसेपछि तल ओर्लन गाह्रो पर्दोरहेछ तर आराम गर्ने कोठा भने सधंैको भन्दा कमजोर थिएन । खानेकुरामा ठगी–बदमासी हवाई कम्पनीको हो कि होटलको हो थाहै भएन । त्यो बुझ्ने झन्झट पनि गरिएन ।

आज युरोप र अमेरिकी बान्कीको विकास पछाडि परेको छ र चिनियाँ बान्कीको विस्तार भएको छ । चिनी बान्कीको तीव्र गतिको रेलसेवा भारतमा विस्तार हुँदै छ । तर, ५० वर्षसम्म घाटामा जाने अनुमान गर्दै आलोचनाका स्वर सुनिन थालेका छन् । स्टालिनको क्रान्ति निर्यात र अमेरिकाको शान्ति र सभ्यताको निर्यातबाट पीडित चिनियाँ अधिकारी शान्ति र क्रान्ति दुवै जबरजस्ती निर्यात नगर्ने बताउँछन् । कसैले पनि नहार्ने विकास नीतिबाट उनीहरूको विदेश नीति निर्देशित बनाइन्छ । हाम्राबीचमा चिनियाँ विकासको विषयमा छलफल चलिरहेको थियो । तीर्थ कोइराला चीनको विकासको समीक्षा गर्न सकिन्छ तर निष्कर्ष निकाल्ने समय भइसकेको छैन । सोभियत संघ चन्द्रमाबाट फर्केको भोलिपल्ट धराशयी भएको थियो भन्दै थिए । पश्चिमी अर्थशास्त्रीले रुचिका साथ अध्ययन गर्ने पश्चिमका चिन्तक मार्टिन ज्याक्स भन्छन्, ‘चीनको अर्थतन्त्र सन् २०२५ मा अमेरिकी अर्थतन्त्र बराबर हुन्छ र अर्को २५ वर्षमा अमेरिकाको भन्दा दोब्बर हुनेछ ।’ त्यो भविष्यवाणीबाट पश्चिमी सभ्यताको निद्रा हराएको छ । चीनले सार्वजनिक नगरेको मात्र हो, उसको अर्थतन्त्र अहिले नै संयुक्त राज्य अमेरिकाभन्दा माथि पुगिसकेको छ भन्नेहरू पनि छन् । ब्रिक्स बैंक स्थापनाबाट त्रसित पश्चिमी संसार रुस, चीन ३० वर्षे ग्यास सम्झौतालाई विस्तारवादी हस्तक्षेप भन्न थालेको छ । क्रिमिया विवादमा चीनले रुसको पक्ष लिएपछि नेटो सैन्य गठबन्धनको भूमिका असरविहीन ‘ढोडको लठ्ठी’ बन्न पुगेको छ ।

पछिल्लो अवधिमा विश्वभरि आर्थिक संकट देखापरेको छ । इटाली, स्पेन, मिश्र उठ्नै नसक्नेगरी थलिएका छन् । अमेरिका थलापरेको छ । अमेरिकाको ओह्रालो यात्रालाई पश्चिमी अर्थशास्त्रीले नै ‘पुँजीवादको अन्त्य’ भन्न थालेका छन् । युरोपका कतिपय देशले ‘संकटमोचन कोष’ निर्माण गर्न थालेका छन् । लोककल्याणकारी बजेट कटौती गर्दा जनअसन्तोष बढ्दै गएको छ । त्यस्तो अवस्थामा पनि चीनको आर्थिक वृद्धिदर १० प्रतिशतबाट ७.४ सम्ममात्रै झरेको छ । पश्चिमी सभ्यताबाट प्रताडित बाँकी मानव सभ्यताले चीनप्रति आशाका दृष्टिले हेरेको छ । चीनको नक्सा गौर गरेर हेर्दा निदाएको बाघले यसो टाउको उठाएर पछिल्तिर हेरेजस्तो देखिन्छ । चीनको त्यसप्रकारको नक्सा र चीनको विशाल सम्भावनालाई दृष्टिगत गरेर प्रतीकात्मक दृष्टिले विश्वविजेता नेपोलियन बोनापार्टले ‘त्यहाँ एउटा सिंह निदाइरहेको छ, त्यसलाई निदाइरहन देऊ,’ भनेका थिए । आज त्यो सिंह व्युँझिसकेको छ । सिंहलाई मानिस हिंस्रक प्राणी ठान्छन् । तर, सिंह प्राकृतिक रूपले शान्तिप्रिय प्राणी हो । आफ्नो प्राकृतिक अधिकारबाहेक अन्यत्र उसले हमला गर्दैन । एकान्तमा बस्छ, अरू प्राणीलाई दुःख दिन निहुँ खोज्दै हिँड्दैन । जब उसमाथि अरू प्राणी आइलाग्छन् धर्तीको सबैभन्दा भीमकाय प्राणी वन हात्ती पनि सिंहदेखि थरथरी हुन्छ ।

ताइवान, सिन्ज्याङ, चिनियाँ सागर समूह चीनका ठूला समस्या हुन् । तिब्बतको प्रश्न समाधान भइसकेको ठान्दा हुन्छ । ‘८० प्रतिशत मानिस खुसी छन् भने २० प्रतिशत मानिसको वास्ता नगर’ भन्ने कतिपय चिनियाँ अधिकारीको धारणा चीनको दीर्घकालीन हितमा छैन । चीनमा पश्चिमी उपभोक्तावाद ज्यामितीय रूपले बढ्दै गएको छ । ‘आजका चिनियाँ हिजोका जस्ता इमानदार छैनन्’ भन्ने भनाइ स्थापित हुँदै गएको छ । त्यसको अर्थ चीनभित्र पश्चिमी संस्कार हुुर्किरहेको बुझ्न सकिन्छ । त्यसप्रकारको शक्तिले चीनको राजकीय निकायमा प्रभाव विस्तार गर्दै जान सक्छ । निजी सम्पत्ति र भौतिक विकास त पुँजीवादले नै गरिसकेको छ । त्यसका लागि माक्र्सवादको अनिवार्यता छैन । सम्पत्ति स्वामित्वमा राजकीय (सामूहिकता) र मानव जातिको मानविकरणका लागि समाजवादको अपरिहार्यता ठानिएको हो । चीनको आर्थिक नायक भनेर प्रचारित देङ स्याओ पिङका चार प्रमुख नीति–

(१) साम्यवादी पार्टीको सर्वोच्च नेतृत्व

(२) समाजवादी मार्गको अनुशरण

(३) जनवादी प्रजातान्त्रिक अधिनायकवाद

(४) माक्र्सवाद, लेनिनवाद, माओवादको चिन्तन

यी नीतिमा अलग्गै छलफल गर्न सकिन्छ तर अध्यक्ष माओले राजनीतिक क्रान्तिमात्र गरे भन्ने कुरा पूर्णतः गलत र नांगो झुठ हो । त्यसैगरी देङ स्याओ पिङले आर्थिक चिन्तनमात्र गरे भन्ने कुरा पनि सही होइन । त्यसैगरी लु सुनलाई सांस्कृतिक पक्षमा मात्र कैद गर्नु पनि समग्रता होइन ।

अणुबमको धम्की दिएर चीनलाई अमेरिकीले झुकाउन चाहेका थिए । अध्यक्ष माओले ‘अणुबम कागजी बाघ हो,’ भनेका थिए । सन् १९६४ मा चीनले अणुबमको सफलतापूर्वक परीक्षण गरेको थियो । अमेरिकी पूर्वराष्ट्रपति निक्सनले आफ्नो कृति ‘शान्तिपछि’ (Beyond Peace) मा ‘चीन नयाँ शताब्दीमा विश्वको सबैभन्दा धनी र पुँजीवादी देश बन्नेछ,’ भनेका थिए । चिनियाँ अधिकारीले ‘हाम्रो हावापानी सुहाउँदो समाजवाद’ भनिरहेका समयमा बाँकी विश्वले भने चीनलाई अमेरिकाका भूतपूर्व राष्ट्रपतिकै चश्माले हेरिरहेको छ ।

अनिल शर्मा विरही

होली डे होटलमा अपराह्न तीन बजेसम्म आराम गर्यौं। होटलको नै बसले हामीलाई चार बजे हवाई अड्डा पुर्यायो । दक्षिण दिशाबाट कालो बादल मडारिँदै आएर आकाश–धर्ती छोप्लाझैं थियो । हुरी चल्दै थियो । लाग्थ्यो– महाप्रलय हुँदै छ । मुसलधारे वर्षा सुरु भयो । काठमाडौंको मौसम प्रतिकूल भएको सूचना प्रसारित भइरहेको थियो । आज पनि यतै बस्नुपर्ने हो कि भन्ने त्रास थियो । यात्रु जाँच कक्षको काम सकिएपछि हवाई अड्डाको प्रतीक्षालयमा १ः३० घन्टा उडानका लागि प्रतीक्षा गर्नुपर्ने थियो । प्रतीक्षालयमा जताततै नेपाली भेटिन्थे । ग्वाङझाउ संगमस्थल बन्दै गएको छ । हाम्रो उडान समय १९ः४० बजे थियो । आज पनि समयमा उडान भएन । हवाई अड्डाको बाहिर मुसलधारे वर्षा भइरहेको थियो । भवनको छतबाट खसेको पानी झरनाजस्तो देखिन्थ्यो ।

आज पनि ग्वाङझाउको दिक्दारी खेप्नुपर्ने हो कि भनेर तनाव भइरहेको बेला जहाजले उडान भर्ने सूचना स्क्रिनमा प्रसारित भयो । यात्रु खुसी हुने नै भए । जहाजमा गएर बस्यौं । नारायणी अञ्चलका आनन्द, चन्द्रकिशोर र म एउटै लहरमा परेछौं । ‘नारायणी अञ्चलका सबैलाई एउटै ठाउँमा, त्यो पनि विशिष्ट स्थानमा के षड्यन्त्र भयो हँ ?’ चन्द्रकिशोर खुसी व्यक्त गर्दै थिए । अघिल्लो दिनको टिकट रद्द गरेर

आकस्मिक व्यवस्था गर्नुपर्दा बाँकी–टाँकी मिलाउँदा ‘राज्यले छाडेको, भाग्यले पाएको’ भनेझैं भएको होला । यात्रु चढिसकेका थिए । तर, धेरै बेर उडेन । आज पनि सांघाईमा जस्तै मौसम खराब भन्ने हो कि भन्ने त्रास थियो । जहाज नउड्दै पेयपदार्थ लिएर रातो पोसाकमा परिचारिका आए । ‘हामी बच्चा हौं र चिची–पापा बाँडेर भुल्याउने धैर्य गर्नुस् भने भइहाल्छ नि,’ साथीहरू भुनभुनाउँदै थिए । आधा घन्टाको प्रतीक्षापछि जहाजले चीनको धर्ती छोड्यो ।

वायुयान उडेको लगत्तै परिचारिकाले खाना बाँड्न सुरु गरे । साँझ नपर्दै खाने चिनियाँ संस्कृति थियो । राति ८ः१५ भइसकेको हुनाले चिनियाँका लागि खाने समय घर्किसकेको हुँदो हो । चाइना एयरको तुलनामा नराम्रो मानिने साउथ चाइना एयरका हवाई परिचारिका भने असल लाग्यो । मानिसका अपेक्षालाई गम्भीरतापूर्वक लिन्थे । ‘तपाईं भारतको सीमा नजिकको बासिन्दा हो ?’ एउटीले चन्द्रकिशोरलाई सोधी । त्यसपछि अलिबेर लगाएर शाकाहारी खानेकुरा ल्याइदिई । हाम्रो मानसपटलमा एकातिर ग्वाङझाउकी दुष्ट होटलवाली, सांघाई हवाई अड्डाका पीडक कर्मचारी थिए । अर्कोतिर वायुयानका परिचारिका थिए । ‘असल र खराब, दुष्ट र इष्ट धर्तीको जुनसुकै कुनामा पनि हुन्छन् । चिनियाँ दुष्ट जाती होइन है,’ परिचारिकाको व्यवहार आफैं बोलिरहेको थियो । अनुभवी साथी र सामूहिक यात्रा नभएको भए ठूलो गोता खाइने स्थिति थियो ।

रात्रि यात्रा थियो । ग्वाङझाउ सहर निदाउँदै थियो । दिउँसोको यात्रा भएको भए दृश्यावलोकन गर्ने अवसर हुन्थ्यो । यात्रु निदाइसके थिए । दुई दिनको अनिद्रा थियो । अहिले पनि अटसपटस भइरहेको थियो । कहिले धेरै निद्रा लागेर हैरान, कहिले निद्रा नै नलागेर दिक्क । काठमाडौं कहिले आउला र झर्न पाइएला भन्ने भइरहन्थ्यो । चीन जाँदा जस्तो आनन्दनुभूति फर्कंदा भएन । त्यसै पनि रात्रि यात्रा सहज हुँदैन । जहाजको टेलिभिजनको पर्दामा अबको करिब २२ मिनेटमा जहाज काठमाडौं विमानस्थल उत्रिँदै छ भन्ने सूचना थियो । हामी जर्याकजुरुक उठ्यौं । कवि तथा लेखक आनन्दराम पौडेल गजल सुनाउन थाले । नेपाली समयअनुसार राति १२ बजे हामी विमानस्थलबाट बाहिरिएका थियौं । विमानस्थलबाट बाहिर निस्कनासाथ ट्याक्सीवालको लुटेराशैली, रुखो व्यवहार, अभ्रद्रसँग ठोक्किनुपर्यो । चिनियाँ साथीहरूले टोली छुट्यो र होटलमा पुग्न समस्या पर्यो भने ट्याक्सी समात्नुहोला, बदमासी गर्दैनन् । चीनबाट फर्कंदा वायुयानबाट झर्नासाथ हाम्रो हवाई अड्डा कटेरोजस्तो लाग्दै थियो । चीन भ्रमणले आफ्नो देशको दुरावस्था झनै बढी अनुभूति हुँदै थियो ।

काठमाडौं, नेपाल

२०७१ असार ७/२०१४ जुन  २१

समाप्त ।

(लेखक विरहीको चीन डायरी १ देखि १४ अंकसम्म प्रकाशित गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्