ढुंगेजंगलमा सिङवाला पोसाक


 चीन प्रवेशको दोस्रो दिनमै नजिकका घुम्नलायक ठाउँ कुन–कुन होलान् भनेर इन्टरनेटमा खोजिपस्दा ढुंगेजंगलको नाम थाहा पाएँ । विद्यार्थी र विदेशी प्राध्यापकले एकपटक त्यहाँचाहिँ जानुहोस् है भनेपछि कहिले पुगौँजस्तो लागेको थियो । कहाँ छ, कसरी जानुपर्छ, खर्च कति लाग्छ भन्ने कुरा त इन्टरनेटमा हेरे थाहा भइहाल्छ । विदेशको ठाउँ चाहँदैमा जान नसकिने रहेछ । बस्ने ठाउँबाट डेढ दुई घन्टामा पुगिने भएर पनि मन लागेकै बेला जान सकिएन । एक्लै जाउँ भने न त भाषा आउँछ, न त एक्लै घुम्न मज्जा आउँछ । त्यसैले साथी र समयको प्रतीक्षा गर्दै बसियो र चार महिनापछि साइत जुर्यो ।

फिलिपिन्सको रेडक्रस कार्यालयमा काम गर्ने सिन्धुलीका मित्र नीरप्रसाद दाहाल चीन घुम्नेक्रममा युनान प्रान्तका केही प्रसिद्ध ठाउँ पनि घुम्नेगरी आए । उनी आएकै दिन लिच्याङ गइयो, भोलिपल्ट त्यहाँबाट फर्केर आइयो र पर्सिपल्ट अर्थात् २९ डिसेम्बर २०१९ का दिन ढुंगेजंगल घुम्ने साइत जुराइएको थियो । नीरजी साथी त भए तर हामी दुवैलाई चिनियाँ भाषा नआउने । विश्वास श्रेष्ठ भाइले साथ दिने भएपछि सजिलो भयो । अझ सिद्धान्त सुवेदी, उनकी थाई साथी सुरिपोर्न र ज्योति कार्की पनि हामीसँग जाने भए, झनै रमाइलो भयो । विश्वास भाइले सबै योजना मिलाए ।

अघिल्लो दिन राति साढे ११ बजे कोठामा आइपुगिएको थियो । सुत्दा १२ बजेको थियो । त्यसैले बिहान अलिक ढिलैसम्म सुतियो । उठेर हतार–हतार नुहाइधुवाइ गरेर बिहान ८ बजे म र नीरप्रसादजी विश्वविद्यालयको प्राध्यापक आवासगृहबाट निस्क्यौं । क्यान्टिनमा हल्का खाजा खाएर पूर्वसल्लाहअनुसार युनान मिन्चु विश्वविद्यालयको ४ नम्बर गेटअगाडिको होटलछेउ गयौं । हामी पुग्नेबित्तिकै विश्वास, सिद्धान्त र सुरिपोर्न पनि त्यहाँ आइपुगे । हामी ट्याक्सी चढेर कुन्मिङ साउथ रेल्वे स्टेसन गयौं । बिहान ९ः५२ को रेल टिकट रहेछ, थियो । तर, ज्योति कार्की कुन्मिङ मुख्य सहरमा बस्ने, उनी आउन ढिलो भयो, त्यसैले उनलाई पर्खेर ल्याउने भए विश्वास भाइले । हामी चारजना भने फास्ट ट्रेन चढेर गन्तव्यतिर लाग्यौं । आखिर फास्ट ट्रेन न पर्यो । १५ मिनेटमै हामीलाई सिलिङ वेस्ट स्टेसन पु¥याइदियो ।

रेलबाट उत्रिएर विश्वास र ज्योतिलाई पख्र्यौं । सिद्धान्तकी थाई साथीलाई अलिक पट्यार लागेकोजस्तो थियो । सायद भोक पनि लागेको थियो । त्यहाँ खानेकुरा नपाइँदोरहेछ । डाँडो टुप्पो तर खैरातो पाखोमा रेल्बे स्टेसन । वरपरका घरहरू ठ्याक्कै नेपालकै जस्ता । घाम ताप्दै, फोटो खिच्दै र यताउता टहल्दै ४० मिनेट बिताएपछि ज्योति र विश्वास आइपुगे । त्यसपछि ९९ नम्बरको बसमा प्रतिव्यक्ति १० युआन तिरेर हामी हाम्रो गन्तव्यतिर लाग्यौं । बस खैराते पाखाबाट गाउँ, त्यसपछि सहर र फेरि गाउँ हुँदै करिब आधा घन्टापछि ढुंगेजंगलको मुख्य प्रवेशद्वारमा रहेको बस स्टेसन पुग्यो ।

ढुंगेजंगलभित्र पस्नुअघि खानेकुरा खाने सल्लाह गर्दैगर्दा एक महिलाले हामीलाई पहिले छियिन गुफा जानु राम्रो हुन्छ भन्ने सल्लाह दिइन् । उनको सल्लाहअनुसार एउटा ट्याक्सी रिजर्भ गरेर हामी गुफातिर लाग्यौं । त्यो गुफा त्यहाँबाट करिब ५० किलोमिटर टाढा रहेछ । गुफाछेउमा सानो–सानो बजार, हामीले खाना खायौं । खानाको परिकारको नाम थाहा नहुने, चित्रमा देखाएको भरमा यो ल्याइदेऊ भन्यो, चित्रमा देखाएभन्दा फरकखालको आउने । खानामा अलिक नर्खट गर्ने स्वभाव रहेछ– विश्वास भाइको । ज्योति, सिद्धान्तकी साथीलाई त्यहाँको खाना खासै मन परेन । म र नीरजीको स्वभाव अलिक भातेखालको रहेछ, हामीले भने स्वाद मानेरै खायौं । सिद्धान्तले चाहिँ मन पनेखाले चाउचाउ मगाएका रहेछन्, चाउचाउका त्यान्द्रालाई ख्वाइच्मा फनफनी बेर्दै स्वाद मानीमानी खाए ।

खानपिनपछि हामी गुफाभित्र छिर्यौं । गुफा साह्रै आकर्षक रहेछ । एउटा सानो–सानो पहाडभित्र पूरै गुफा, थोरै प्राकृतिक र धेरै निर्मित, प्रकृतिलाई चिरिच्याट्ट पारेर सिँगार्न साह्रै सिपालु रहेछ, चीन । तीन वर्गमिलोमिटर क्षेत्रफलमा गुफाभित्रै नदी, झरना, पोखरी चमत्कारै चमत्कारजस्तो लाग्ने । हिँड्ने बाटो व्यवस्थित रूपमा बनाइएको छ, बत्तीको व्यवस्था उस्तै, “फ्री फोटो” भन्दै फोटो खिच्न अनुरोध गर्नेहरू क्यामेरा तेर्साएर बसिरहेका । कतै उकालो सिँढी चढ्नुपर्ने, कतै ओह्रालो सिँढी झनुपर्ने, कतै नदीका सानो–सानो पुल । फोटो खिच्ने ठाउँमा पालो पर्खिनुपर्ने । हामी पालो पर्खिंदै, फोटो खिच्दै अघि बढ्यौं । “फ्री फोटो” लिने ठाउँमा पुगेपछि थाहा भयो, एउटा सानो पासपोर्ट साइजको फोटो फ्रिमा दिने रहेछन्, ठूलो फोटो चाहिएमा पैसा तिनुपर्ने रहेछ । ज्योति, सिद्धान्त र उसकी साथीले फोटाहरू किने ।

‘नेपालमा यस्ता कति ठाउँ छन् तर हाम्रोमा कहिले यस्तो बन्ला खै’ भन्दै र देशका अगुवालाई सराप्दै हामी अघि बढ्यौं । करिब डेढ घन्टाको गुफा यात्रापछि हामी गुफाको अर्कोतिरको मुखमा निस्क्यौं । त्यहाँदेखि उही बाटोबाट फर्किने चलन रहेनछ । फर्किनका लागि केबलकार चढ्नुपर्नेरहेछ । कोक्रोजस्तो अझ भनौं रोटेपिङको पिराजस्तो दुईसिटे खुला केबलकार चढेर फर्किनुपर्ने रहेछ । म र नीरप्रसादजी, सिद्धान्त र उनकी साथी अनि विश्वास र ज्योति अलग–अलग कोक्रेकेबलकार चढ्यौं । पहिले उकालो चढेर पहाडको टाकुरामा अनि ओह्रालो झरेर पहाडको फेदी अर्थात् अघि घुमेको गुफाको बाहिरको सानो पहाड पार गरेर हामी केबलकारबाट ओल्र्यौं, उही गुफाको प्रवेशद्वार नजिकै स्टेसनमा । केबलकारमा सरर्र गुडिरहेको अवस्थाको फोटो प्रिन्ट गरेर बसेका रहेछन्, बेच्नलाई । व्यापारिक ‘पोलेसी’ राम्रोसँग जानेका रहेछन्, चिनियाँले । २० युआन तिरेर मैले एउटा फोटो लिएँ । अरूहरूले पनि लिए ।

हाम्रो अर्को र मुख्य गन्तव्य जानै बाँकी थियो । ट्याक्सी हामीलाई पर्खेर बसिरहेको थियो । पहाडको घुमाउरो बाटो झन्डै हाम्रो मौरेबाट हलेसीतिर लागेजस्तै भूगोल । तर, फराकिलो पिच बाटो, तीव्र गतिमा ट्याक्सी हुइँकियो । त्यतातिरका डाँडाकाँडामा जताततै ढुंगेरूखहरू रहेछन् । अपराह्न ३ बजे हामी फेरि ढुंगेजंगलको गेट आइपुग्यौं । समय भड्किसकेको थियो । त्यसैले हामीले हतारहतार टिकट काट्यौं र जंगलभित्र छि । पैसा अलिक महँगै थियो प्रतिव्यक्ति एक सय ३० युआन्, विद्यार्थीलाई ५० प्रतिशत छुट । वृद्धवृद्धा, बालक अनि चार फिटभन्दा होचा मानिसलाई पैसा नलाग्ने । गेटबाट भित्र तीन किलोमिटर जतिपछि मात्रै जंगल पुगिने रहेछ, त्यसैले भित्रको बिजुली गाडीका लागि अरू २५ युआन पनि थप्नुपर्यो । तर, चीन भ्रमणमा खुसीको कुराचाहिँ के रहेछ भने स्वदेशी विदेशी सबैलाई समान शुल्क, विदेशीका लागि अतिरिक्त शुल्क तिर्नु नपर्ने ।

हामी जंगल छिर्यौं । नामै ढुंगाको जंगल नभन्दै रूखजस्तै ढुंगैढुंगा ठडिएका । चुनढुंगाबाट बनेका अनेक रूख, हजारौं रूख । रूखमा जनावर, बोटबिरुवा र मानवका आकृति । ठूला, साना, अग्ला, होचा अनेक रूख छन् । ठाउँठाउँमा ढुंगाकै ढोका छन् । बीचमा साना–साना ताल पनि छन् । भूवैज्ञानिकहरूका अनुसार करिब दुई सय ७० मिलियन वर्षअघि यस क्षेत्रमा विशाल र गहिरो समुद्र थियो रे । कालान्तरमा लिथोस्फियरको गति बढ्दै जाँदा बिस्तारै पानीको सतह जमिनमुनि गयो र चुनढुंगाका संरचना जमिनमाथि आयो र यसप्रकारको संरचना तयार भएको रे ।

विज्ञानको कुरा त छँदै छ तर अन्तजस्तै लोकका पनि आफ्नै कथा रहेछन्, यो ढुंगेजंगलबारे । अनेक लोक किंवदन्ती पनि छन् रे । तर, यहाँनेर पनि उही समस्या छ, भाषाको । तैपनि कतिपय कुरा इन्टरनेटमा पढ्न पाइन्छ । हुन त अंग्रेजी भाषाको पथप्रदर्शकको पनि व्यवस्था रहेछ । तर, हामीले गाइड–साइड खोजेनौं । लोककथा र किंवदन्तीका कुरा सुन्न नपाए पनि मुख्य कुरा भने थाहा पायौं । चीनका ५६ जातिमध्येको एउटा जाति– यि । त्यो क्षेत्र यि जातिको स्वायत्त रहेछ । यि जातिको एउटा शाखा ‘सानी’ का लागि त त्यो ढुंगेजंगल किरातीहरूको तुवाचुङजस्तै महत्त्वको रहेछ । त्यो ढुंगेजंगल र यि जातिका मानिसबीचमा अभिन्न सम्बन्ध रहेछ । त्यही ढुंगेजंगलको उत्पत्तिसँग जोडेर सानी जातिका मानिसले हरेक चन्द्र वर्षको जुन २४ मा आफ्नो जातीय उत्सवका रूपमा मसाल उत्सव मनाउने रहेछन् । त्यसबेला गोरुजुधाइ, कुस्ती, रूख चढ्ने, ड्रेगन खेल, सिंह नृत्य, चन्द्र नृत्यजस्ता परम्परागत नृत्य गर्ने रहेछन् । त्यसैले यस जंगलबीचमा यि जातीय पोसाक लगाएर फोटो खिच्न पाइने व्यवस्था मिलाएको रहेछ ।

मिङ राजवंश (सन् १३६८–१६४४) को अवधिमा पत्ता लागेको अनि त्यस समयदेखि प्रकृतिको एउटा चमत्कारका रूपमा लोकप्रिय रहेको रहेछ– ढुंगेजंगल । चीनको दक्षिण–पूर्वमा रहेको युनान प्रान्तको एउटा प्रसिद्ध पर्यटकीय क्षेत्रका रूपमा परिचित अनि चीनका ५६ जातिमध्ये एक अल्पसंख्यक यि जातिको इतिहास र संस्कृतिसँग जोडिएको सुन्दर ठाउँ ढुंगेजंगलमा रमाउन पाउँदा हामी खुसी भयौं । सिङ भएको रातो पोसाकमा राजदण्डजस्तै आकारको दापमा राखेको तरबार अर्थात् यि जातिको परम्परागत पोसाकमा म र नीरजीले फोटो खिच्यौं, ज्योति र थाई चेलीले महिला पोसाकमा फोटो खिचे । विश्वास र सिद्धान्तले भने त्यतातिर रुचि देखाएनन् । यताउता गर्दा तीन घन्टा बितेको पत्तै भएन ।

जंगलबाट बाहिरिँदा बेलुकाको ६ बजेको थियो । हामी बिहानकै रुटबाट पहिले गाडी अनि रेल हुँदै आफ्नो वासस्थान फक्र्यौं । छुट्नुअघि बेलुकाको खाना सँगै खाने सल्लाह भयो । विश्वविद्यालय नजिकैको एउटा रेस्टुरेन्टमा बार्बिक्यु अर्थात् झिरमा उनेका मासु, साग, आलुचाना आदि सेकाएर खानेकुरा खायौं । साथमा पानीभन्दा सस्तो बियर अनि जे–जस्तो खाए पनि अन्त्यमा भात नभई सन्तोक नमान्ने नेपालीको भाते विशेषताअनुसार भात खायौं र राति १० बजे आ–आफ्ना वासस्थानतिर लाग्यौं । चार महिनादेखिको ढुंगेजंगल घुम्ने चाहना पूरा भएकाले मस्तसँग निदाइयो ।

प्रतिक्रिया दिनुहोस्