अमला बेचेर कापी किन्ने उपमेयर



‘विद्यालय जानुअघि वा फर्केपछि एकलग काम गर्नैपथ्र्यो,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख वीणादेवी राईले बाल्यकाल सम्झिन्, ‘शनिबार र अन्य बिदामा मज्जाले घरको काम गर्थें ।’

पहाडी जिल्ला खोटाङका गाउँघरमा बालबालिकाको दिनचर्या जसरी बित्छ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख राईको त्योभन्दा फरक थिएन । ‘मैले जे–जे गर्न सक्थें,’ उनले थपिन्, ‘त्यही काम गर्थें ।’ हिजोआजजस्तो बुइपाका घर–घरमा धारा थिएन । उनी डोकोमा गाग्रो बोकेर पँधेरो पुग्थिन् । पानी बोकेर ल्याउँथिन् । घाँस, दाउरा काट्न र स्याउला लिन जंगल पुग्थिन् ।

‘हाम्रा छोराछोरीले जुन तरिकाले अध्ययन गरिरहेका छन्,’ उनले प्रस्ट्याइन्, ‘हाम्रो समय त्यस्तो थिएन । अहिले त कति सहज छ कति ।’

त्यतिबेला लेख्ने कापी हुँदैथे । ‘अमला बेचेर वा अमलामा दुई पन्ना कागज साटेर काम चलाइन्थ्यो,’ उनले नढाँटी सुनाइन्, ‘आफूसँग छ भने साथीहरूलाई त्यसरी नै गर्जो टारिदिन्थ्यौं ।’

सामुदायिक विद्यालयमा अध्ययन गरे पनि धेर–थोर शुल्क बुझाउनुपथ्र्यो । घरायसी समस्याले भनेको समयमा शुल्क बुझाउन सकिँदैनथ्यो । तर पनि पढाइलाई निरन्तरता दिइन् ।

पढाइ ?

‘पढाइ त सामान्य थियो । दुई कक्षासम्म घरछेउकै विद्यालयमा अध्ययन गरें,’ उनको भनाइ थियो, ‘दुई कक्षाबाट चारमा जम्प गरें । कलाकारिताले पढाइलाई अलि थिचेको थियो । तर पनि कहिल्यै अनुत्तीर्ण भइनँ ।’

पढाइ आमखालकै थियो । उनको कसैसँग प्रतिस्पर्धा हुँदैनथ्यो । केवल आफैंसँग मात्रै । ‘कतिपयको पहिले राम्रो पछि नराम्रो पढाइ भयो । तर, मेरोचाहिँ सदावहार,’ उनले खुलासा गरिन्, ‘म त सधैं पाससम्म गर्ने विद्यार्थी । मेरो गणित राम्रो थियो । अंग्रेजीमा कमजोर थिएँ । चार कक्षामा पुगेपछि बल्ल एबीसीडी पढ्न सिकाइन्थ्यो ।’

शिक्षक–शिक्षिकाले गृहकार्य दिन्थे । ‘तर, अनिवार्य चेक गर्दैनथे । चेक नगरे पनि गर्नेले गृहकार्य गर्थे,’ उनले जानकारी गराइन्, ‘मैले गृहकार्य त्यति धेरै गर्दिनथें ।’

गाउँमा भैंसी, सुँगुर काट्दा मासु ल्याएपछि मात्रै खाना खाइन्थ्यो । ‘मासु ल्याएपछि पकाएर खाँदा विद्यालय जान ढिलो भइसकेको हुन्थ्यो,’ उनी हाँसिन्, ‘गाउँघरमा कसैको बिहे हुँदा दुई/तीन दिन विद्यालय गइँदैनथ्यो । तर पनि शिक्षक–शिक्षिकाले गयल हुनका कारण कहिल्यै सोध्नुभएन ।’

एसएलसीपछि कलेज जीवन सुरु भयो । ‘कलेजमा पनि मिहिनेत गरिनँ । कलेज अध्ययन थालेपछि पढाइभन्दा पार्टीको काममा ध्यान दिन थालें,’ उनले पुछारमा भनिन्, ‘परीक्षा आउन दुई महिना बाँकी रहँदा मिहिनेत गरेर पढ्थें ।’

प्रतिक्रिया दिनुहोस्