सरकारलाई बिन्ती– माछा मार्ने व्यवस्था मिलाइदेऊ


चिप्लेढुंगा (पोखरा) । पोखरा महानगरपालिका–१८, खपौँदीकी सोममाया जलहारी उमेरले सात दशकमा छिन् । जीवनमा पहिलोपटक घरभित्रको बाध्यात्मक बसाइले जलहारीलाई निकै असहज बनाएको छ । त्यसभन्दा अझै नरमाइलो त माछा मार्ने पुख्र्यौली पेसा रोकिएकामा लागेको छ । आफ्नो पुर्खा र परिवारले वर्षौंदेखि माछा मारेर जीविकोपार्जन गर्दै आएकामा अहिले बन्दाबन्दीका कारण पेसा ठप्प छ । तालमा जाल हान्न नपाउँदा बिहान–बेलुकाको छाक टार्नै मुस्किल भएको छ ।

सरकारले अड्कलेर दिएको रासनमा आफूलगायत सन्ततिको छाक टार्नुपरेकाले पनि उनलाई उत्तिकै पिरोलेको छ । ‘मेरो जीवनको कालखण्डमा पहिलोचोटि यस्तो महामारीले घरभित्र बस्नुपर्यो, नसोचेको पो भयो, के हो, के हो जस्तो लाग्छ । माछा मार्न पनि दिएनन् । सरकारले अड्कलेर दिएको रासनले छाक टार्नै गाह्रो छ,’ जलाहारीले भनिन्, ‘सरकारले मेसो मिलाएर माछा मार्न दिए बाँच्न त सजिलो हुने थियो ।’

खपौँदीका ३१ वर्षीय सन्तोष जलहारी पनि वर्षांैदेखिको पेसा ठप्प हुँदा नरमाइलो लागेको बताउँछिन् । ‘के गर्ने माछा मारेर नै छजनाको परिवार पाल्दै आएको थिएँ । अहिले कोरोनाका कारण सरकारले रोक लगाएको छ,’ उनले थपिन्, ‘अड्कलेर दिएको रासनले भोक टार्न साह्रै पो मुस्किल भयो ।’ उनले पोखरा महानगरले एक÷दुई दिन बिराएर जलहारी समुदायलाई माछा मार्ने व्यवस्था गरिदिए जीवनयापन सहज हुने बताइन् ।

४२ वर्षीय सोम जलारी पनि तत्काल बन्दाबन्दी हट्ने सम्भावना नभएकाले आफ्नो पेसा नै संकटमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्छन् । ‘कोरोना संक्रमितको संख्या बढिरहेको देख्दा तत्काल बन्दाबन्दी हट्ने सम्भावना देखिँदैन,’ जलारीले भने, ‘दुई महिना बित्न लाग्यो, अब कति दिन कुर्ने ? हामीलाई माछा मार्ने केही व्यवस्था गरिदिए हुन्थ्यो ।’ लामो समय भएकाले महानगरले माछा बिक्रीका लागि विशेष ठाउँ र समय छुट्याइदिए भीडभाड नगरी ग्राहकलाई माछा पुर्याउने सक्ने उनको विश्वास छ । ‘माझीदाइ पोखरा फेवातालको भन्ने गीत गाउँदा र सुन्दा पनि गर्व लाग्थ्यो । अब त जालै हान्न नपाएपछि पेटको समस्या बल्झेको उनले दुःखेसो पोखे ।

महानगरले पुख्र्यौली पेसा गर्दै आएका जलहारी परिवारलाई माछा मार्न अनुमतिपत्र दिएको छ । लाइसेन्सप्राप्त जलहारीले अनुमति दिएका स्थानमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन् भने माछा मारेबापत महानगरलाई किलोको पाँच रुपैयाँ करसमेत तिर्दै आएका छन् ।

हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष इन्द्र जलहारी आफूहरूको जग्गा–जमिन केही नभएको र फेवाताल नै सास धान्ने आधार भएको बताउँछन् । ‘हामीसँग केही छैन, यही फेवातालले हो । हामीलाई बाँच्ने आधार दिएको छ । अहिलेको अवस्थामा व्यवस्थित गरेर माछा मार्ने र बजारको व्यवस्थापनमा सहज गराइदिए हुन्थ्यो भन्ने हाम्रो आग्रह हो,’ उनले भने, ‘सरकारको नियम नमान्ने भनेका छैनौं । जसरी अन्य अत्यावश्यक खाद्यान्न सहज आपूर्तिको व्यवस्था मिलाइएको छ । माछा पनि भान्सामै प्रयोग हुने भएकाले यसको बिक्री पनि व्यवस्थित तरिकाले सहज बनाइने वातावरणको अपेक्षा गरेका छौं ।’

इन्द्रका अनुसार फेवातालमा सयभन्दा बढी प्रजातिका माछा छन् । तिनको प्रजाति हेरेर तीन सयदेखि एक हजार पाँच सयसम्म बिक्री गरिन्छ । यसैगरी, दुई किलोभन्दा बढी माछा मार्ने परिवारले सहकारीको माछा संककलन एवम् बिक्री केन्द्रमा लगेर बिक्री गर्छन् । अध्यक्ष जलाहारीका अनुसार अघि–पछिका दिनमा दुई सयदेखि तीन सय किलोसम्म माछा संकलन हुने गथ्र्यो भने अहिले ठप्प छ । केही परिवारले भने बिहान–बेलुकाको तरकारीका रूपमा माछा मार्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्