ठेग



‘मैले ?,’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, ऐंसेलुखर्क खोटाङका गंगाराज राईले विगत सुनाए, ‘३० वर्ष जमानीको काम गरें ।’ संवत् २०३० देखि जमानीको काम थालेका राई त्यतिबेला १९ वर्षका थिए । जमानीको काम थाल्दा भैंसीको मासु प्रतिधार्नी १५० रुपैयाँ थियो । सुँगुरको मासुचाहिँ प्रतिधार्नी २०० रुपैयाँ ।

जमानी बस्न केले प्रेरित गर्यो होला ? ‘जमानी बस्नु भनेको समाजसेवा हो,’ उनको भनाइ थियो, ‘त्यतिबेला आफूलाई मन परेको समयमा मासु खान पाइँदैनथ्यो । म जमानी बसें भने गाउँघरकाले मासु खान पाउँथे । आफू जमानी बसेर गाउँघरकालाई मासु खुवाउने वातावरण बनाउनु समाजसेवी कामजस्तै लाग्थ्यो ।’

चाडबाडमा मीठो–मसिनो खाने गरिन्छ । गाउँघरमा पनि त्यसै गरिन्थ्यो । चाडबाडमा चामलको भात र मासु खान पाउँदा जोकोही खुसी हुन्थे । धानको चामल जसोतसो जुटाइए पनि मासुको जोहो गर्न गाह्रै पथ्र्यो । तर, सम्बन्धित गाउँठाउँमा गंगाराज राईहरूजस्ता कोही न कोही समाजसेवी भेटिन्थे । उनीहरूले हुनेसँग भैंसी, सुँगुर माग्थे । आफूले जिम्मा लिएर भैंसी, सुँगुर काट्थे । तोकिएको समयमा मासुको पैसा संकलन गरेर सम्बन्धित धनीलाई बुझाउनुपथ्र्योे । त्यस्तो काम गर्नेलाई जमानी भनिन्छ ।

मासुका लागि भैंसी, सुँगुर खोज्नु त्यति सजिलो थिएन । दुईदेखि चारजनासम्म मिलेर मासुका लागि भैंसी तथा सुँगुर खोजिन्थ्यो । भैंसी, सुँगुर फेलापारेपछि काटेर भेजा लगाइन्थ्यो । मासु लैजानेका नाम र मासुको मात्रा कागजमा टिपिन्थ्यो । त्यही बहीका आधारमा मासु खानेसँग पैसा मागिन्थ्यो । ‘त्यतिबेला महिना दिनसम्म उधारोमा मासु खान पाइन्थ्यो,’ उनले सुनाए, ‘कतिपय अवस्थामा १५ दिनको मिति तोकिन्थ्यो । त्यसपछि मासुको पैसा माग्न जमानी घरघरै पुग्नुपथ्र्यो ।’

मासु खाएको पैसालाई ठेग भनिन्थ्यो । ठेग उठाउन त्यति सजिलो थिएन । त्यसमध्ये पनि साउने संक्रान्तिमा काटेको मासुको ठेग उठाउन झनै गाह्रो । किन ? ‘बर्खामासमा सबै खेतबारीमा हुन्थे । ठेग उठाउन खेतबारीमै पुग्नुपथ्र्यो,’ उनले भने, ‘को कहाँका मेलोमा हुन्छन् थाहा हुँदैनथ्यो । अनि खोजिहिँड्नुपथ्र्याे । तर, मचाहिँ ठेग उठाउन मेलोसम्म पुगिनँ । एउटै घरमा ठेग उठाउन चार/पाँचपटक धाउनुपथ्र्यो ।’

कतिपय अवस्थामा पाँचपटकसम्म माग्दा पनि ठेग उठाउन सकिँदैनथ्यो । मासु खानेले पैसा खोज्दै छु भनेर टार्थे । जमानीले पर्खिनुपथ्र्याे । ‘अचाक्ली भएपछि रिस उठ्थ्यो नि,’ उनले हाँस्दै जानकारी गराए, ‘म अबचाहिँ ठेग माग्न आउँदिनँ । पठाइदिनू भन्थें । कतिपयले घरमै ल्याइदिन्थे । नसक्नेले कहिल्यै ल्याइदिएनन् । म पनि माग्न जान्नथें । सक्नेले ढिलोचाँडो दिन्थे । दिन नसक्नेको जमानी आफैंले पुर्ताल हान्नुपथ्र्यो ।’

मासु खानेसँग नभएकाले नै ठेग नदिएका हुन् । भएको भए दिन्थे होलान् भनेर चित्त बुझाउनुपथ्र्यो । ‘पटक–पटक माग्दा पनि ठेग नपाएपछि कतिलाई भैगो अब नदे भन्दिन्थें,’ उनले अतीत सुनाए, ‘त्यसपछि कहिल्यै ठेग माग्दिनथें । मासु खानेले दिन्छु भन्न छाड्दैनथे । तर, दिँदैनथे । कतिपयले अहिलेसम्म पनि दिएका छैनन् । त्यसमध्ये एकजनाको ५००, अर्कोको २५० र तेस्रोको १५० रुपैयाँ मैले आजसम्म पाएकै छैन । अब त उनीहरूले बिर्सिसके होलान् ।’

काम गाह्रो भए पनि गंगाराज राईले ३०/३० वर्ष जमानी बसे । ‘आफू अघि नसरे मासु खान पाइँदैनथ्यो,’ उनको भनाइ थियो, ‘समूह बनाएर जमानीको काम गरियो । मेरो समूहमा गाउँकै कम्पसेर राई र चंखराज राईहरू थिए ।’

भाका पुगेपछि मासुको पैसा उठाएर बुझाउनुपथ्र्यो । ठेग नउठेपछि जमानीले भाका नाघे पनि कहिलेकाहीँ आठ÷दस दिन समय थप माग्नुपर्ने बाध्यता हुन्थ्यो । दोस्रोपटकको भाका नाघ्दा पनि ठेग उठेन भने जमानीले नै हाल्नुपथ्र्यो । ‘पैसा बुझाउन जाँदा चामलको भात र भालेको मासु खुवाइन्थ्यो,’ उनले प्रस्ट्याए, ‘रक्सी पनि खुवाउँथे । मेजमानको स्वादले त्यतिबेला ठेग उठाउँदाको दुःख सबै बिर्साउँथ्यो ।’
जमानीले मासुको पैसा बुझाउँदा धन्यवाद भन्ने चलन थिएन । त्यतिबेला उज्यालो अनुहारमा देखिएका भैंसी वा सुँगुरधनीले ‘लु है हजुर मैले राखें है त’ भन्दै पैसो पोको पार्थे ।

भैंसी वा सुँगुर जे काटिन्छ, जमानीले त्यसको ह्याकुला पाउँथे । बगाल छोडाउनीबापत एक धार्नी मासुका साथै गिदी, जिब्रो र कान पनि पाउँथे । जमानीको पारिश्रमिक भनेकै त्यति हो । जमानी बस्दा सुख त हुँदैहुँदैन । केवल दुःखमात्रै । राईले पेसा व्यवसायका लागि जमानी बसेका होइनन् । जमानी बसेर नजानिँदोपारामा समाजसेवा गर्नसम्म गरेका उनले संवत् ०६० देखि जमानी बस्न छाडे । ‘त्यतिबेला भैंसीको मासु प्रतिधार्नी ४०० रुपैयाँ थियो,’ उनले थपे, ‘सुँगुरको मासु प्रतिधार्नी ५०० थियो ।’

हिजोआज गाउँ–गाउँमा मासु पसल खुलेका छन् । गाउँ–गाउँमा ब्रोइलर कुखुराको मासु पाइन्छन् । पैसा भए पुग्छ । यस्तो सुविधा भएपछि गंगाराज राईहरूका समाजसेवा एकादेशको कथा बन्दै गएको छ । त्यतिबेला जोखाइ र मोलाइमा मासु खानेहरूले विगत बिर्संदै जाने नै भए । ‘त्यसताका भैंसी वा सुँगुर जोखाइ काट्दा मुटु, कलेजो तौलन पर्दैनथ्यो । मासु जति धार्नी हुन्छ, मुटु, कलेजो, हड्डी, आन्द्राभुँडी, फोक्सो र छाला त्यति नै भाग लगाइन्थ्यो,’ उनले पुछारमा सुनाए, ‘पछि–पछि हड्डी, आन्द्राभुँडी, फोक्सो र छालासमेत तौलन थालियो ।’

प्रतिक्रिया दिनुहोस्