मेयर इवन राईको निर्देशनमा दुर्छिमका ९ जना क्वारेन्टाइनमा



दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख इवन राईको निर्देशनमा दुर्छिमका नौजनालाई क्वारेन्टाइनमा राखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदेका नौजनालाई दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टाइनमा राखिएको हो ।

भारतको सिलीगुढीबाट काँकडभिट्टा हुँदै घर फर्केका ताप्ली गाउँपालिका–४ ठानागाउँ उदयपुरका ३९ वर्षीय कीर्तिमान नेपाली छोरी–ज्वाईं लालकुमार सार्कीको घर हैदेमा आश्रय लिएको थाहा पाएपछि मेयर राईले उदयपुरका नेपालीसहित आश्रय दिने परिवारका सबैलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएका हुन् ।

भारतबाट फर्केका कीर्तिमान नेपालीलाई उदयपुरको कटारी ‘आइसोलेसन’मा राखिएको थियो । कटारी ‘आइसोलेसन’बाट तेस्रो दिन भागेका उनी छोरी–ज्वाईंको घर हैदेमा लुकीछिपी बसिरहेका थिए । ‘आइसोलेसन’बाट भागेका उनीसहित आश्रय दिने परिवारका आठजनालाई क्वारेन्टाइनमा राखिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदेका रुद्र सार्की (६२), रामलक्षी सार्की (६०), लालकुमार सार्की (२९), दलबहादुर सार्की (२६), बिन्दा नेपाली (२३), विष्णुमाया सार्की (१८), बिमला सार्की (१५) र दिप्सन नेपाली (३) लाई अपराह्न १२ः३० बजेदेखि दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टाइनमा राखिएको थियो ।

‘नौजनालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिनेछ,’ नगरप्रमुख राईले जानकारी गराए, ‘क्वारेन्टाइनमा रहँदा उनीहरूका लागि सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्नेछ ।’

दुर्छिम स्वास्थ्यचौकीका अहेब रामेश्वर चौधरीका अनुसार, नौजनालाई दुर्छिम स्वास्थ्यचौकीको नयाँ भवनको माथिल्लो तलामा राखिएको छ । नौजनामध्ये कीर्तिमान नेपालीलाई छुट्टै र आठजनालाई एउटै कोठामा राखिएको हो । अहेब चौधरीका अनुसार उदयपुरका नेपाली लुकीछिपी गत चैत २१ गते हैदे आइपुगेका थिए ।

प्रहरी चौकी हलेसी तुवाचुङका असई टीकाराम कार्कीका अनुसार क्वारेन्टाइनमा राखिएकालाई कडा निगरानी गरिनेछ ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडासदस्य फलामसिं राईका अनुसार उनीहरूलाई स्वास्थ्यकर्मीबाहेक अन्यसँग भेटघाट गर्न दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्