तरकारीको बोटमै मासिक २० हजार फलेको फल्यै



भातभन्दा तरकारी धेरै खानू भनेर सुझाइन्छ । सुझाइयो भन्दैमा सबैले भातभन्दा तरकारी धेरै खान सक्छन् भन्ने छैन । सम्पन्न परिवारले त्यसो गर्न सक्लान् । बाँकीले फारो गरेरै तरकारी खाने हो । भातभन्दा तरकारी धेरै खान त खेती नै गर्नुपर्छ ।

भातभन्दा तरकारी धेरै खान दुर्गा राईजस्तो खेती नै गर्नुपर्छ । राईले तरकारी खेती थालेको थुप्रै भयो । मौसमअनुसारको तरकारी खेतीमा रमाइरहेका उनले फर्सी, रायो, बन्दा, काउली, बोडी, मटरकोसा, लसुन, अदुवा, गोलभेंडा र स्कुस खेती गर्दै आएका छन् । तर, स्कुसको माग त्यति हुँदैन । उनको तरकारी खेतीसम्म पुगेर हेर्ने हो भने मानिसको जाँगर फुलेर फलेपछिको आनन्द अनुभूति गर्न सजिलै सकिन्छ ।

‘पहिले बेसारको पकेट चलाएका थियौं,’ उनले भावी योजना सुनाए, ‘अब अदुवाको पकेट चलाउँछौं ।’

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा भने लसुनको मात्रै खेती थालेका छन् । १०० केजी लसुनको बीउ जाने जग्गामा खेती थालेको उनले जानकारी गराए । बुइपामा उत्पादित लसुन काठमाडौंसम्म पुर्याइन्छ । व्यक्तिगत चिनजानका आधारमा काठमाडौंमा बजार विस्तार थालिएको हो ।

बुइपाबाहेक हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान माथिल्लो ऐंसेलुखर्क खोटाङमा लिजमा लिएकोसहित आठ रोपनी जग्गामा तरकारी खेती गरिएको छ ।

‘नियमित आम्दानीको स्रोत बनेको छ,’ उनले खुसी व्यक्त गरे, ‘तरकारी बेचेरै मासिक २० हजार रुपैयाँ हात पार्न सजिलै सक्छु ।’

माथिल्लो ऐंसेलुर्खमा १० वर्ष भयो हिउँदमा पनि गाईबस्तु छाडा छाड्न बन्देज लगाइएको । त्यसो गर्न थालेपछि तरकारी खेती गरेरै स्थानीयले दाल, चामल किन्न सहज भएको हो । ‘रोगव्याधि लागेन भने,’ उनको भनाइ छ, ‘बिरामी परिएन भने तरकारी बेचेको पैसा बचतसमेत गर्न सकिन्छ ।’

यो त सुखद खबर हो । जनता समाजवादी पार्टी नेपाल हलेसी तुवाचुङ नगर समिति सचिवसमेत रहेका दुर्गा राईको तरकारी खेती पुग्दा आनन्दित नहुने को होलान् ? जगदम्बा आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका राईको तरकारी खेतीमा पुग्दा सिर्जना (नेपाली जात)को टनेलभित्रको गोलभेंडाको बोटमै पैसा फलेझैं देखिन्थ्यो ।

त्यतिमात्रै होइन, केदार बुढाथोकीले उत्पादन गरेको नेपाली अकबरे खुर्सानी तेस्रोपटक टिपिसकेका रहेछन् । २०० बोट अकबरे खुर्सानीले ‘दुर्गाजी हामीले तपाईंलाई तेस्रोपटक पैसा फलाइसक्यौं है’ भनेझैं लाग्थ्यो । त्यसो भन्ने अकबरे खुर्सानीको आयु दुई वर्ष हुँदोरहेछ ।

‘यसपटक ?,’ उनले थपे, ‘८०० केजी त बन्दामात्रै बेचें ।’ ऐंसेलुर्खमा उत्पादित बन्दा हलेसीका होटलमा पाक्छन् । बन्दा शीतभण्डारमा नराखे पनि ६ महिनासम्म बिग्रँदैन । खुद्रा बेच्दा केजीको ७० रुपैयाँसम्म पर्छ । उनले खुद्रा मूल्यभन्दा कम अर्थात् केजीको ५० रुपैयाँले उपलब्ध गराउँछन् । त्यो पनि होटल–होटलमा पुर्याइदिन्छन् ।

ऐंसेलुखर्कमा व्यक्तिगत त छँदै छ, सामूहिक तरकारी खेतीको अभ्यास पनि थालिएको छ ।

जसपा नेपाल हलेसी तुवाचुङ नगर समिति अध्यक्ष मविन्द्र राई ‘साइँलाखुँई’ र पंक्तिकारसँग गफिँदै गर्दा दुर्गा राईले काउलीभित्र रहेको झार पनि एकैछिन उखेलिहाले । राईको जाँगर देख्दा अल्छे तिघ्रो, स्वादे जिब्रोलाई खिसिटिउरी गरेझैं लाग्थ्यो । काउली गोड्दै गर्दा उनी कम्ती खुसी देखिँदैनथे । लाग्थ्यो– उनी वनफूलझैं हाँसेजस्तो ।

तरकारीबाहेक फलफूलसमेत लगाएका छन् । मौसमी फलफूल आफूले किन्न नपर्ने बताए । एबोकाडो, अम्बा, सुन्तला, जुनार, केरा, कालो हलेदोलगायतका फलफूल खेती पनि सप्रेकै छ । एबोकाडोमात्रै ६० बोट हुर्केका छन् । फल दिन थालिसकेका छन् ।

रुद्राक्षको पनि फल लाग्न थालिसकेको छ । कुराकानीक्रममा मुन्दुम महाज्ञान केन्द्र अध्यक्ष मविन्द्र राई ‘साइँलाखुँई’ले यहाँ उत्पादित रुद्राक्ष आफूलाई काठमाडौं पठाउन अनुरोध गरिहाले ।

प्रतिक्रिया दिनुहोस्