अन्टार्टिकाबाहेक संसारका ११३ देशमा धानखेती गरिन्छ । नेपालका हिमाल, पहाड र तराईमा धान फलाइन्छ । झापाको केचनाकलनदेखि ३,००० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म फल्ने धानको महिमा र महत्व घटेको छैन ।
नेपालको जनसंख्या बढ्दो छ । धान फल्ने जमिन घट्दै गएको छ । बढ्दो जनसंख्यालाई घट्दो जमिनबाट पुग्दो धान उत्पादन बढाउन सकिने धानविज्ञ भोलामानसिं बस्नेतको भनाइ छ । ‘कृषिमा समस्या नै समस्या छ,’ धानविज्ञ बस्नेतको तर्क छ, ‘तर, ज्ञान, विज्ञान र प्रविधिका आधारमा धानखेती वृद्धि गर्न सकिन्छ ।’
सन् ८० को दशकमा तराईका ६ ठाउँमा धान–चामल निर्यात कम्पनी थिए । नेपालले धान निर्यात गथ्र्यो । तर, हिजोआज महिनाको दुई अर्ब रुपैयाँभन्दा बढीको धान–चामल आयात गरिन्छ । उल्लिखित दृष्टान्ट दृष्टिगत गर्दै धान उत्पादन बढाउने कैयौं उपाय छन् । त्यसमध्ये प्रतिनिधिमूलक उपाय यस्ता छन् ।
गुणस्तरीय बीउ
‘आमागुनको तामा’ भन्ने नेपाली उखान प्रचलित छ । त्यस्तै, बीउगुनको बाली हुन्छ । ‘गुणस्तरीय बीउ प्रयोगले १५ देखि २० प्रतिशत धान उत्पादन बढाउन सकिन्छ,’ बालीविज्ञसमेत रहेका भोलामानसिं बस्नेतले सुझाए, ‘धानको बीउ छान्ने वैज्ञानिक तरिका छ । कुनै पनि भाँडोमा पानी हाल्ने । त्यसमा कुखराको अण्डा राख्ने । कुखुराको अण्डा पिँधमा बस्छ । धानको बीउ छान्न भाँडाको पिँधमा रहेको अण्डा पानीको सतहमा आएर छोएको हुनुपर्छ ।’
पिँधमा रहेको अण्डा पानीको सतहमा कसरी ल्याउने ? प्रश्न उठ्नु स्वाभाविकै हो । ‘अण्डालाई पानीको सतहमा ल्याउन नुन हाल्दा पुगिहाल्छ । यो काम घरमै बसीबसी गर्न सकिन्छ,’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्वमुख्य वैज्ञानिकसमेत रहेका बस्नेतले थपे, ‘नुन हालेर घोल्दै जाँदा अण्डा माथि–माथि जान्छ । अण्डाले पानीको सतह छोयो भने धानको बीउ छान्न तयार हुनुपर्छ ।’
यसो गर्न गाह्रोमात्रै होइन, व्यावहारिक पनि भएन भनेर किसानले गुनासो गर्दै आएका छन् । ‘त्यसो गर्न सकिएन भने अर्को पनि उपाय छ । पाँच लिटर पानीमा एक किलो नुन हालेर घोल बनाउनुस्,’ उनले दोस्रो उपाय सुझाए, ‘सम्बन्धित किसानले आफ्नै तरिकाले छानेको धानको बीउ घोलमा हाल्ने । त्यसो गरेपछि राम्रा–राम्रा धानको बीउ पिँधमा बस्छ । राम्रा अर्थात् ग्रहौं बीउजति तल बस्छ । तल गएका बीउ ह्रष्टपुष्ट हुन् । रोगी धानको बीउ तैरिन्छ । यसरी एक मिनेटमै धानको बीउ छान्न सकिन्छ । घोलमा धानका बीउ घन्टौं राखिराख्नुपर्ने होइन । यसोमात्रै गर्न सके १० देखि १४ प्रतिशत धान उत्पादन वृद्धि गर्न सकिन्छ ।’
जापानका अधिकांश किसानले यसरी नै धानको बीउ छान्ने गर्छन् । सुनका दाना भनेर चिनिने धानको बीउ ११३ देशमा यसरी नै छान्न सकिन्छ । नुनपानीको घोल गाईबस्तुलाई कुँडो बनाएर खुवाउन सकिन्छ ।
रासायनिक मल
एक किलो नाइट्रोजनले २० किलो धान उत्पादन गर्न सकिन्छ । बाँच्नका लागि मानिसलाई दाल, भात, तरकारी चाहिएझैं बिरुवालाई नाइट्रोजन, फसफोरस र पोटास चाहिन्छ । तीन चीजको सन्तुलित प्रयोगले धान उत्पादन बढ्ने उनको दाबी छ ।
माटोको उर्वरा शक्ति
धान उत्पादनका लागि उर्वरा शक्ति राम्रो हुनुपर्छ । एक सिजनमा धान राम्रो फलाएरमात्रै हुँदैन । ‘एक किलो नाइट्रोजनले २० किलो धान उत्पादन हुन्छ–हुन्छ । तर, माटोको उर्वरा शक्ति जोगाउन सक्नुपर्छ । भातमात्रै खाएर पुग्दैन,’ उनले उदाहरण पेस गरे, ‘किसानले युरिया मल धेरै प्रयोग गर्छन् । प्रयोग गरिएका युरियाको ६० देखि ७० प्रतिशत नाइट्रोजन चुहिएर, बगेर, उडेर जान्छ । माटोको उर्वरा बढाउन एक हेक्टर जमिनमा सय किलो नाइट्रोजन हाल्नुपर्छ भन्ने सिफारिस गरिएको छ । हामी बढीमा ५० नत्र ४० मै सीमित हुन्छौं । रासायनिक मलका लागि ५० प्रतिशत युरिया र ५० प्रतिशत हरियो मल (ढैंचा) प्रयोग गर्नु झन् राम्रो मानिन्छ ।’
सिँचाइ
धानखेतीका लागि सिँचाइ पहिलो सर्त मानिन्छ । सिँचाइ धानखेतीको मुटु हो । यत्ति भनेपछि सिँचाइको भूमिकाबारे थप भन्नैपरेन ।
बालीविज्ञ प्रयोग
किसानले सधैं बोल्ने समस्या भनेकै उन्नत बीउ, सिँचाइ र सहुलियत ऋण हो । उनीहरूले कहिल्यै बालीविज्ञको सल्लाह पाएनौं भनेर सुनाउँदैनन् । बालीविज्ञले मल, सिँचाइलगायत सबै–सबै समेटेर उत्पादन बढाउने उपाय सुझाउँछन् । सिकाउँछन् ।
सरकारले बालीविज्ञ प्रयोग गरेको देखिँदैन । ‘विज्ञको परिभाषा फरक छ । विद्यावारिधि गरेपछि डाक्टर भइन्छ । तर, सम्बन्धित डाक्टरले आफ्नो विधामा डाक्टरीपन देखाउनुपर्छ,’ उनको जिकिर छ, ‘डाक्टर साप भनिमागेरमात्रै हुँदैन । जसले पढेर, परेर र गरेर सफलतापूर्वक कार्यसम्पान गरेको हुनुपर्छ । सिद्धान्त र व्यवहारमा दुवै कामयावी हुनुपर्छ । त्यस्ता विज्ञ प्रयोग गरियो भने किसानले सजिलै धान उत्पादन बढाउँथे ।’
किसानले बालीमा रोग, कीरा लागेपछि मात्रै विज्ञको सल्लाह सुझाव माग्छन् । ‘त्यसो गर्नैहुँदैन,’ उनले बिन्ती बिसाए, ‘जिल्ला–जिल्लामा खुलेका कृषि ज्ञान केन्द्रसम्म पुगेर परामर्श लिने जाँगर चलाउनुपर्यो ।’
पढेका, परेका र गरेका विज्ञ गाउँ–गाउँमा पाइँदैन भने नि ?
‘हो,’ उनले स्वीकारे, ‘त्योचाहिँ अलि समस्या होला । तर, सरकारले ध्यान दिनुपर्छ । नार्कदेखि कृषि विभागसम्ममा विज्ञ छन् । तर, पढेका, परेका र गरेका विज्ञ चाहियो । विज्ञको राय–सल्लाहविना खेती गरिँदा उत्पादन बढाउन सकिँदैन ।’
सरकारले बालीविज्ञको सूची बनाउनुपर्छ । त्यस्ताको राय–सल्लाह लिनुपर्छ । योगदान दिन सक्ने विज्ञको राय–सुझाव लिन सक्नुपर्छ । सरकारले सम्बन्धित विधामा विज्ञ उत्पादन गर्न ६०–७० वर्ष कुर्नुपर्छ । त्यत्तिका समयमा विज्ञ जन्मन्छन् भन्ने पनि छैन ।
‘नो कस्ट टेक्नोलोजी’
कुनै–कुनै यस्ता प्रविधि छन्, जुन विनाखर्च उत्पादन बढाउन सकिन्छ । विनाखर्च उत्पादन बढाउने काइदा भनेकै ‘नो कस्ट टेक्नोलोजी’ हो ।
‘धानको फूल फुलेपछि जति धेरै घाम लाग्यो त्यति धेरै धान फल्छ । चिसोेले मध्यपहाडमा एक बाली धान हुन्छ । तराईमा वर्षैभरि धान खेती गर्न सकिन्छ । विशेषतः तराईमा चैते र बर्खेधान खेती गरिन्छ । चैते भनेको चैतमा रोपेर असारमा काटिन्छ । बर्खे भनेको असारमा रोपेर मंसिरमा काटिन्छ ।
‘जनकपुरको प्रसंग सुनाउँदै छु,’ उनले भने, ‘चैतेधानको फूल फुलेपछि ६०० क्यालरी प्रतिवर्ग सेन्टिमिटर घामको मापन र बर्खेधानको फूल फुलेपछि ५०० मात्रै हुँदोरहेछ । त्यसैले बर्खेधानको तुलनामा चैतेधान उत्पादकत्व प्रतिहेक्टर, प्रतिदिन २० देखि २५ किलो बढी हुन्छ । किसानले घामलाई पैसा तिर्न पर्दैन ।’
चैतेधानमा केन्द्रित
नेपालको कुल खेतीयोग्य जमिनमध्ये आधामा धान खेती गरिन्छ । त्यो भनेको नेपालभरि १४–१५ लाख हेक्टरमा धानखेती हुन्छ । त्यसमध्ये चैतेधान एक लाख हेक्टरमा मात्रै खेती गरिन्छ । चैतेधान तराई, भित्री मधेसमा उत्पादन हुन्छ । ‘कुल उत्पादनको ७० प्रतिशतभन्दा बढी धान तराई तथा भित्री मधेसमा उत्पादन हुन्छ,’ जापानमा धानसम्बन्धी १० महिना तालिम गरेका उनको सल्लाह छ, ‘एक लाख हेक्टरमा खेती गरिने चैतेधान थप एक लाख हेक्टरमात्रै बढाउने हो भने चैतेधान उत्पादन वृद्धि हुन्छ । प्रतिहेक्टर चार टन धान उत्पादन वृद्धि हुनासाथ धानमा आत्मनिर्भर हुन सकिन्छ ।’
केही लिन केही दिन पर्छ । विनापानी चैतेधान खेती गर्न सकिँदैन । सरकारले सिँचित क्षेत्र बढाउनुपर्छ । चैतेधान असारमा पाक्छ । असारमा झरी पर्छ । चैतेधान समेटेर बर्खेधान लगाउनुपर्छ । चैतेधान सुकाउन तराईका धान धेरै उत्पादन हुने क्षेत्रमा ठुल्ठूला धान सुकाउन मेसिन व्यवस्था गर्न सके धानमा देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।
उल्लिखित सूत्र नेपालको सन्दर्भमा त्यति अभ्यास भएको पाइँदैन । नेपालका सरकारी फार्म (नार्कमात्र होइन, कृषि विभाग) ले ज्ञान, विज्ञान र प्रविधि आत्मसात् गर्न सक्नुपर्छ । जान्नुपर्छ । पछिल्ला प्रविधि सरकारी फार्मले परीक्षण गरिरहनुपर्छ । किसानलाई सुसूचित गराउनुपर्छ । धानविज्ञले तालिममा धानको बीउ यसरी छान्ने भन्ने प्रयोगात्मक अभ्यास गरेको देखिँदैन । तालिम प्रयोगात्मक भयो भनेमात्रै अर्थपूर्ण मानिन्छ ।
प्रतिष्ठा र स्वादका खाद्यवस्तु धान उत्पादन बढेको देखिन्छ । वर्षा धेरै भयो भने उत्पादन बढ्छ । वर्षा भयो भने किसानले धानबाली लगाउने क्षेत्र बढाउँछन् । वर्षा कम भयो भने स्वतः क्षेत्र कम हुन्छ । त्यसो भएपछि धान उत्पादन घट्ने नै भयो । ‘तर, सयमा सय प्रतिशत सिँचित भएको देशमा धान उत्पादन वृद्धिमा वर्षाले असर पार्दैन,’ पढेका, परेका र गरेका धानविज्ञ बस्नेतको ठम्याइ छ, ‘समग्रमा धान उत्पादन वृद्धि देखिन्छ । आर्थिक वर्ष २०७५–०७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो अहिलेसम्मकै सबैभन्दा धेरै धान उत्पादन हो । नेपालमा धान उत्पादन बढे पनि धान–चामल आयात बढेको बढ्यै छ ।’
तराईमा उत्पादित धान सस्तोमा भारत निकासी गरिने र त्यही धान महँगोमा आयात गरिन्छ भन्नेको कमी छैन । धान उत्पादन बढे गरिबी घट्छ । रोजगारी बढ्छ । तर, जलवायु परिवर्तनले समेत धान उत्पादनमा कमी आएको बताइन्छ । ‘तालिम तथा गोष्ठीमा जलवायु परिवर्तनले धान उत्पादनमा कमी आयो भनेरमात्रै पुग्दैन । तापक्रम बढ्नाले बाली अघि पाक्न थाल्यो भनेरमात्रै हुँदैन,’ उनको सुझाव छ, ‘हामी नेपाली मौसम पूर्वानुमानका आधारमा समेत धानखेती गरिरहेका छौं । खडेरी पर्ने सम्भावना हुँदा त्यतिबेला त्यस्तैखालको धानका जात सिफारिस गरिएका हुन्छन् । जस्तै : सुख्खा धान–१ देखि ६ सम्म छन् । यो धान खडेरीमात्रै होइन, डुबान हुँदा पनि उत्तिकै उत्पादन हुन्छ । यसरी सुझाइयो भने किसान लाभान्वित हुन्छन् ।’
त्यतिमात्रै होइन, पछिल्लो समय बहुगुणी धान–१ र बहुगुणी धान–२ पनि सिफारिस गरिएको छ । यो पनि खडेरी र डुबान दुवै क्षेत्रमा उत्पादन हुन्छ ।
किसानले धूले र हिलेब्याड राख्छन् । ‘एउटै जातको धान धूले र हिलेब्याडमा राख्न सकिन्छ । दुवै दुई प्लटमा रोपाइँ गर्न सकिन्छ,’ उनले सरल उपाय बताए, ‘कारणवश खडेरी पर्यो भने धूलेब्याडमा राखिएको धानका बीउले हिलेब्याडमा राखिएको बीउभन्दा बढी खडेरी सहन सक्छ ।’
ब्याडमा त्यत्तिकै ध्यान दिनुपर्छ । जापानमा एक रोपनी जग्गामा चार मुरी धान फलाउनुपर्यो भने बीउ कसरी हुर्काउने भनेर दुई मुरी धानको मूल्यबराबरको मिहिनेत गर्छन् । ‘जापानीले ब्याड राख्न सहकारीबाट माटोसमेत किन्छन्,’ बालीविज्ञानमा ५३ वर्षीय अनुभव सँगालेका काठमाडौंनिवासी भोलामानसिंह बस्नेत सुनाउँछन्, ‘नेपालमा यसो भन्यो भने किसानले मार्छन् । नेपाली किसानले समयमा मल किन्न त पाउँँदैनन् । माटोको के कुरा ।’
‘थिंक ग्लोबल्ली, एक्ट लोकल्ली’ भन्ने भनाइ प्रचलित छ । धान उत्पादन बढाउन यो भनाइले प्रेरित गर्छ । संसारको सबैभन्दा उचाइमा रहेको नेपालको जुम्लाको छुमचोरमा मार्सीधान फलाइन्छ । डोल्पा नेपालको सबैभन्दा कम धान उत्पादन हुने जिल्ला हो । सबैभन्दा धेरै धान उत्पादन झापामा हुन्छ । झापामा उत्पादन हुने धान पहाडका २२ जिल्लामा उत्पादन हुनेभन्दा बढी हुन्छ । पहिले मोरङमा धेरै धान उत्पादन हुन्थ्यो । पछिल्लो समय झापाले उछिनेको छ । बढी क्षेत्रफलमा धानखेती गर्ने र बढी फलाउने पनि झापा नै हो । त्यसैले होला तराईका १७ जिल्लालाई ‘राइस बाउल अफ नेपाल’ भनिएको हो ।
धान उत्पादन बढाउन मल कारखानाको पनि कुरा गरिन्छ । मल कारखानाका लागि विद्युत् धेरै खपत हुन्छ । नेपालमा रासायिनिक मल उत्पादन गर्दा महँगो पर्न जान्छ । मल महँगो पर्नसाथ किसानले सस्तो मल किन्न बाध्य हुन्छन् ।
संसारमा सात अर्बभन्दा बढी जनसंख्या छ भनिन्छ । तीमध्ये आधाभन्दा बढीको खाना भनेको धान–चामल नै हो । संसारमा सबैभन्दा बढी धान चीन र भारतले उत्पादन गर्छ । दुई देशमा धान उत्पादनमा कमी आयो भने संसारमा हल्लीखल्ली मच्चिन्छ । धान उत्पादन बढ्यो भने सम्बन्धित देशको आर्थिक वृद्धिदर बढ्छ । रोजगारी बढ्ने नै भयो । त्यसैले नेपाल सरकारले कृषिलाई केन्द्रित गरेर ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ कार्यक्रम ल्याएको हो ।
‘धानमा उत्पादनभन्दा पनि,’ अन्तर्राष्ट्रिय धानबाली संस्था (इरी) फिलिपिन्समा समेत काम गरेका अनुभवी धानविज्ञ भोलामानसिं बस्नेतको जोड छ, ‘उत्पादकत्व बढाउनुपर्छ ।’