‘माने–माने, एक माना खाने’ लेखिदिँदा दुई दिन थला पर्ने गरी झापड



जेहेनदार विद्यार्थी भएकाले कलम पुरस्कार पाएको थिएँ । विद्यालयले पुरस्कारस्वरूप दिएको कलम जतन गरेर चलाउँथें । पुरस्कार पाएको तीन वर्षपछि पनि त्यही कलमले लेख्थें । कलम पुरस्कार पाउन मैले गरेको मिहिनेत शब्दमा व्यक्त गर्न कठिन छ । त्यतिबेला कलमभन्दा महत्वपूर्ण अरू लाग्दैनथ्यो । पुरस्कारस्वरूप पाएको कलम विशेष लाग्थ्योे । कक्षाकोठामा सामान्य झगडा हुँदासमेत साथीहरूले तेरो कलम भाँचिदिन्छु भन्दा असाध्यै चित्त दुख्थ्यो । कहिलेकाहीं त्यही कलमका कारण झगडा पर्थ्यो ।

एक दिन कसैले मानकुमारी परियारको कापीमा ‘माने–माने एकमाना खाने’ भनेर मेरै कलमले लेखिदिएछन् । परियार दिदी हाम्रो कक्षाकै ‘सिनियर’ थिइन् । उनको ज्यान त्यस्तै डरलाग्दो । म जम्मा ३०/३२ किलोग्रामको हुँदो हुँ । दिदी कम्ती ५०÷५५ किलोको । कक्षामा कलम हुने ममात्रै ।

दिदीले मलाई समातेर ‘ए कानबुच्चे तैंले यो के लेखेको ? भनिन् । म त्यसरी मनपरी लेख्दिनथें । बोल्दिनथें । जिस्किन्नथें । आफूले नलेखेको मैले उत्तर दिएँ । बेस्सरी होच्याएर कानबुच्चे भनेकोमा भने असाध्यै चित्त दुख्यो । आफूले आफैंलाई सम्हालें । दिदीले फेरि मुख छाडिन्, ‘यो कसले लेख्छ ? यही कानबुच्चेकै काम त हो । उसकै कलमले लेखेको छ ।’

मेरानिम्ति न्याय गर्ने मानिस कोही छैनन्जस्तो लाग्यो । कन्सिरी तातियो । हामीबीचको भनाभन सुनेर साथीहरू भने रमाइरहेका थिए । म यति अनुशासित थिएँ– मानिलिउँ बसेको बेन्चबाट डेस्क टेक्दासमेत बिस्नु–बिस्नु भनेर ढोग्थें । डेस्क टेक्दै–टेक्दै गएर मानकुमारी दिदीको दाहिने गाला चड्काएँ । ‘के भनिस् रे । म तेरो कानबुच्चे ? मैले के गरिदिएको छु र हेप्नुपर्ने ?,’ मैले रिसको झोंकमा भने, ‘हेप्नुको पनि सीमा हुन्छ नि ।’ त्यसो भन्दै अर्को देब्रेपट्टिको गाला पनि चड्काइदिएँ ।

आमा, मलाई टुहुरोको छोराले मार्यो भन्दै दिदी चिच्याइन् । त्यसबेला दिदीको बुवा पृथीबहादुर परियार बाहिर बसिरहेका रहेछन् । बाउ–काकाहरूको मितेरी साइनोले हामीबीच मामा–भान्जो थियौं । मामा कक्षाकोठा छिरिसकेका रहेछन् । उनले मलाई च्याप्प समातेर फालुँलाजत्तिकै गरे । मुस्लीजस्तै ठुल्ठूला हातले मेरो गालामा दुई झापड हाने । त्यतिबेलासम्म ठूलाको झापड भेटेको थिइनँ । आँखाबाट जूनकीरी फुत्केझैं लाग्यो । मामाले सासै रोकिनेगरी झापड हानेपछि म बेहोश भएँ । यो घटना विद्यालयमा सुनाइएन ।

मामाको थप्पडले दुई दिन थला परें । गयल भएपछि प्रधानाध्यापकले हजुरआमा र आमालाई देवराजलाई विद्यालय किन नपठाउनुभएको ? भनेर सोधेछन् । हाम्रो घरका हजुरआमा र आमा बोल्न तगडा । ‘अमृत बाबु मेरो नाति तल–माथि भयो भने स्कुलले जिम्मेवारी लिन्छ त होला होइन ?,’ हजुरआमाले प्रश्न सोधेछन् । आमाले थपेछन्, ‘अमृत भाइ, हामीले छोराछोरी त पढ्न पो पठाएको । उनीहरूमाथि यसरी हातपात गरेर उठ्न नसक्नेगरी कुटाइ खान त पठाएको होइनौं नि ? कि हामीले पनि हाम्रो छोराछोरीलाई कसले के भन्लान्, गर्लान् कि भनेर गोठालो बस्न आउनुपर्ने हो ?’

‘विद्यालयभित्र त्यत्रो घटना घट्दा मास्टर बाबुहरूचाहिँ निदाउनुभएको थियोे कि कसो ?,’ हजुरआमा र आमाले सामूहिक प्रश्न गरेछन्, ‘हामीले छोराछोरी पढ्न पठाएको कि कुटपिट गराउन ? लगत्तै प्रधानाध्यापक राईले भने, ‘लु आमा र दिदी नरिसाउनुहोला । म भोलि नै छलफल राख्छु । कसको गल्ती देखिन्छ, उसले सजाय भोग्नुपर्छ । तपाईंहरू नआत्तिनुहोला ।’

नभन्दै प्रधानाध्यापकले मलाई बोलाएर वास्तविकता सोधे । सकिन्छ भने भोलिदेखि विद्यालय आऊ छलफल गर्नुपर्छ भने । म विद्यालय जान थालें । त्यो दिन विद्यालय बिदा भएपछि छलफल सुरु भयो । इतिवृत्तान्त देख्नेजति विद्यार्थी बसे । प्रधानाध्यापक र गाउँलेले कोबाट गल्ती–कमजोरी भए भनेर बुझ्न थाले । मानकुमारी परियार र मलाई आइन्दा झैझगडा नगर्न सुझाइयो । केही परे सिकायत गर्नू भनियो ।

पृथीबहादुर परियारले कक्षाकोठाभित्रै विद्यार्थीलाई हातपात गरेर बालअधिकार हनन गरेको ठहरियो । देवराज फरक क्षमताको विद्यार्थी हुन्, उनलाई त समाजले सम्मान पो गर्ने हो त भनेर परियारलाई सबैले गाली गरे । विद्यार्थी–विद्यार्थी झगडा गरे भन्दैमा कक्षाकोठा पसेर अभिभावकले विद्यार्थीलाई हातपात गर्नु जघन्य अपराध हो भन्ने निष्कर्ष निस्क्यो । पृथीबहादुर परियारले देवराज राईसँग माफी माग्दै मिलापत्र गर्ने निर्णय भयो । सोहीअनुरूप पृथीबहादुरले माफी मागे । पंक्तिकारले माफी दिए । पंक्तिकारले दिदीमाथि हात उठाएको र दिदीले अपमानजनक शब्द प्रयोग गरी भाइलाई दुव्र्यवहार गरेकोमा माफी मागामाग गरे । कलमको विषयमा यसरी पहिलोपटक घटना घट्यो ।

दोस्रोपटक पनि कलमले घटना घटायो । ऐंसलुखर्कको भारी बोक्ने अवसर पायौं । १२ दिनको यात्रा । मसँगै पढ्थे दाजु पेसल राई । दाइ चलाख । उनको र मेरो हजुरआमा दिदीबहिनी । मैले दाजुको भारीबाट छवटा चाउचाउ र छवटा थिनआरारोट बिस्कुट खाएँ । तर, दाजुले चाउचाउ, बिस्कुट खाएको नभनी धार्नीका हिसाबले भारीको पैसा लिए । खाएको बिस्कुट र चाउचाउको पैसा साहुमार्फत कटाइमागेनन् । ऐसलुखर्कदेखि फर्कंदा भीरपानीमा खाना खाएर हिँड्ने कुरा भयो । हामी केटाकेटीलाई दाउरा खोज्ने जिम्मा दिइयो । हामी दाउरा खोज्दै थियौं । दाउरा खोज्दाखोज्दै दाजुले बिस्कुट र चाउचाउको पैसा दे त भने । साहुलाई पैसा कटाउन लगाउनुभएन र दाइ ? पंक्तिकारले यसमा मेरो आपत्ति छ भने । अर्कोपटक साहुले थाहा पायो भने यतैको भारी लिएर आउँदा मेरो पैसा म साहुलाई दिन्छु । तपाईंलाई दिन्न भने । पैसा दिन्न भनेपछि दाइले मलाई जगल्ट्याउँदै तेरो कलम उडाइदिन्छु भने । मैले पनि दाइलाई एक बक्सिङ हाने । दाइको आँखा झन्डै फुटेछ । देख्नेले हामीलाई छट्याए । दाजुलाई पापजेठा देवीबहादुरले गाली गरे । पछि दाजुभाइ स्कुलमा आफैं मिल्यौं ।

प्रतिक्रिया दिनुहोस्