३५ वर्ष नगरप्रमुख रहेका विश्वविख्यात वैज्ञानिक



ओटोवन ग्वरिके एक प्रसिद्ध भौतिकशास्त्री, इन्जिनियर र दार्शनिक थिए । उनले वायुपम्प आविष्कार गरेका थिए । उनले यस पम्पको सहायताले निर्वात (भ्याकुम) तथा पानीमा सास लिनका निम्ति वायुको महत्वको विषयमा अध्ययन गरेका थिए । उनको जन्म एक शिक्षित र धनी परिवारमा भएको थियो । उनले लिपजिङ विश्वविद्यालयमा शिक्षा प्राप्त गरे । सन् १६२१ मा जेना विश्वविद्यालयमा उनले कानुन अध्ययन गरेका थिए । र, सन् १६२३ मा लिडन विश्वविद्यालयमा गणित र यान्त्रिकविज्ञान अध्ययन गरे । सन् १६३१ मा उनी स्वीडेनको गुस्तावास सेनामा इन्जिनियर पदमा नियुक्त भए ।

सन् १६४६ बाट १६८१ सम्म उनी मगडेवर्गको नगरप्रमुख पदमा र ब्रेन्डवर्गका मजिस्ट्रेड पदमा नियुक्त भएका थिए । उनको मेयर बन्ने कथा धेरै चाखलाग्दो छ ।

सन् १६८१ मा जर्मनमा एक भयंकर युद्ध सुरु भयो, जुन करिब ३० वर्षसम्म जारी रह्यो । ओटोवन ग्वरिकेले यस युद्धमा महत्वपूर्ण योेगदान दिएका थिए । उनी गणित तथा यान्त्रिकविज्ञानका एक कुशल इन्जिनियर थिए । फेरि पनि युद्धमा उनको पक्षको पराजय भयो । शत्रुले मेगडेवर्ग कब्जा गर्यो र नगरलाई नराम्ररी नस्ट गर्यो । त्यस युद्धमा करिब ३० हजार व्यक्ति मारिएका थिए । शौभाग्य नै भन्नुपर्छ, ग्वरिके भने बाँच्न सफल भए ।

युद्ध समाप्तिपछि उनले नगरको पुनःनिर्माण गर्नमा धेरै मिहिनेत गरे । सरकारले उनलाई नगरप्रमुख बनायो । नगरप्रमुख पदलाई उनले ३५ वर्षसम्म सम्हाले । उनी नगरप्रमुख भएपछि जनसेवामा निरन्तर लागिरहे । नगरप्रमुख भए पनि उनी विज्ञानप्रति विशेष रुचि भएका कारण अनुसन्धानका निम्ति केही समय निकाल्थे । उनले कुनै पुस्तकमा अरस्तुको सिद्धान्त पूर्ण निर्वात असम्भव छ भन्ने पढेका थिए । उनका अगाडि यो कथन चुनौतीका रूपमा देखापर्यो । उनलाई वायुमा भार हुन्छ भन्ने ग्यालिलियोको भनाइ थाहा थियो । उनी टोरिसेलीद्वारा वायु दाबमापनमाथि गरिएका प्रयोगसँग राम्ररी जानकार थिए ।

यी सबै अनुभवका आधारमा सन् १६५० मा निर्वात उत्पन्न गर्नका निम्ति उनले वायुपम्प आविष्कार गरेका थिए । यस पम्पबाट धेरैजसो उँचो सीमासम्म निर्वात उत्पन्न हुने गथ्र्याे । उनले यस पम्पलाई केही अन्य प्रयोगका निम्ति प्रयोग गरे । उनले के सिद्ध गरे भने प्रकाश त निर्वात भएर चलायमान हुन सक्छ तर ध्वनि निर्वातबाट भएर चलायनमान हुन सक्दैन । उनले के पनि प्रमाणित गरे भने निर्वातमा मैनबत्ती जल्न सक्दैन र जीवित जनावर पनि केही क्षणमै मर्छ ।

ग्वरिकेले कैयौँ किसिमका निर्वात मेसिन बनाए । उनले तामाका दुई अर्धगोला बनाए, जो एक–अर्कामा फिट भएर एक पूर्ण गोलो निर्माण नै गर्थे । यिनीहरूलाई मगडेवर्गको अर्धगोला नामले चिनिन्छ । यी गोलाको सहायताले वान ग्वरिकेले रेजन्सवर्गमा वादशाह फडिन्द्र–थर्डसामु निर्वातको विशाल शक्ति प्रदर्शन गरेका थिए ।

ग्वरिकेले तामाद्वारा निर्मित दुई अर्धगोलालाई एक–अर्कासँग लगाए, जसबाट चौध इन्च व्यासको एउटा बल निर्मित भयो । उनले यस गोलालाई वायुरुद्ध बनाउनुका निम्ति त्यसमा एउटा छालाको टुक्रा अड्याए, जसलाई तारपिनमा बनेको मोमको घोलमा डुबाएर अर्धगोलाको जोड भएको स्थानमा अड्याएका थिए । एक अर्धगोलामा लागेको ढकनीलाई निर्वात पम्पसँग जोडिदिए । गोलाभित्रको वायु बाहिर निकाले ।
गोलामा निर्वात उत्पन्न गरेपछि आठ घोडा एक अर्धगोलामा र आठ घोडा अर्को अर्धगोलामा जोतिए । उनीहरूलाई एक–अर्काको विपरीत दिशामा हाँकियो । घोडाले विपरीत दिशामा धेरै खिचातानी गरे । तर, ती दुवै अर्धगोलालाई एक–अर्काबाट अलग गर्न सकिएन । अन्त्यमा जब घोडाले आफ्नो सम्पूर्ण शक्ति लगाए, त्यसबेला उनीहरू गोलालाई अलग गर्न सफल भए । जब ती गोला अलग भए, ठूलो विस्फोट भयो । विस्फोट आवाजले सम्पूर्ण दरबारिया डराए । वास्तवमा यो आवाज अरू केही नभएर खाली स्थानमा धेरै वायु प्रवेशका कारणले निस्केको थियो ।

वायु दाबका कारण अर्धगोलालाई अलग गर्न धेरै कठिन भयो । ओरोवानले तिनीहरूलाई अलग गर्ने सरल विधि अख्तियार गरे । उनले घोडालाई छोडिदिए र दुवै अर्धगोलालाई पहिलेजस्तै जोडेर बीचमा रहेको वायुपम्पद्वारा निकालियो । यिनलाई अलग गर्नका निम्ति उनले एक गोलामा लगाइएको टुटी घुमाइदिए, जसको कारण गोलामा वायु तीव्र गतिले प्रवेश ग¥यो र गोला सजिलै एक–अर्काबाट अलग भए । उनले ठूलो गोलामा पनि यस प्रदर्शनलाई दोहोर्याए । यिनको चारैतर्फ यति वायुको चाप थियो कि, बाह्र जोडी घोडाले पनि यिनलाई अलग गर्न सकेनन् । त्यसबेला ग्वरिकेले टुटी घुमाए । ती दुवै एक–अर्कासँग अलग भए । यो प्रयोगबाट वायु दाबमापनका क्षेत्रमा चमत्कारपूर्ण प्रदर्र्शन भयो ।

सन् १६६३ मा उनले यस्तो जेनेरेटर बनाए, जसले स्थिर विद्युत् उत्पन्न गर्छ । यो जेनेरेटर गन्धकबाट निर्माण भएको थियो, जसलाई घुमाउँदा घर्षणद्वारा विद्युत् उत्पन्न हुने गर्छ । सन् १६७२ मा ग्वरिकेले गन्धकको भकुन्डोमा उत्पन्न हुने विद्युत्ले त्यसको सतहमा एउटा चमक उत्पन्न गर्छ भन्ने कुरा पत्ता लगाए । यो चमकलाई विद्युत् प्रदिप्ती भन्ने गरिन्छ । यसप्रकार ग्वरिके पहिलो व्यक्ति थिए, जसले विद्युत् प्रदिप्ती आविष्कार गरे ।

ग्वरिकेले खगोलशास्त्र पनि अध्ययन गरेका थिए । उनले भने, ‘धुम्रकेतु नियमित रूपमा अन्तरीक्षमा आफ्नो स्थानमा फिर्ता आउने गर्छ ।’ जब उनी ८० वर्षका भएपछि हेमवर्ग फिर्ता भए । फिर्ता भएको केही समयपछि सन् १६८६ मा यी महान् वैज्ञानिकको निधन भयो ।

प्रतिक्रिया दिनुहोस्