वडाध्यक्षले दूध बेच्दा वडासचिव लज्जित


युनान, चीन ।

एक दिन एकजना विद्यार्थी कक्षामा केही मिनेट ढिला आइन् । ‘किन ढिलो ?’ मैले सोधें । उनले भनिन्, ‘राति अबेरसम्म काम गर्नुपर्छ । सुत्न ढिलो हुन्छ । बिहान ढिलो उठेछु । त्यसैले ।’

‘के काम गर्न थाल्यौ ?’ मैले सोधें ।

‘भोजनालयमा भाँडा माझ्ने काम सघाउने,’ उनले सगर्व भनिन् ।

बीए दोस्रो वर्षमा पढ्दै गरेकी विद्यार्थीले भाँडा माझ्ने काम पाएको कुरा सगर्व भनेको सुन्दा अलि अनौठो लाग्दोरहेछ । हुन त ‘पसिना बगाई काम गरिरहेको किसान वा मजदुर सबैभन्दा सुन्दर हुन्छ’ भन्ने कमरेड माओको सौन्दर्य चिन्तनबारे निकै गफ गरिएको छ । प्रशंसा गरेर लेखे–बोलेको पनि हो र पनि लेख्ने कुरा, आदर्शका कुरा र भोग्ने अनि आत्मसात् गर्ने कुरा फरक रहेछ । पढे–लेखेको मान्छेले भाँडा माझ्ने, भारी बोक्ने, खेतीपाती गर्ने हाम्रो समाजमा त्यति पाच्य छैनन् । वडाध्यक्षले दूध बेच्ने गरेकाले आफ्नो बेइज्जत भएको भनी वडासचिवले भनेको कुरा केही समयअघि सामाजिक सञ्जालमा आएको थियो । भाँडा माझ्ने कुरा त परै छाडौं, हामीकहाँ शिक्षक, प्राध्यापकजस्ता पेसामा कार्यरतलाई समेत तल्लो र हेय दृष्टिले हेर्ने चलन छ । लुगा सिउने, फलामको काम गर्ने, जुत्ता सिउने, केश काट्ने, फूलबारीमा काम गर्नेलाई अछुत ठान्ने संस्कारमा हुर्किएका हामीजस्ताका लागि पढेलेखेकी केटीले भाँडा माझ्ने काम पाएकोमा गर्व गरेको देख्दा अनौठो लाग्नेरहेछ । वास्तवमा श्रमप्रतिको सम्मानकै कारण चीनले छोटो समयमा धेरै विकास गरेको रहेछ भन्ने बोध भयो ।

कुन काम ठूलो, कुन सानो, कुन सम्मानित, कुन घृणित भन्ने सामन्तवादी सोचाइ हो । पैसा धेरै कमिने कामलाई ठूलो ठान्नु पुँजीवादी सोचाइ हो । अनि सबै कामलाई समान ठान्नु समाजवादी सोचाइ हो भनेर माक्र्सवादीहरू भन्ने गर्छन् । तर, हामीकहाँ भने त्यसो भन्नेहरू नै कामका आधारमा मानिसलाई विभेद गर्छौं । चिनियाँ समाजमा भने कामकै आधारमा ठूलो सानोको भेद त्यति धेरै रहेनछ ।

सहप्राध्यापक धनप्रसाद सुवेदी

हुन त जतिसुकै आदर्श र सिद्धान्तका कुरा गरे पनि पेसागत रूपमा पारिश्रमिकमा तल–माथि भइहाल्दोरहेछ । काम र दक्षताअनुसार कमाइमा तल–माथि हुने कुरा संसारभर छँदै छ । चीन पनि अछुतो रहेनछ । जतिसुकै समान भने पनि उपप्राध्यापक र प्राध्यापक, सिपाही र कर्नेल, जर्नेल, पियन र राष्ट्रपतिबीच तलब, सुविधा, मर्यादामा आकाश जमिनको फरक परिहाल्छ र चीन पनि यसबाट मुक्त हुने कुरा भएन । यहाँ पनि धनी र गरिब, धेरै पढे–लेखेका र कम पढे–लेखेका, असल र खराब मानिस छन् । त्यति हुँदाहुँदै पनि एक–अर्काको कामको सम्मान गर्ने र मुख्यतः आफ्नो कामप्रति समर्पित र खुसी हुनमा भने हामीभन्दा चिनियाँ धेरै अगाडि रहेछन् । हामीकहाँ ‘राजाको काम कहिले जाला घाम’ भन्ने पुरानो उखान छ । यसले सरकारी काम अर्थात् जागिरलाई आलटाल गर्नुपर्छ भन्ने हाम्रो मनस्थिति दर्शाउँछ । चिनियाँमा भने त्यस्तो मनस्थिति खासै देखिएन । सरकारी होस् वा निजी आफ्नो जिम्मेवारीभित्रको काम राम्ररी पूरा गर्ने उनीहरूको प्रवृत्ति रहेछ । चीन विकासको एउटा कडी यो पनि हो ।

चिनियाँ समाजमा शिक्षकको इज्जत धेरै रहेछ । हामीकहाँ शिक्षकले आफ्नो परिचय दिँदा मानौं अपराधीले जस्तो ‘म शिक्षक/प्राध्यापक हुँ’ भनेर हीनताबोध गर्ने अवस्था रहेनछ । शिक्षक/प्राध्यापक सगर्व ‘म शिक्षक/प्राध्यापक हुँ’ भन्दारहेछन् । शिक्षकमात्र होइन, भाँडा माझ्ने, फोहोर बटुल्ने र अरू जुनसुकै पेसाको काम गर्ने, धेरै तलब पाउने वा थोरै तलब पाउने जोसुकैले आफ्नो पेसा सगर्व बताउँदा रहेछन् । वास्तवमा समानता भनेको यस्तै कुरा रहेछ । निरपेक्ष रूपमा सबै बराबर, सबैको तलब बराबर, पदीय मर्यादा बराबर भन्ने कुरा दुनियाँमा असम्भव छ । त्यसैले समानताको सापेक्ष अर्थ हुँदोरहेछ । कुनै पेसा, जात, धर्म, लिंग, उमेर, भाषा, संस्कृति, विचार आदिका आधारमा कसैलाई विभेद नगर्ने कुरा नै समानता हो । तर, कामको प्रकृति, दक्षता, योग्यता, अनुभवका आधारमा पारिश्रमिक र पदीय शृङ्खला भने तल–माथि हुनेरहेछ ।

चिनियाँ समाजमा सामूहिकताको लोभलाग्दो संस्कृति रहेछ । परिवार वा साथीहरूसँगै वरिपरि बसेर एउटै भाँडाबाट खानेकुरा निकाल्दै खाने, जुठो चोखोको भेदभाव नगर्ने, काम गर्दा, खाँदा, पिउँदा, आराम तथा मस्तसँग, खुसीसँग गर्ने गज्जब संस्कृति रहेछ । मस्त रक्सी पिएर मात्दै हिँड्न, चुरोटको धूवाँ उडाउँदै गफ गर्न, रातभरि बियर पिउँदै बार र क्लबमा नाच्न, केटाकेटी अँगालो हालेर खुलमखुला हिँड्न चिनियाँ स्वतन्त्र रहेछन् । ‘काम गर्दा नोकरझैं र खाना खाँदा हाकिमझैं’ भन्ने नेपाली उखान छ । चिनियाँहरू जुनसुकै काम पनि आफ्नो कर्तव्यका रूपमा निजी कामका रूपमा लिने र खानेकुरा खान र मनोरञ्जन गर्ने कुरामा पनि मस्त रहने रहेछन् । यो प्रवृत्ति र संस्कृति अनुकरणीय लाग्यो ।

हामीकहाँ नेता, हाकिमलाई अगाडि पर्दा चाकडी र पछाडिबाट गाली गर्ने प्रवृत्ति छ । कामबाट भाग्न खोज्ने, दायित्व पन्छाउने र अरूलाई दोष लगाउने चलन छ । कार्यालयका हाकिमदेखि पियनसम्मले यो काम मेरो, यो काम उसको भनेर पन्छाउने, काम नगर्ने, भोलि र भरेलाई साँच्ने गर्छन् । समयको परिपालनामा हामी एकदमै लापरवाह छौं । चिनियाँ समाजमा भने नेतृत्वप्रतिको विश्वास र सम्मान, काममा अग्रसरता र खुसी, समयको परिपालन, अरूका बारेमा अनावश्यक चासो नराख्ने प्रवृत्ति रहेछ । यी चिनियाँबाट सिक्नलायक कुरा हुन् ।

चिनियाँ विश्वविद्यालयमा विद्यार्थीको पढाइ, परीक्षा, मूल्यांकनको सबै जिम्मा प्राध्यापकलाई दिइँदोरहेछ । हाम्राजस्तो परीक्षाका नाममा जात्रा गरिँदोरहेनछ । परीक्षाका लागि प्रश्नपत्र बाहिरबाट ल्याउनुपर्ने, उत्तरपुस्तिकाको पोको बनाएर परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्ने, कापी जाँचका लागि प्राध्यापकले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई चाकडी गर्नुपर्ने, कापीका पोका यताउता सार्नुपर्ने, नतिजाका लागि वर्ष दिन कुर्नुपर्ने जस्ता जात्रा हुँदोरहेनछ । तोकिएको समयमा प्राध्यापकले परीक्षा लिन्छ र उत्तरपुस्तिका जाँचेर नतिजा तयार पारी सम्बन्धित विषयको संयोजकलाई दिन्छ । संयोजकले सबैबाट नतिजा लिएर एकीकृत गरेर अन्तिम नतिजा तयार पार्छ । यसरी जसले पढाउँछ, उसैलाई परीक्षा र नतिजासमेतको अधिकार दिइनु भनेको उसप्रतिको विश्वास हो । प्राध्यापकहरू नातावाद, कृपावाद, पक्षपात, लोभलालचबाट माथि छन् भनेर विश्वास गर्दामात्रै त्यस्तो पूर्ण अधिकार दिन सकिन्छ । चिनियाँ समाजमा जो जुन पदमा छ, उसलाई त्यसको सबै अधिकार दिइँदोरहेछ । माथिल्लो तहबाट अनुगमन, मूल्यांकन, निगरानी त हुन्छ तर काम र निर्णय प्रक्रियालाई जटिल बनाउन अनावश्यक प्रक्रियाका शृंखला रहेनछन् ।

आफ्नो काममा तल–माथि नगर्ने, अरूको काममा हस्तक्षेप नगर्ने र नियममा कति पनि यताउता नगर्ने चिनियाँचलन रहेछ । नियम भनेको नियम हो, त्यसको अनुशरण हुनुपर्छ भन्ने मान्यता चीनमा स्थापित रहेछ । निययमा दायाँ–बायाँ, तल–माथि, यताउता वा तजबिजी गर्ने कुरा प्रायः हुँदोरहेनछ । हामीकहाँ ‘नेपालको कानुन हाकिमको तजबिज’, ‘नेपालको कानुन हाकिमले जानून्’ भन्नेजस्ता उखान छन् । सजिलै हुनुपर्ने कुरा प्रक्रियागत जटिलताले ढिलो हुने र सजिलै नहुनुपर्ने प्रकृतिका काम सजिलै चोरबाटोबाट हुने अवस्था हामीकहाँ छ । त्यसैले भ्रष्टाचार, ढिलासुस्ती, नातावाद, कृपावादजस्ता खराब प्रवृत्तिबाट हामी ग्रसित छौं । चीनमा पनि गम्भीर प्रकृतिका अनुसन्धानात्मक, सुरक्षासँग सम्बन्धित पक्ष, आर्थिक पक्ष, नीतिगत पक्षमा लामो प्रक्रिया होला तर हामीकहाँ जस्तो झन्झटिलो, अनावश्यक प्रक्रियाबाट भने उनीहरू माथि उठेका छन् । खासगरी प्रविधिको प्रयोगबाट समय र कामको सदुपयोग गर्ने कुरामा उनीहरू धेरै अगाडि छन् । अनि आर्थिक मामिलामा एकदमै पारदर्शी र अनुशासित छन् । कामप्रतिको सम्मान, लगाव र आर्थिक अनुशासनकै कारण चीनले छोटो समयमा लामो विकास गरेको रहेछ । देशविकास गर्ने हो भने यी कुरा हामीले पनि सिक्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्