जयराममा नुहाएर हलेसी दर्शन गर्नेले गंगा पुग्नु नपर्ने


तस्बिर : कुम्भराज राई

जयराम । अर्थात् खोटाङ प्रवेश गर्ने उत्तर–पश्चिम ढोका । यहाँ दुई पुल छन् । पहिलो झोलुङ्गेपुल । अर्कोे यातायातसाधन गुड्ने पक्कीपुल । दुवै पुलले खोटाङ र ओखलढुंगा जोडेको छ । पुलवारि अर्थात् खोटाङपट्टिका बजारलाई जयराम भनिन्छ । पुलपारि अर्थात् ओखलढुंगापट्टिका बजारलाई समेत जयराम नै भन्ने गरिन्छ ।

दुई जयरामको बीचबाट दूधकोसी बगिरहेकी छन् । वारि र पारिका जयरामवासीबारे दूधकोसी अपरिचित छैनन् । अनि जयरामवासी पनि दूधकोसीसँग परिचित छन् । जयरामवासी र दूधकोसीको सम्बन्ध उत्तिकै प्रगाढ छ ।

किराती आदिम पुरुष खोक्चिलिपाले दूधकोसीमा जाल हान्थे । उनी जाल हान्दैहान्दै जयरामतिर पुग्थे । आदिम पुरुषले जाल हान्दै टेकेका हुनाले जयराम त्यत्तिकै सम्मानित ठाउँ मानिने मुन्दुम अध्येयता भोगीराज चाम्लिङको भनाइ छ ।

मध्यपहाडी लोकमार्ग खुलेपछि जयराम खोटाङ प्रवेश गर्ने मूलढोका बन्यो । खोटाङको त्रिधार्मिक (धाम) हलेसी पुग्न चाहने (अधिकांश)ले यही बाटो हिँड्नुपर्छ । हलेसी दर्शनमा जानेका लागि जयराम त्यत्तिकै प्रसिद्ध मानिन्छ । उत्तिकै पवित्र ठानिन्छ ।

पक्कीपुल बन्नुअघि जयराममा लेखक ।

जयराम हुँदै बग्ने दूधकोसीको मुहान कैलाश पर्वत हो । कैलाश पर्वतलाई महादेवको निवास्थान मानिन्छ । महादेवको निवास्थानबाट जयराम हुँदै बगेको पानी पवित्र हुने नै भयो । कैलाश पर्वत अर्थात् संसारकै अग्लो शिखर सगरमाथाबाट बग्दै झरेको दूधकोसी महादेवबेंसी दोभान आइपुग्दा महादेवखोलाको पानीसमेत मिसिन्छ ।

महादेवखोलामा खोक्चिलिपा वालाखा (रानीपोखरी) हलेसीबाट बगेको पानी मिसिन्छ । किराती मिथकअनुसार खोक्चिलिपाले मुन्दुम गाउँदै निकालेको खोक्चिलिपा वालाखाको पानी महादेवखोलामा मिसिन्छ । उनैले निकालेको गैरीगुठ र चिचिङ्गाबीच भएर बग्ने वार्कामखोलाको पानीसमेत महादेवखोलामै मिसिन्छ । महादेवखोलाको पानी महादेवबेंसी दोभान पुगेर दूधकोसीमा मिसिन्छ ।

आठौं शताब्दीतिर हलेसीमा तपस्या गरेर अमरत्व पाएपछि पद्मसम्भव महादेवबेंसी हुँदै दूधकोसी तरेर तिब्बत फर्केका थिए । किराती आदिम पुरुष खोक्चिलिपाले मुन्दुम गाउँदै निकालेको पानी, हिन्दु धर्मावलम्बीअनुसार महादेवको पाउबाट बग्ने र पद्मसम्भव तिब्बत फर्कंदा पार गरेका खोलाको पानी दूधकोसीमा मिसिएपछि झन् पवित्र मानिन्छ ।

‘हलेसी दर्शन गर्नअघि जयराममा स्नान गर्नुपर्छ,’ हलेसी महादेवस्थान विकास समिति अध्यक्ष टंक राईले भने, ‘जयराममा स्नान गरेर हलेसी दर्शन गरेपछि मात्रै पुण्यलाभ हुन्छ ।’ जयराममा नुहाउनेले गंगा पुग्नुपर्दैन । गंगामा पुग्ने पानी यही हो । जयराममा नुहाएर त्यहाँको पानी हलेसीमा चढाउँदा ठूलो पुण्य कमाइन्छ ।

तस्बिर : कुम्भराज राई

दर्शन गर्न हलेसी पुगेकालाई पथप्रदर्शकले तपाईं जयराममा नुहाएर आउनुभयो नि ? भनेर सोध्नुपर्छ । छैन भनेमा अर्कोपटक दर्शन गर्न आउँदा जयराममा नुहाएर आउनुहोस् है भनेर अनुरोध गर्नुपर्छ । जयराममा नुहाएर हलेसीको दर्शन गर्दा पुण्यलाभ हुने सुनाउनुपर्छ । त्यतिमात्रै होइन, हलेसी आउँदा ननुहाए पनि फर्कंदा भए पनि जयराममा नुहाउन सुझाउनुपर्छ ।

हलेसी आउने जानेले यहाँको महत्व थाहा पाउनेलाई जयराममा एक/आधा घन्टा विश्राम गर्ने लोभ लागिहाल्छ । उनीहरूले चियाखाजा मात्रै खाँदा पनि स्थानीय लाभान्वित हुन्छन् । मांशाहारीले जयरामको माछाको स्वाद लिन सक्छन् । यहाँका माछालाई ‘एभरेष्ट ट्राउट’ भनेर ‘मार्केटिङ’ गर्नुपर्छ । एभरेष्टबाट बगेर आएको पानीमा उत्पादित माछालाई यस्तो नाम राखिएपछि एभरेष्ट ट्राउटको स्वाद लिन चाहनेको भीडभाड लागिहाल्छ ।

जयराम नाम कसरी रहन गयो ? ‘संवत् २०३४ मा झोलुंगेपुल बन्नुअघि यहाँ डुंगाबाट कोसी वारपार गरिन्थ्यो । माझी समुदायले डुंगा चलाउँथे,’ हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयरामनिवासी उदय वाम्बुलेले स्थानीय मेघबहादुर माझीको भनाइ सुनाए, ‘भदौरे भेलमा डुंगाबाट कोसी वारपार गर्नु जोखिम मानिन्छ । मेघबहादुरका बुवा सवामी माझीहरूले जोखिम मोलेर चलाउँदा भदौरे भेलले डुंगा गन्तव्यमा पुर्याउन सकस पर्दा जयराम–जयराम भन्ने गर्थे । डुंगा चलाउँदा आपतमा पुकारिएको जयराम–जयराम शब्द नै यो घाटको नाम रहन गएछ ।’

 

प्रतिक्रिया दिनुहोस्