शनिबार साँझ परेको चट्याङ लागेर दुईजनाको निधन



फेदी (खोटाङ) । शनिबार साँझ पानीसँगै परेको चट्याङ लागेर खोटाङमा दुईजनाको ज्यान गएको छ । केपीलासगढी गाउँपालिका–१ फेदी तोमानेका राजमणि राई र निर्मला विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो।

चट्याङ लागेर ज्यान गएका १५ वर्षीय राजमणि पर्खजित राईका छोरा हुन् भने ३८ वर्षीया विश्वकर्मा राईकै छिमेकी पर्छन् । पर्खजित राईको घरमा परेको चट्याङले दुवैको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङ प्रहरी निरीक्षक आमोदकुमार खेरवारले टेलिफोनमा जानकारी गराए ।

स्व. निर्मला विश्वकर्माका १४ वर्षीया छोरी मनकला विक र ६ वर्षीय छोरा आसन विक चट्याङबाट घाइते भएका छन् । उपचारका लागि विकद्वयलाई जिल्ला अस्पताल दिक्तेल पठाइएको प्रहरी चौकी खार्ताम्छाले जनाएको छ।

प्रहरी निरीक्षक खेरवारका अनुसार, मनकलाको खुट्टा र आसनको टाउको र घाँटीमा चोट लागेको छ ।

खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले राई र विकको घटनास्थलमै ज्यान गएपछि दुःख व्यक्त गरेका छन् । ‘स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी घटनास्थल पुगेर तत्काल गर्नुपर्ने काममा सक्रिय हुनुभयो,’ प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निधन हुने राई र विकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

प्रतिक्रिया दिनुहोस्