हलेसीमा लुङ्दर टाँगेकोमात्रै २ करोड


सबै तस्बिर : कुम्भराज राई

जता हेरे पनि लुङ्दर नै लुङ्दर । त्यहाँ पुग्दा लुङ्दरको जंगलमा हराएजस्तै लाग्छ । लुङ्दरको जंगलमा पुग्दा एक मिटर अघिकाले पछिकालाई देख्नै सक्दैनन् । जहाँ २० वर्षअघि टाँगिएका लुङ्दरसमेत छँदै छन् ।

हलेसीको मञ्जुश्री गुफाआसपासका डाँडा पुग्दा जोकोहीले यस्तो दृश्य देख्छन् । हलेसी तुवाचुङ नगरपालिकाले मञ्जुश्री गुफाआसपासका १५० रोपनी क्षेत्रफलमा फैलिएका डाँडामा व्यवस्थित तरिकाले लुङ्दर टाँग्ने व्यवस्था मिलाउँदै छ । यसअघि लुङ्दर निःशुल्क टाँग्ने व्यवस्था थियो । निकट भविष्यमै शुल्क बुझाएरमात्रै लुङ्दर टाँग्न पाइने व्यवस्था मिलाइँदै छ । ‘ओल्लोदेखि पल्लोछेउसम्म एउटा डोरीमा लुङ्दर टाँगेबापत १ सय रुपैयाँ लिइनेछ,’ हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले सुनाए, ‘त्यसरी लुङ्दर टाँगेबापत सालिन्दा २ करोड रुपैयाँ संकलन गर्न सकिन्छ ।’

लुङ्दर टाँग्दा ठाउँ उपलब्ध गराएबापत शुल्क लिइने हो । अब पुराना लुङ्दर हटाइनेछन् । लुङ्दर टाँगेबापत शुल्क लिइने भएपछि आम्दानी स्रोत बढाउन सकिने नै भयो । ‘पहिले लुङ्दर टाँग्दा नाइलनको डोरी रूखबिरुवामा बाँध्ने गरिन्थ्यो,’ नगरप्रमुख राईको भनाइ छ, ‘अब त्यसो गर्न पाइँदैन । नगरले लुङ्दर टाँग्ने ठाउँमात्रै होइन, पिलरसमेत व्यवस्था गरिदिनेछ ।’

अव्यवस्थित तरिकाले टाँगिएका लुङ्दरले वातावरणीय प्रभाव पारेको बताइन्छ । कसरी ? ‘नाइलनको डोरीमा लुङ्दर झुन्ड्याएर बिरुवामा बाँधिएका छन्,’ उनले थपे, ‘लुङ्दर टाँग्नेले नाइलनको डोरी रूखबिरुवामा बाँध्दा पुच्छर काटिएको गाईजस्ता देखिन्छन् ।’

त्यतिमात्रै होइन, लुङ्दर टाँगिएका क्षेत्र दूषित हुनुका साथै विविध विकृति बढ्दै गएको स्थानीयले मुख खोलेका छन् । ‘त्यो ठाउँ त डेटिङ स्पटजस्तै पो बन्दै गएको छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले टिप्पणी गरे, ‘अझ प्रस्ट भन्ने हो भने रेडलाइट एरियाजस्तै बनेको छ । …नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो भएको छ ।’

जहाँ बियर, पेप्सी, ड्यु, कोक, स्प्राइट र फ्यान्टाका बोटल यत्रतत्र देखिन्छन् । ‘चाउचाउ, बिस्कुटका खोलैखोलमात्रै होइन,’ उनले हाकाहाकी भने, ‘त्यहाँ कन्डम नै कन्डम देखिन्छन् । त्यसो भएपछि त्यहाँ आपराधिक क्रियाकलाप हुँदासमेत थाहा नपाइने भयो ।’

प्रतिक्रिया दिनुहोस्